+
+

प्रचण्डलाई विष्णु पौडेलको जवाफ : एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई छैन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते १६:०८

१६ भदौ, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई नभएको टिप्पणी गरेका छन् ।

शनिबार एमालेको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा उनले एमालेको विषयमा भ्रम फैलाएर आफू बलियो बन्ने सपना नदेख्न पनि आग्रह गरेका छन् ।

गत बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्र धाँजा फाटेको, नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएको र कुनै पनि बेला विस्फोट हुने बताएका थिए । सोही भनाईप्रति लक्षित गर्दै पौडेलले भने, ‘अवसरवादीहरु एमालेलाई कमजोर बनाउन सके आफू बलियो भइएला भन्ने सोचेर भविष्यवाणी गर्दै हिंडेका छन् तर एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई छैन ।’

पौडेलले अगाडि भने, ‘विगतमा पनि एमालेललाई कमजोर मात्र हैन समाप्त पार्न प्रयास गरिएको थियो तर एमालेले ती सबै प्रयासलाई परास्त गरेको हो ।’  उपाध्यक्ष पौडेलले प्रदेश अधिवेशनलाई लिएर महासचिव पोखरेल र आफ्नो नाम जोडेर गुटको लडाई भनेर प्रचार गरिएको तर कुनै गुट नरहेको बताए ।  ‘शंकर पोखरेल र मेरो गुट छैन, रंगीन समाचारबाट तरंगित नहुनुहोला’, पौडेलले भने, ‘गुटबन्दी मुर्दावाद पार्टी एकता जिन्दावाद ।’

उनले नीति र विचारमा एमालेभित्र कुनै विमति नरहेको दावी गर्दै विवाद छ भन्ने कुरा पानीको फोका मात्रै भएको बताए ।

उनले १० औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकतावद्ध रहेको बताए ।

गत वर्षको आम निर्वातनमा पार्टीले जित्ने सुनिश्चित भएका र फराकिलो मतान्तरले जित्ने निर्वाचन क्षेत्रमा अनपेक्षित नतिजा आएको भन्दै उपाध्यक्ष पौडेलले त्यसको समीक्षा गर्नुपर्ने बताए ।

वर्तमान सरकारले अर्थतन्त्र र अरु समस्या समाधान गर्न नसक्ने पौडेलले दावी गरे । उनले मुलुकको समृद्धि र विकासका लागि २०८४ को चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने गरी एकतावद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?