
१६ भदौ, काठमाडौं । ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ देशका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
१६८ पुरुष र ६८ महिला खेलाडीले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् । एशियन शारीरिक सुगठन तथा फिटनेस महासंघले आयोजना गरेको प्रतियोगिताका प्रतिस्पर्धाहरु दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा हुनेछ ।
प्रतियोगितामा भुटान, चीन, हङ्गकङ्ग, भारत, काजाखस्तान, मकाउ चाइना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, ताजकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहने छ । च्याम्पियनसिपमा पुरुषतर्फ २८, महिला तर्फ १६ र मिक्स एक गरी ४५ विधामा प्रतिस्पर्धा हुनेछ ।
१८ गते प्रतियोगिताको उद्घाटनका दिन १६ वटा विधामा प्रतिस्पर्धा हुने छ । जसमा पहिलो दिन नेपाली १४ खेलाडीहरुले ८ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको अन्तिम दिन शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९०, १०० र ११० केजी गरी १० समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडीहरुबीच मि. एशिया २०२३ का लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4