+
+

सूर्यको अध्ययन गर्न भारतले पठायो अन्तरिक्ष यान आदित्य–एल १

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते १६:५०

१६ भदौ, काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो ।

आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिबार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार विहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो । श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ ।

यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दुरी पार गर्ने छ, जुन पृथ्वी र सूर्यको दुरीको १ प्रतिशत हो ।

भारतीय स्पेस एजेन्सीका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्ने छ ।

लेगरञ्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुनेछ । यहाँ एक किमिसको न्यूट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबभन्दा कम खपत हुनेछ ।

यो ठाउँको नाम फ्रान्सेली गणितज्ञ जोसेफ लुइस लेगरञ्जको नामबाट राखिएको हो । उनले १८ औं शताब्दीमा यो विन्दुको बारेमा खोज गरेका थिए ।

आदित्य –एल १ लेगरञ्ज प्वाइन्टमा पुगेमा यसले सूर्यको सबभन्दा बाहिरी सतहको कामको अध्ययन गर्नेछ । यो मिसनले दिने जानकारीबाट सूर्यका बारेमा मानव समुदायको बुझाइ अझ राम्रो बनाउन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

सूर्यको अध्ययन गर्ने यो पहिलो मिसन भने होइन । यसअघि नासा र युरोपियन स्पेस एजेन्सी (ईएसए)ले पनि यही कामका लागि सूर्य मिसन पठाएका छन् ।

भारत सरकारले २०१९ मा यो प्रोजेक्टलाई अनुमति दिएको थियो, जसको लागत करिव ४.६ करोड डलर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?