+
+

रोहितको शतकीय जवाफ

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ वैशाख १५ गते २०:३९

१५ वैशाख, काठमाडौं । वेष्टइण्डिजसँगको पहिलो टी–२० खेलमा नेपाललाई जिताउन शनिबार कप्तान रोहित पौडेलले शानदार शतकीय इनिङ खेले ।

रोहितले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेलेपछि वेष्टइण्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

यो शतक रोहितको टी–२० करिअरमै पहिलो हो । उनीपछि दीपेन्द्रले २४, कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन जोडे ।

वेष्टइण्डिज ए टिममा ओबेद म्याककोय, ओशान थोमस, गुडाकेश मोती र किमो पल जस्ता विश्वमा नाम चलेका बलर छन् । वेष्टइण्डिज ए को प्लेइङ ११ मा १० खेलाडी सिनियर टमिबाट खेलिसकेकाहरु छन् । तर रोहितलाई शतक बनाउनबाट उनीहरुले रोक्न सकेनन् ।

तीव्र गतिका बलर म्याथ्यु फर्डको तेस्रो ओभरको पहिलो बलमा अनिल शाह ५ रनमा क्याच आउट भएपछि रोहित मैदान प्रवेश गर्दा नेपाल २.१ ओभरमा १२–१ को अवस्थामा थियो । दोस्रो र तेस्रो बलमा प्वाइन्टमा रोहितले लगातार चौका हान्दै सुरुवात गरे । कुनै ब्याटरले पहिलो बल मिडिल अफ द ब्याट र बाउन्ड्रीबाट सुरुवात गर्छ भने उसको आत्मविश्वास बढिसकेको हुन्छ ।

११ औं ओभरको दोस्रो र तेस्रो बलमा ओशान थोमसलाई छक्का र चौका हान्दै रोहितले २७ बलमा अर्धशतक पूरा गरे । त्यतिबेला नेपाल १५ ओभरमा १३६–३ को अवस्थामा थियो । जित्नलाई बाँकी ३० बलमा ६९ रन चाहिएको थियो ।

रोहितले १६ औं ओभरमा आईपीएल अनुभवी किमो पलको बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे । अर्को ओभरमा म्याथ्यु फर्डलाई दुई छक्का र एक चौका हान्दै उनी ४५ बलमा ९५ रनको स्थितिमा पुगे ।

१८ औं ओभरको दोस्रो बलमा ओबेद म्याककोयको बलमा दुई रन बटुल्दै ४७ बलमा शतक पूरा गरे । त्यतिबेला नेपाललाई जितका लागि १६ बलमा २७ रन चाहिएकाले शतक बनाउँदा पनि रोहितले सेलिब्रेसन गरेनन् ।

रोहितले २०२२ मा ओडीआईमा पपुवा न्युगिनीविरुद्ध शतक हान्दा पनि शतकको सेलिब्रेसन गरेका थिएनन् । खेल जिताएपछि मात्रै सेलिब्रेसन गर्नुपर्ने उनको मान्यता छ ।

१९ औं ओभरको पाँचौं बलमा रोहित एजमा लागेर विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुँदा नेपाललाई खेल जित्न ७ बलमा १३ रन चाहिएको थियो । १९ औं ओभरको अन्तिम बलमा प्रतिश जिसीले चौका हानेपछि ६ बलमा ९ रन चाहिएको थियो । अन्तिम ओभरको तेस्रो र चौथो बलमा थोसमलाई गुल्सन झाले चौका हान्दै नेपाललाई रोमाञ्चक जित दिलाए ।

एक हप्ताअघि मात्रै एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग हारेर एसिया कप गुमाएको नेपाललाई यस जितले ठूलो राहत दिएको छ ।

नेपालले ओमानको अल अमरेतमा टस हारेर युएईविरुद्ध २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । रोहित १८ बलमा ५ रन बनाएर आउट भएका थिए । तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ५ विकेटले पराजित भएको थियो ।

उक्त खेलमा उनले १९ बलमा २ चौकासहित २१ रन बनाएका थिए । पछिल्लो डेढ वर्षमा रोहितको उत्कृष्ट कप्तानी र प्रदर्शनमा नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै ओडीआई मान्यता जोगएको थियो । नेपालले पहिलो पटक एसिया कप खेलिसकेको छ भने १० वर्षपछि टी–२० विश्वकप पनि खेल्दैछ ।

अघिल्लो हप्ता एसीसी प्रिमियर कपमा विशेषगरी यूएईविरुद्धको सुस्त इनिङ र अर्को एसिया कपमा पुग्न नसकेपछि समर्थकहरुले रोहितको आलोचना गरेका थिए । कतिपयले त उनलाई कप्तानबाटै हटाउनुपर्ने मत पनि राखेका थिए । स्वदेश फर्किएर रोहितले एक हप्तामै शतकीय इनिङबाट आलोचकलाई जवाफ दिएका छन् ।

‘मैदान छिरेपछि वाच द बल अनुसार नै खेलेको थिएँ । सबै कुरा राम्रो भइरहेको थियो । आज मेरो दिन थियो जस्तो लाग्यो’, शतक हानेपछि रोहितले भने ।

‘यसअघि हाम्रो ब्याटिङ चलेको थिएन । मोन्टी सर र मबीच एक जना चल्दा पनि सबै जनाको आत्मविश्वास आउँछ भन्ने कुरा भएको थियो । मलाई लाग्छ यस इनिङले टोलीमा आत्मविश्वास र २०० रन पूरा गर्न सक्छौं भनेर विश्वास आउनेछ’, रोहितले थपे ।

रोहितले ओमानमा भएको एसीसी प्रिमियर कपको नतिजा बिर्सनुपर्ने बताए ।

‘ओमानको प्रदर्शनबाट सबैजना निराश छन् । तर त्यसबाट हामी अघि बढ्नुपर्छ । त्यही सोचेर बसेको भए आजको खेल पनि राम्रो हुने थिएन । भारत पनि विश्वकपमा १० खेल जितेपनि फाइनलमा पुगेर हारेको थियो’, उनले भने ।

अन्तिम १० ओभर राम्रो बलिङ गरेपछि शनिबार वेष्ट इण्डिज ए विरुद्धको खेलमा जित्ने स्थितिमा पुगेको बताए । ‘टीयुमा २०० रन पूरा हुने योगफल हो’, उनले भने ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपालमा आफूले देखेको रोहितको शतक उत्कृष्ट बताउँछन् ।

‘घरेलु मैदानमा आफ्नो क्षमता देखाउने खेलाडीबाट म खुसी छु । हाम्रो ब्याटिङ युनिट फेरि फायर भएको छ । रोहितको इनिङ मैले नेपालमा देखेको सबै भन्दा उत्कृष्ट हो’, मोन्टीले भने ।

वेष्टइण्डिज ए का प्रशिक्षक फ्योयड रिफरले रोहितले प्रहार गरेको सटहरुको तारिफ गरे । ‘रोहितले साँच्चिकै राम्रो खेले । केही राम्रा सटहरु खेले । कप्तानी गर्दै अघि आएर वेस्टइण्डिजविरुद्ध शतक हान्नु धेरै राम्रो हो’, उनले भने ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?