+
नेपाली क्रिकेट :

विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टोली कति सन्तुलित ?

२०८३ मंसिर  १३ गते १४:०२ २०८३ मंसिर १३ गते १४:०२

नेपाली टोलीमा प्रशस्त अलराउन्डर छन् । तर आवश्यकता अनुसारको योगदान दिन सकिरहेका छैनन् ।

१३ मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालको १५ सदस्यीय टोली घोषणा भइसकेको छ। घरेलु मैदानमा हुने प्रतियोगिताका लागि घोषित टोलीमा केही नयाँ अनुहारले अवसर पाउँदा अनुभवी तीव्र गतिका बलर सोमपाल कामी भने अटाएका छैनन्।

सन्दीप लामिछानेको कप्तानीमा रहेको टोलीमा पछिल्लोपटक लिग २ शृङ्खला खेलेको टोलीबाट तीन परिवर्तन गरिएको छ । रासिद खान, अभिशेष गौतम र कुशल भुर्तेल टोलीमा आएका छन् भने शेर मल्ल, शाहब आलम र सन्दीप जोरा बाहिरिए ।

नेपालको टोलीमा सदाझैं ब्याटिङ, अलराउन्डर र बलिङ तीनै विभागमा विकल्प छन्।  तर प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो रहन्छ भन्ने कुरा खेलाडीको व्यक्तिगत क्षमतासँगै विभागीय सन्तुलन र प्लेइङ ११ को संयोजनमा निर्भर हुनेछ।

लिग २ मा शीर्ष ४ मा पर्न नसक्दा सिधै विश्वकप छनोट खेल्ने अवसर गुमाएको नेपालका लागि प्लेअफ महत्त्वपूर्ण प्रतियोगिता हो। घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै नेपाल विश्वकप छनोटसम्म पुग्ने लक्ष्यमा हुनेछ ।

लामो समयदेखि नेपालको प्रमुख समस्या ब्याटिङ रहँदै आएको छ । केही मुख्य खेलाडीबिना राइजिङ स्टार्स एसिया कप खेल्न कतार पुगेको नेपाली टोलीको ब्याटिङ एक्सपोज नै भयो । भारत ए सँग २६ रन तथा पाकिस्तान ए सँग ७२ रनमा अलआउट भएपछि हामीसँग पर्याप्त ब्याटर नै तयार भएका छैनन् भन्ने छर्लङ्ग भएको छ ।

त्यसकारण प्लेअफमा नेपालले यो ब्याटिङ समस्या सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । नेपाली टोलीमा प्रशस्त अलराउन्डर छन् । तर आवश्यकता अनुसारको योगदान दिन सकिरहेका छैनन् ।

ब्याटिङमा विकल्प, चिन्ता उस्तै

नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, इशान पाण्डे र रोहित पौडेल मुख्य ब्याटरका रूपमा छन्। ओपनिङदेखि मध्यक्रमसम्मका लागि यी खेलाडीले विकल्प दिन्छन्। तर मुख्य चुनौती भने कन्सिस्टेन्सीमा देखिन्छ।

आसिफ र कुशलले ओपनिङमा जिम्मेवारी सम्हाल्न सक्छन्। कुशलको पुनरागमनले नेपालको शीर्षक्रममा अनुभव थपिएको छ। अर्जुन कुमाल पनि ओपनिङका विकल्प हुन्। पछिल्लो समयमा अर्जुनले भुर्तेलको स्थानमा खेल्दै आफ्नो क्षमतालाई राष्ट्रिय टोलीमा प्रमाणित गर्ने अवसर पाएका थिए।

एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध शतक बनाएका आसिफले त्यसपछि भएका पछिल्ला ४ ओडीआईमा ३५ रन मात्र बनाएका छन् । यता कुशल भुर्तेल पनि लय समात्न भने सकिरहेका छैनन् । भुर्तेलले राइजिङ स्टार्स एसिया कपमा ३ खेलमा ५८ रन बनाएका छन् जसमध्ये यूएईसँग ५७ रन बनाउँदा भारत ए सँग १ तथा पाकिस्तान ए विरुद्ध शून्यमा आउट भए ।

अर्जुन कुमाल क्रिजमा टिकेर खेल्न सक्ने खेलाडीका रूपमा चिनिन्छन् । नेपालले ओपनिङमा अर्जुनसँगै भुर्तेल र आसिफमध्ये एकलाई मात्र खेलाउन सक्छ।

देव खनाल र इशान पाण्डे मध्यक्रमका विकल्प हुन्। दुवैले यसअघि राष्ट्रिय टोलीबाट अवसर पाइसकेका छन् । रोहित पौडेलको भूमिका भने मध्यक्रममा महत्वपूर्ण हुनेछ। ब्याटिङलाई सम्हाल्ने र आवश्यकता अनुसार रनको गति बढाउने जिम्मेवारी उनीमाथि रहनेछ।

टप अर्डरले राम्रो ब्याटिङ गर्न नसकिरहेको अवस्थामा मध्यक्रम ब्याटरमाथि धेरै जिम्मेवारी थपिने हुँदा शीर्षक्रममा नयाँ बल सामना गर्ने ब्याटरले राम्रो खेल्नैपर्ने हुन्छ ।

नेपालको शीर्षक्रममा विकल्प भए पनि दबाबपूर्ण अवस्थामा मध्यक्रमले कस्तो प्रदर्शन गर्छ भन्ने महत्वपूर्ण हुनेछ। प्रतियोगितामा बलिया विपक्षीविरुद्ध ठूलो योगफल बनाउन र लक्ष्य पछ्याउन ब्याटरहरूले साझेदारीमा जोड दिनुपर्नेछ।

अलराउन्डरको बाहुल्यता

नेपालको टोलीमा दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, बसिर अहमद, रासिद खान र करण केसी प्रोपर अलराउन्डरका रूपमा महत्वपूर्ण हुनेछन्। हुनत माथि ब्याटिङमा राखिएका भुर्तेल र रोहित पनि पछिल्लो समय अलराउन्डर भूमिकामा देखिँदै आएका छन् ।

यी खेलाडीले ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने भएकाले टोलीको संयोजनमा उनीहरूको भूमिका रहनेछ।

दीपेन्द्र नेपालको सबैभन्दा महत्वपूर्ण अलराउन्डरमध्ये एक हुन्। उनी मध्यक्रममा ब्याटिङ गर्न सक्छन् भने अफ स्पीन बलिङबाट पनि योगदान दिन्छन्। त्यसमाथि पनि उनी फिल्डिङबाट पनि खेलको दिशा परिवर्तन गर्न सक्ने खेलाडी हुन् ।

गुल्शनले तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा ब्याटिङको विकल्प दिन्छन्। बसिर पनि स्पिन बलिङ र ब्याटिङ दुवैमा उपयोगी हुन सक्छन्।

करण केसीको अनुभव नेपालको लागि महत्वपूर्ण हुनेछ। नयाँ बलबाट बलिङ गर्ने क्षमता भएका करणले तल्लोक्रममा ब्याटिङबाट पनि योगदान दिन सक्छन्। उनको उपस्थितिले टोलीलाई बलिङका अतिरिक्त विकल्प दिन्छ।

अलराउन्डरको संख्या र क्षमताले नेपालको प्लेइङ ११ लाई सन्तुलित बनाउन सहयोग गर्न सक्छ। तर उनीहरूबाट दुवै विभागमा नियमित योगदान आउनु आवश्यक हुनेछ।

बलिङ नै प्रमुख शक्ति

नेपाली टोलीमा लामो समयदेखि मुख्य शक्तिका रूपमा बलिङ रहँदै आएको छ । कतिपय अवस्थामा ब्याटबाट कम योगफल बनाएपनि डिफेन्ड गर्न सक्ने क्षमता नेपाली टोलीमा छ । तर सधैं त्यसको भर पर्ने अवस्था भने नरहन सक्छ।

नेपालको टोलीमा कप्तान सन्दीप लामिछानेसँगै ललित राजवंशी, नन्दन यादव, करण केसी र अभिशेष गौतम बलिङका मुख्य विकल्प हुन्। करण केसी र गुल्शन झाले पनि तीव्र गतितर्फबाट साथ दिनेछन्।

स्पीन बलिङमा अनुभवी सन्दीप र ललितसँगै अभिशेष गौतमको संयोजन महत्वपूर्ण हुन सक्छ। सन्दीपको अनुभव र विकेट निकाल्ने क्षमता नेपालको मुख्य हतियार हो। यस्तै सिनियर पेस बलर करण केसीसँगै रासिदले पछिल्लो समय देखाएको प्रदर्शनले पनि नेपालको पेस बलिङमा अर्को विकल्प थपेको छ।

राइजिङ स्टार्स एसिया कपमा रासिदले पाकिस्तान ‘ए’ विरुद्ध पाँच विकेट लिएका थिए। त्यस खेलमा उनले आठ ओभरमा ३९ रन खर्चेका थिए। त्यसअघि यूएईविरुद्ध ओडीआई डेब्यू गरेका उनले चार ओभरमा १३ रन खर्चेर एक विकेट लिए। प्लेअफमा पनि उनले यही लयलाई निरन्तरता दिने अपेक्षा हुनेछ।

ललितले स्पिन बलिङमा अनुभव थप्नेछन् भने नन्दन यादव तीव्र गतिका बलिङ विकल्प हुन्। करण र गुल्शनको साथले नेपालको पेस बलिङमा विकल्प थपिए पनि सोमपाल कामीको अनुपस्थितिले अनुभवी तीव्र गतिका बलरको विकल्पमा केही दबाब पर्न सक्छ।

अभिशेष गौतमले पनि राइजिङ स्टार्स एसिया कपबाट लिस्ट ‘ए’ क्रिकेटमा डेब्यू गरेका थिए। पाकिस्तान ‘ए’ विरुद्ध दुई विकेट लिएका उनले अब राष्ट्रिय टोलीबाट ओडीआई डेब्यू गर्ने अवसर पाउन सक्छन्।

उनको प्रदर्शन र टोलीमा पाउने भूमिका चासोको विषय हुनेछ। विशेषगरी अनुभवी बाँयाहाते स्पीनर ललित पनि टोलीमा रहेकाले यी दुईमा एकमात्रै प्लेइङ ११ मा पर्ने सम्भावना रहन्छ। यद्यपि अभिशेषले मौका पाउने सम्भावना भने देखिन्छ।

सोमपाल राइजिङ स्टार्स एसिया कपका लागि टोलीमा समावेश भए पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए। विश्वकप छनोट प्लेअफको टोलीमा पनि उनी छैनन्। उनको अनुपस्थितिमा करण, नन्दन, गुल्शन र अभिशेषले तीव्र गतिका बलिङमा जिम्मेवारी बाँड्नुपर्नेछ।

***

नेपालको घोषित टोलीमा ब्याटिङका लागि पर्याप्त विकल्प छन्। अलराउन्डरको उपस्थितिले ब्याटिङको गहिराइ बढाउन सक्छ भने स्पिन बलिङमा सन्दीप, अभिशेष र ललितको संयोजन बलियो देखिन्छ। तीव्र गतितर्फ करण र गुल्शनसँगै नन्दन तथा रासिद विकल्पमा छन्।

तर टोलीको वास्तविक सन्तुलन प्लेइङ ११ छनोटमा निर्भर हुनेछ। ब्याटिङमा कति गहिराइ राख्ने, स्पीनर कति खेलाउने र तीव्र गतिका बलरको संयोजन कस्तो बनाउने भन्ने निर्णय महत्वपूर्ण हुनेछ।

हालको अवस्थामा नेपालको टिममा अलराउन्डरको बाहुल्यता देखिन्छ । विकेटकिपरद्वय आसिफ शेख र अर्जुन कुमालबाहेक १३ जना खेलाडीले नै बलिङ गर्न सक्छन् । तर नेपालको मुख्य चुनौती भनेको ब्याटिङ नै हो र त्यसमा बलियो प्रदर्शन आवश्यक रहनेछ।

घरेलु मैदान भएकाले नेपाललाई कम्पिटेटिभ एडभान्टेज त पक्कै छ तर त्यसको फाइदा उठाउन सक्नुपर्छ।

नेपालले डिसेम्बर ४ मा त्रिवि क्रिकेट मैदानमा इटालीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। घरेलु मैदान र समर्थकको साथ पाएको नेपालका लागि टोलीमा रहेका खेलाडीले आफ्नो भूमिकाअनुसार प्रदर्शन गर्नु र सही संयोजन बनाउनु अर्को चरण पुग्ने आधार बन्नेछ।

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी र अभिशेष गौतम

क्रिकेट विश्वकप छनोट प्लेअफ नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय