+
+
एसिया कप क्रिकेट :

भारतविरुद्ध नेपालको निडर प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते ०:१४

१९ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले सोमबार बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले हराउने अपेक्षा थिएन । अपेक्षा थियो त नेपालले राम्रो क्रिकेट खेलोस् ।

श्रीलंकाको पल्लेकेलेमा वर्षाले प्रभावित खेलमा भयो त्यस्तै । खेल भारतले १० विकेटले जित्यो, मन चाहिँ नेपालले । खासगरी मोहम्मद शामी, मोहम्मद सिराज र हार्दिक पाण्डे लगायतका विश्व स्तरका भारतीय बलरहरुलाई नयाँ ब्याट्सम्यानहरुले जसरी सामना गरे, त्यो तारिफ योग्य छ ।

प्रशिक्षक जगत टमाटा भन्छन्, ‘वल्र्डक्लास टिमसँग राम्रो क्रिकेट खेलोस् भन्ने थियो, उनीहरुले त्यही गरे । नेपालले सोचेभन्दा धेरै राम्रो खेल्यो ।’

टस जितेका भारतका कप्तान रोहित शर्माले नेपाललाई ब्याटिङको निम्तो दिए । अनि फस्ट बलरद्वय मोहम्मद सामी र मोहम्मद सिराजलाई एक अर्को इण्डबाट बलिङ गराए । त्यसका बाबजुद नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले सम्हालिएर ब्याटिङ गरे, पाएको मौकालाई सदुपयोग गर्दै बाउन्ड्री पनि मारे ।

भारतलाई पहिलो विकेट लिन पावर प्लेको अन्तिम दोस्रो बल कुर्नु परेको थियो । चार–चार ओभर बलिङ गर्दा पनि सामी र सिराजले विकेट लिन नसकेपछि भारतीय कप्तानले नवौं ओभरमा हार्दिक पाण्डेयलाई बल थमाएका थिए । उनलाई पनि दुबैले एकएक बाउन्डी हाने ।

दशौं ओभरमा आएका शार्दुल ठाकुरलाई चौथो बलमा कुशलले छक्का हानेका थिए । तर अर्को बलमा विकेट लिए । २५ बलको सामना गरेका कुशलले तीन छक्का र दुई छक्काको मदतमा ३८ रन बनाए ।

नेपालको यो राम्रो थालनीमा भारतको तीन क्याच ड्रपले सहयोग पुगेको थियो । पहिलो ओभरको अन्तिम बलमै भुर्तेललाई आउट गर्ने राम्रो अवसर मोहम्मद शामीले सिर्जना गरेका थिए । तर स्लिपमा श्रेयस ऐयरले ड्रप गरे ।

लगत्तै दोस्रो ओभरको पहिलो बलमै मोहम्मद सिराजले नेपालका अर्का ओपनर आसिफलाई क्याच आउट गर्ने अवसर सिर्जना गरेका थिए । फेरि क्याच ड्रप भयो । विराट कोहलीले सजिलो बल समात्न सकेनन् ।

पाँचौं ओभरको दोस्रो बलमा शामीले भुर्तेललाई आउटको अर्को अवसर सिर्जना गरे । तर विकेट किपर इसान किसानले ड्रप गर्दा बल बाउण्ड्रीमा पुग्यो ।

अर्को रोचक त आठौं ओभरको पहिलो बलमा अम्पायरले भुर्तेललाई एलबीडब्लू आउट दिएका थिए । तर नेपालले रिभ्यू लियो र थर्ड अम्पायरले विकेटको निर्णय सच्याए । भारतको एकपछि अर्को कमजोर फिल्डिङ, अनि रिभ्यूको सही निर्णयको बलमा नेपालले पहिलो विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरेको थियो ।

त्यसपछि नेपालको रनको गति धिमा भयो । आशिफले एउटा इण्ड सम्हाले पनि अर्कोतिर विकेट गुइरह्यो । भीम सार्की ७, रोहितकुमार पौडेल ५ र कुशल मल्ल मात्र २ रनमा आउट भए । जतिबेला नेपालको स्कोर १०१/४ थियो । त्यसपछि भने नेपालले केही सम्हालियो ।

छैटौं नम्बरमा आएका गुल्सन झाले आशिफसँग ३१ रनको साझेदारी गरे । ८८ बलमा अर्धशतक बनाएका आशिफ ३० औं ओभरको पाँचौं बलमा आउट भए । उनले सर्वाधिक ५८ रन बनाए । थप १२ रन जोड्दा झा पनि व्यक्तिगत २३ रनमा आउट भए ।

सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले अर्को महत्वपूर्ण साझेदारी गरे । । दुबैले सातौं विकेटका लागि ५० रनको महत्वपूर्ण साझेदारी गरे । ४२औं ओभरको पहिलो बलमा ऐरी २९ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १९४/७ थियो । त्यसपछि पनि सोमपालले केही ठूला शर्ट खेले । अर्धशतक बनाउन मात्र २ रन चाहिएको बेला उनी ४७.२ ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले एक चोका र दुई छक्को मदतमा ४८ रन बनाए ।

त्यो बेलासम्म पनि नेपालसामू पुरै ५० ओभर खेल्ने अवसर थियो । तर सन्दीप लामिछाने रन आउट भए भने ललित राजवंशी क्लिन बोल्ड भएपछि नेपाल ४८.२ ओभरमा २३० रन बनाएर अलआउट भयो ।

यद्यपि भारतविरुद्ध नेपालले बनाएको यो स्कोर निकै राम्रो भएको बताउँछन् पूर्व कप्तान ज्ञानेन्द्र मल्ल । आज टप अर्डरले दिलाएको सुरुवातको जगमा नेपालले निकै राम्रो स्कोर बनाएको भन्दै उनी अघि भन्छन्, ‘यदि मिडल अर्डर कोल्याप्स नभएको भए २५० प्लस हुन्थ्यो । यो भनेको प्रतिस्पर्धात्मक स्कोर हुन्थ्यो ।’

जिम्बावेमा भएको विश्वकप छनोटमा अर्को टेष्ट टिम वेष्टइण्डिजविरुद्ध शर्ट बलमा नेपाली ब्याट्सम्यानहरुले संघर्ष गरेका थिए ।

एसिया कपको पहिलो खेलमा पाकिस्तानले नेपालविरुद्ध फरक रणनीति लियो । उसका फास्ट बलरहरुले बललाई स्वीङ गराए र नेपाली ब्याट्सम्यानहरुले विकेट गुमाए ।

तर भारतको स्वीङ गराउने र शर्ट बल खेल्ने दुबै रणनीतिमा नेपालले राम्रो जवाफ दिएको छ । ‘आज सबैभन्दा सुधारिएको पक्ष भनेको नेपालले शर्ट बलमा पनि राम्रो शर्टहरु खेल्यो’ पूर्व कप्तान पवन अग्रवाल भन्छन्, ‘हामीले भारतसँग डिफेन्सिभ खेलेनौं । हामीले पाएका सर्टहरु आक्रमक भएर नै खेल्यौं ।’

भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३/३ विकेट लिए भने मोहम्मद समी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एकएक विकेट रह्यो ।

भारतको सहज जित

जवाफी ब्याटिङ थालेको भारतले २.१ ओभरमा १७ रन बनाएको बेला पानीले खेल रोकियो । भारी वर्षा भएपछि करिव २ घण्टा खेल रोकियो र डीएल मेडथका आधारमा खेल २३ ओभरमा छोट्याइयो । अनि भारतले पायो १४५ रनको नयाँ लक्ष्य ।

निकै अनुभवी भारतीय कप्तान रोहित शर्मासँगै शुभमन गिलका लागि नेपाली बलरहरुको सामना गर्न खासै गाह्रो भएन । २०.१ ओभरमा विना विकेटको क्षतिमा भारतले जित्यो । रोहित ७९ र गिल ६३ रनमा अविजित रहे ।

नेपालका कप्तान रोहितकुमार पौडेलले भारतीय ओपनरद्वयको तारिफ गरे ।

उनले नेपालको तल्लो अर्डरले पनि पछिल्लो समय राम्रो गरेको भन्दै भने, ‘मध्यक्रममा केही राम्रो गर्न सकिन्थ्यो । हामीलाई ३०/४० रन कम भयो । यदि त्यसो गर्न सकेको भए २६०/२७० रन हुन्थ्यो ।’

भिजेको फिल्डले पनि असर गरेको खेलमा बलरहरुले पनि राम्रो गरेको उनले सुनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?