+
+
राष्ट्रिय कृषि गणना २०७८ :

किसान नाफामूलक खेतीतर्फ मोडिए, तर बजारसँग जोडिएनन्

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० भदौ २१ गते १९:५५
फाइल तस्वीर

२१ भदौ, काठमाडौं । नेपालका किसानहरु परम्परागत कृषि छोडेर आधुनिक र नाफामूलक कृषिमा सर्दै गएको पाइएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ का अनुसार १० किसानहरु नाफामूलक फलफूल तथा तरकारीलगायत उत्पादन र नगदै आम्दानी हुने पशुपन्छी पालनमा आकर्षित भइरहेको देखिएको छ । किसानहरुले विस्तारै परम्परागत खेती छोडिरहेको पनि देखिएको छ ।

कृषि गणनाको तथ्यांकअनुसार ५४ प्रतिशत किसान बजारको पहुँचबाट टाढा छन् । ३ लाख ३४ हजार किसानको कृषि उपज घरैबाट बिक्री हुने गरेको पाइएको छ भने २ लाख ८६ हजार परिवारको बजार नजिकै छ ।

यस्तै, १२ लाख ६७ हजार किसान परिवार बजार पुग्न ३० मिनेट भन्दा कम लाग्छ भने एक देखि ३ घण्टासम्म बजार पुग्न समय लाग्ने किसान संख्या २२ लाख ४२ हजार ९ सय छ ।

मुख्य बालीमा उन्नत जात, नगदेमा आर्कषण

नेपाली कृषकले अस्थायी कृषि खेती अँगालिरहेको भए पनि स्थायी रुपमा फलफूल र नगदे बालीमा पनि अभ्यस्त पार्दै लगेको तथ्यांकमा उल्लेख छ । धान, गहुँ, मकैजस्ता परम्परागत आधारभूत बालीमा उन्नत जातको बिउ प्रयोग बढेको तथ्यांकमा उल्लेख छ ।

२०७८ मा १२ लाख १६ हजार हेक्टरमा धान, ६ लाख ५४ हजार हेक्टरमा गहुँ र ५ लाख ६० हजार हेक्टरमा मकै खेती गरिएको छ । २०६८ मा १४ लाख हेक्टरमा धान, ७ लाख ४९ हजारमा गहुँ, ६ लाख ७४ हजार हेक्टरमा मकै खेती गरिएको थियो ।

तथ्यांकअनुसार तरकारी खेतीमा जमिनको प्रयोग बढेको छ । २०६८ मा ८४ हजार हेक्टरमा तरकारी खेती हुने गरेकामा २०७८ मा यस्तो जमिन एक लाख ८ हजार पुगेको छ । कुल कृषि योग्य जमिनमध्ये १७ लाख ३१ हजार हेक्टरमा अस्थायी कृषि बाली लगाइएको छ भने एक लाख ४५ हजार हेक्टरमा फलफूललगायतका स्थायी बाली लगाइएको छ । विगत १० वर्षमा अस्थायी बाली लगाइएको क्षेत्रफल ३ लाख ९२ हेक्टरले घटेको छ । यस अवधिमा अस्थायी चौरचरन तथा बाँझो जग्गमा क्रमशः ४५ र ९५ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा सुन्तला खेती गर्ने चलन बढ्दै गएको छ । यसअघि ६ हजार हेक्टरमा भइरहको सुन्तला खेती ५ सय हेक्टरले वृद्धि भएको छ । पछिल्लो १० वर्षमा आँपको बगैँचाको क्षेत्रफल २ हजार हेक्टरबाट बढेर २० हजार हेक्टर पुगेको छ ।

कुखुरा र माछा पालनमा उत्साह

नेपालमा उन्नत जातको कुखुरापालन फस्टाउन थालेको छ । राष्ट्रिय कृषि गणना २०७८ को नयाँ विवरणअनुसार नेपालभर अहिले १७ लाख ९९ हजार कृषक परिवारले कुखुरा पाल्छन् । ती किसानका घरमा ४ करोड ५१ लाख १८ हजार गोटा कुखुरा छन् । कुल कुखुराको संख्या मध्ये ५५ प्रतिशत कुखुरा उन्नत जातको गिरिराज, लेयर्स र ब्रोइलर रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

२०६८ सालमा नेपालमा कुखुरा पालन गर्ने कृषकको संख्या १८ लाख ९ हजार मात्रै थियो । विगत १० वर्षमा कुखुरा पालन गर्ने सख्या थोरैले घटे पनि कुखुराको उत्पादन भने दुई गुणाले बढेको हो ।

नयाँ गणना २०७८ अनुसार बागमती प्रदेशमा सबै भन्दा धेरै कुखुरा पालन गरिन्छ । त्यसमा पनि काठमाडौं जिल्ला कुखुरापालनका लागि अग्रणी देखिएको छ । नयाँ तथ्यांकअनुसार नेपालमा हाँसको संख्या साढे ३ गुणाले बढेर १३ लाख २६ हजार पुगेको छ ।

यस्तै माछा पालन गर्ने कृषक संख्या ४२ हजार पुगेको छ भने माछा पोखरीको संख्या ४८ हजार ८ सय नाघेको छ ।

परम्परागत गाई र गोरु पालनमा अरुचि बढ्दै

नेपालमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ ।

तथ्यांक अनुसार हाल १७ लाख ८ हजार घर परिवारले गाई र गोरु पालन गरिरहेका छन् । जुन अघिल्लो गणनाको तुलनामा ५ लाख ७३ हजार परिवारले कम हो । २०६८ मा २२ लख ८१ हजार परिवार गाई र गोरु पालनमा थिए । नयाँ तथ्यांकअनुसार नेपालमा एउटा परिवारसँग गाई र गोरुको संख्या करिब ३ वटा छ ।

कार्यालयका अनुसार नेपालमा १८ लाख ७७१ हजारले गाई र गोरुको संख्या घटेको छ । नयाँ तथ्यांकअनुसार नेपालभर अहिले गाई र गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ । जुनगत २०६८ सालमा देशभर गाई र गोरुको संख्या ६४ लाख ३० हजार थियो ।

कृषिमा आश्रित जनसंख्यामा कमी

कृषिको कुल उपयोग भूमिको आकार खुम्चिंदै जाँदा बाँझो जमिन बढ्दै गएको छ भने कृषिमा आश्रित जनसंख्या घट्दै गएको देखिएको छ । पछिल्लो १० वर्षमा कृषिमा आश्रित जनसंख्या १०.९ प्रतिशतले घटेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ ।

कृषि पेशामा रहेका किसानहरुमा पनि युवाहरु विस्तारै पेशाबाट घट्दै गएका छन् भने वृद्धहरुको संख्या कृषिमा थपिइरहँदा सिंचाइ, बजार र वित्तीय पहुँचबाट ठूलो संख्याका किसान टाढा रहेको तथ्यांकले देखाएको छ ।

कृषिको क्षेत्रफल घट्यो, कृषक परिवार बढ्यो

नेपालमा कृषि गर्ने जमिन घटेको र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ । तथ्यांकअनुसार देशभर अहिले २२ लाख १८ हजार हेक्टर जग्गामा मात्रै कृषि कार्यमा उपभोग भइरहेको छ । जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो ।

अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेती गरिन्थ्यो । नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । नयाँ तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार थियो । तथ्यांकअनुसार हिमालमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको छ । पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । तराईमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ ।

अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषि गणनाले देखाएको छ । कृषि गणना २०६८ मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएपनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको तथ्यांकमा उल्लेख छ ।

सरकारी वित्तमा पहुँच न्यून

कृषिकलाई प्रोत्साहन गर्न सरकारले दिने नगद अनुदान र ब्याज अनुदानको ऋणमा किसानको पहुँच न्यून रहेको तथ्यांक छ । हाल कुल १२ प्रतिशत कृषकले मात्रै कृषि ऋण लिएका छन् । २०६८ कृषि ऋण लिने कृषक परिवारको संख्या २२ प्रतिशत थियो । २०६८ मा ८ लाख ३६ हजार परिवार ऋण लिएकामा २०७८ मा यस्तो ऋण लने कृषक परिवार संख्या ४ लाख ८३ हजार मात्रै छ ।

प्रवाह भएको ऋणमध्ये पनि अनौपचारिक क्षेत्रको ऋण अधिक रहेको पाइएको छ । एक लाख ८७ हजार किसानहरुले बचत तथा ऋण सहकारीबाट ऋणम लिएका छन् । वाणिजय बैंकबाट ऋण लिने २८ हजार छन् भने विकास बैंकबाट ५७ हजार र फाइन्यान्स र लघुवित्तबाट ऋण लिने किसान संख्या क्रमशः ६१ र ६० हजार परिवार छ । ५५ हजार किसानले साहू माहजनबाट ऋण लिएका छन् भने ६५ हजार किसानले आफन्त र इष्ट मित्रबाट ऋण लिएर कृषि गरिरहेको तथ्यांक छ ।

आफ्नै आम्दानीले खान नपुग्ने किसान आधाभन्दा धेरै

तथ्यांकअनुसार आफ्नै उत्पादनले खान नपुग्ने कृषक परिवार संख्या आधाभन्दा धेरै छ । कुलमध्ये २२ लाख ८४ हजार परिवारलाई आफ्नै आम्दानीले खान पुग्दैन । जसका कारण मानिसहरु वैकल्पिक व्यवसाय र काममा लाग्ने गरेको तथ्यांक छ । आफ्नै कृषिले एक देखि ३ महिना खान नपुग्ने परिवार संख्या ४ लाख १७ हजारबाट बढेर ५ लाख ४४ हजार पुगेको छ ।

४ देखि ६ महिना नपुग्ने परिवार १० लाख ५ हजारबाट बढेर १० लाख ६३ हजार पुगेको छ भने ९ महिनासम्म खान नुपुग्ने परिवार संख्या ५ लाख ३० हजारबाट घटेर ४ लाख ६४ हजारमा घटेको छ । यस्तै १२ महिनै नपुग्ने परिवार संख्या ३ लाख ४१ हजारबाट घटेर २ लाख एक हजार छ ।

कृषि क्षेत्रमा निष्क्रिय उमेर समूहका संख्या बढ्नु र सक्रिय जनसंख्या घट्नुको अर्थ युवा विदेश गइरहेको बुझिने कृषि अर्थविज्ञ डा. श्रीराम घिमिरे बताउँछन् ।

‘संसारभरकै विकास क्रमको नियम हेर्ने हो भने कृषिमा कम जनसंख्या हुने र त्यसले उत्पादन र उत्पादकत्व चै नघट्ने हुनुपर्छ,’ घिमिरे भन्छन्, ‘तर हाम्रोमा यस्तो छैन, उत्पादन र उत्पादकत्व पनि घट्ने सक्रिया जनसंख्या पनि घट्नुको अर्थ युवाहरु बाहिर गइरहेका छन् । ’

कृषिबाट बाहिरिएको संख्या जनसंख्या उद्योगमा जानु पर्नेमा उत्पादकत्व र उत्पादन पनि घट्ने र जनसंख्या बाहिर जानु मुलुकका लागि जोखिमपूर्ण छ ।

कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल तथ्यांक स्वाभाविक भएको बताउँछन् । तर, मौसम र जलवायुको अवस्थासँग कृषिलाई गणनाले नजोडिएको उनको भनाइ छ । योजना र नयाँ कृषि विकासको कामका लागि गणना प्रभावकारी हुनेमा उनले आशंका व्यक्त गरे । कृषिमा भविष्य नदेख्ने मानिसहरु कृषि पेशाबाट बाहिरिने क्रममा रहेको र कतै जान नसक्ने पुस्ता मात्रै बाध्यताले कृषिमा बसेको उनी बताउँछन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?