+
+
ब्लग   :

सहज हुन नसकेको बाउ र छोराछोरी पुस्ताबीचको संक्रमण

मेरो छोरा कन्टेन्ट क्रिएटर हो वा रङ्गमञ्चमा काम गर्छ अथवा गितार बजाउँछ र त्यसैमा आफ्नो भविष्य खोज्दैछ भनेर गर्वसाथ भन्न सक्ने बाबुआमा भेट्टाउन निकै गाह्रो छ।

 

सुवर्णराज भट्टराई सुवर्णराज भट्टराई
२०८० भदौ ३१ गते १३:२०

‘भान्दाइ, मेरो अस्ट्रेलियाको भिसा लाग्यो। अब दश दिनमै उड्ने हो। बट आइ विल मिस यु भान्दाइ !’ बहिनीको यो फोनकलको प्रतीक्षा थियो भनौं वा यो फोनकल कहिल्यै नआइदिएको भए हुने भन्ने चाहना, ठम्याउन सक्ने अवस्था रहेन।

प्रतीक्षा यस अर्थमा कि अमेरिकाको ‘भिसा रिजेक्ट’ भएपछि डेढ वर्ष जस्तो हरेक दिनको रुवावासी, नैराश्यता र वितृष्णाको अवस्थाबाट गुज्रिएको देख्दा अन्यत्र जुनसुकै ‘देश’ भए पनि गैदियोस् र अवस्था ओरालो नलागोस् भन्ने त थियो नै।

गए पनि ग्र्याजुएसनसम्म यहीं पढेर अलि परिपक्व भएर गए हुन्थ्यो भन्ने मेरो चाहना हुने नै भयो। मैले प्रतिनिधित्व गर्ने पुस्ता भनेको पुरानो र नयाँ अर्थात् अहिलेको बाउ पिंढी र छोराछोरी पिंढीको बीचको हो- न टाउको, न पुच्छर।

तैपनि बेला-बेला यी दुई पुस्ता बीचका विवादहरूमा मध्यस्थकर्ता भई बाध्यताका कारण दुई पिंढीबीचको फरकलाई प्रष्ट देख्न र बुझ्न सक्ने भएकाले दुवैले हुलाकी बनाउने पुस्ता।

नयाँ पिंढीले अझैसम्म बेवास्ता गरिहाल्न नसक्ने, पुराना भर्खर-भर्खर पत्याउन सुरु गरेका स्वघोषित ‘बुझ्झकी तर आधुनिक’ पिंढी। त्यति हुँदा नयाँ पिंढीले ‘विदेश नगई यहाँ बसेर गर्नु चाहिं के?’ भनेर सोध्दा चित्तबुझ्दो जवाफ दिन नसकिंदो रहेछ।

यसो गर उसो गर भन्दा ‘तैंले यहीं बसेर चाहिं के नाप्या छस् र?’ भन्लान् भन्ने त्रास बोक्दै लाज ढाक्नलाई ‘जान त जाउ तर अलि परिपक्व भएर जाउ’ भन्ने रेडिमेड उत्तर दिएर कुरो टुंग्याउनु भन्दा अर्को उपाय पनि नभेटिंदो रहेछ।

नयाँ पिंढी संस्थापनको विद्यमान देवत्वकरण मान्दैन। परिपक्वताको हाम्रो परिभाषा जायज ठान्दैन। मैले मेरी बहिनी वा नयाँ पिंढीका अरु कोही भाइबैनी परिपक्व (मेच्योर्ड) छन् वा छैनन् भनेर भन्न सक्ने मानक के हो ?

नयाँ पुस्ता ‘इन्फर्मेसन प्याक्ड डिजिटल एज’ मा हुर्केका/हुर्कंदैछन्। यिनीहरूलाई दुई चार वर्ष उमेर कम/बढी भएका आधारमा वा हाईस्कुल मात्र सकेको कि अलि बढी पढेको भन्ने आधारमा परिपक्व र सक्षम छ/छैन भनेर तौलन खोज्ने अघिल्लो पुस्तालाई नयाँ पिंढीले उल्टो असंवेदनशील, असमझदार र अपरिपक्व ठान्छ।

प्रविधिले मारेको फड्कोलाई आत्मसात् गर्न नसक्दा असान्दर्भिकताको सँघारमा पुगेको आफ्नो सीमित अनुभवका भरमा नयाँ पिंढीको भविष्य बारे प्रक्षेपण गर्ने हाम्रो विद्यमान अभ्यास आफैंमा परिपक्व हो कि अपरिपक्व (इम्मेच्योर्ड) ?

अहिलेको बाउ पिंढी र छोराछोरी पिंढीका बीच बुझाइको खाडल बढ्दो छ। आफ्नो सरसल्लाहको मर्यादा आफ्नाले र विशेषगरी आफ्ना सन्तानले राखिदिऊन् भन्ने अघिल्लो पिंढीले कामना गर्छ।

तर बाबुआमाको अधिकांश सोच नयाँ पिंढीले अव्यावहारिक भइसकेको ठान्छ। अर्को पिंढीले बोलेको कुरा वा बोल्ने तरिका आफूले खोजे जस्तो नहुँदा बुझाउन खोजेको विषय जेसुकै होस्, कुराकानी टुंगोमा विरलै पुग्छ र अनावश्यक मनमुटाव सुरु हुन्छ। उदाहरणका लागि अघिल्लो पिंढीलाई सामान्य लाग्ने ‘फलानाका छोरा/छोरीले यस्तो गर्छ, आफ्नो भने यस्तो’ जस्ता तुलना प्रेरित भाष्य अबका पिंढीलाई स्वीकार्य छैन।

तीन वर्ष अघिदेखि चित्त नबुझेका कुराहरू जोडेर परिस्कृत भएको लेक्चर, जसलाई अघिल्लो पिंढीले हरेकजसो कुराकानीका बीच अन्जानमै फुत्काइसक्छ, त्यो नयाँ जेनेरेशनले एकदमै सहँदैन।

आफूले के गलत गरें र छोराछोरी रिसाए भन्ने नै बुझ्न नसक्ने र मलाई यो कुरा चित्त नबुझेको हो भन्ने नै बुझाउन नसक्ने तहमा यो खाडल बढिसक्दा पनि यसको बोधसम्म हाम्रो घरपरिवारमा छैन।

आफूलाई पुरातनवादी र म्याद गुज्रेसरी लाग्ने बाबुआमाका अनेकन् सोचलाई चुनौती दिएर फरक कोणबाट हेर्न उत्प्रेरित गर्न वा भनौं विचार परिवर्तन गराउने कोसिस गर्न सक्षम नयाँ पिंढी छैन।

त्यसमाथि पनि ‘इन्स्टा रिल्स र टिकटक रिल्स’ ले स्वात्तै घटाइदिएको धैर्य र एकाग्रताले कुरो बुझाउन मिहिनेत गरिरहनु भन्दा एक छाक भात नखाई घुर्क्याउँदै ढोका बजार्नु उचित ऊ ठान्छ।

छोराछोरी र बाबुआमाले भावना साटासाट गरी आफ्ना कुरा बुझाउन सक्ने वातावरण सिर्जना गर्न सबैले प्रयत्न गर्नुपर्ने हो। तर छोराछोरीले तर्क गर्न नसकी जिद्दीपना र आक्रोशले जित्न खोज्दा लाचार भई स्वीकार्न सक्ने अघिल्लो पुस्ता समझदार र धैर्य भई उनीहरूका कुरा बुझ्ने प्रयत्न गर्न चाहिं सक्दैन।

‘बाउभन्दा छोरो जान्ने, खुकुरी भन्दा कर्द लाग्ने’ भन्ने उखान जीवनशैली बनिसकेको हाम्रो समाजमा अहिलेको बाउ पिंढीलाई अझैसम्म पनि किशोरकिशोरी सन्तानले आफूले भन्दा धेरै जानेको हुनसक्ला भनेर कल्पना गर्न कठिन छ।

अघिल्लो पुस्ताले स्थिरतालाई अझै पहिलो प्राथमिकतामा राख्छ। नयाँ पिंढीले यो बन्धनलाई जीवनको सार ठान्दैन। जराको गहिराइलाई उडानको उचाइ भन्दा महत्वपूर्ण ऊ ठान्दैन।

उदाहरणै हेर्ने हो भने पनि आफूलाई सन्तुष्टि दिने ‘फ्रिल्यान्स’ काम गरेर वा ‘पार्टटाइम’ काम गरेरै किन नहोस्, आफ्नो खर्च जुटाउँदै स्वतन्त्र भई बाँच्न, समय अनुकूल भए पश्चात् ‘स्टार्ट अप’ सुरु गर्न पाए हुन्थ्यो भन्ने ऊ ठान्छ।

अघिल्लो पिंढीले छोराछोरीको ‘स्टार्ट अप भिजन’ चिन्दैन। यत्तिका पढेको सन्तानले लोक सेवा नदिएर चिया पसल खोल्छु वा अनलाइनमा सामान बेच्छु भनेको उसले पटक्कै बुझ्दैन।

आफूले नसक्ने वा नबुझ्ने प्रयोग अर्को पिंढीले पनि नगरोस् भन्ने चाहना त छँदैछ, स्टेबिलिटीको ‘कम्फर्ट जोन’ क्षणभरलाई छाड्न सक्ने तागत समेत उसमा हुँदैन।

अर्को पिंढीले पनि जिजीविषाका लागि महत्वाकांक्षी नभई सुरक्षित बाटो अँगालोस् भन्ने ऊ चाहन्छ। चर्चित जापानी-अमेरिकन व्यवसायी तथा लेखक रोबर्ट टी. कियोसाकीले आफ्नो विश्वप्रसिद्ध पुस्तक ‘रिच ड्याड पुअर ड्याड’ मा व्याख्या गरेको गरिब बाबुको मानसिकताले अधिकांश नेपाली मध्यमवर्गीय बाउ पिंढीको प्रतिनिधित्व गर्छ।

एउटै आइडिया, एकैनासका प्रविधि र सीमित उत्पादनले दशकौं राज गर्ने समय देखी-भोगी हुर्केको अघिल्लो पिंढीले स्थिरता, स्थायित्व र दिगोपनालाई हरेक कोणबाट महत्व दिनु स्वाभाविक हो। तर नयाँ पिंढीले छोटो समयमा जुन प्रविधिको फड्को र विश्वव्यापीकरण तथा प्रविधि सिर्जित भौगोलिक संकुचन अनुभव गर्‍यो त्यो अभूतपूर्व र अप्रत्यासित छ।

नयाँ पिंढीलाई बाउ जस्तो वा बाउ जत्तिको बन्नु पर्याप्त छैन। तैपनि यो कुरा बुझाउन उनीहरूसँग न धैर्य छ, न त चाहना नै। अघिल्लो पिंढी ‘आफूले जन्माएको छोराछोरी’ भनेर हकदाबी गरेझैं गर्छ। नयाँ पिंढी त्यसलाई ‘आफ्नो स्वार्थले जन्माएको’ भनेर परिभाषित गरिदिन्छ।

आफूले खाटमा पल्टेर मोबाइल चलाइरहँदा बच्चाले चाहिं पढ्दिरहोस् भन्ने चाहना अघिल्लो पिंढीले राख्छ। नयाँ पिंढी आफैं उदाहरण बन्न सिकौं, लिड बाई एक्जाम्पल भन्ने तर्क दिन्छ। अझै पनि ठूलो स्वरले घोकिदिए खुसी हुने अघिल्लो पिंढीलाई नयाँ पिंढी घोकन्ते विद्या अनावश्यक हो, ‘क्रिएटिभिटी’ हो चाहिने भनेर बुझाउन खोज्छ।

नयाँ पिंढीमा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरूले विकराल रूप लिंदैछ। अघिल्लो पिंढीले यो उमेरमा कसरी मानसिक स्वास्थ्य समस्या हुन्छ भन्ने नै बुझ्दैन। ‘आफूले नखाई नखाई पढाएको छ, भन्या भन्या गर्देको छ, यति भन्दा के चाहिं गर्नु त ? चुट्न नपुग्या हैन त? हाम्रा पालामा दुई भारी घाँस काटेर स्कुल जान्थ्यौं’ भन्छ।

 

नयाँ पिंढीले हरेक कुरा किन ? भनेर प्रश्न गर्छ, पुरानो पिंढीले उत्तर दिइराख्न झर्को मान्छ। नजानेका कुरा जानेको छैन भन्न अझै हिचकिचाउँछ अनि अर्को एउटा कुरामा गाली गर्दै त्यो विषयलाई मोडिदिन्छ। अघिल्लो पुस्ता कहिल्यै नसुध्रिने भयो भनेर नयाँ पिंढी हतास हुन्छ, अनि के अपेक्षा गर्नु? भन्ने ठान्छ।

सामाजिक सञ्जालमा देखेसरहको जीवनशैली चाहेर हतास नयाँ पिंढी देशबाट उम्कन पाए आफ्नो हिसाबमा बाँच्थें भन्ने सोच्छ | सरसर्ती हेर्दा गलत कोही पनि छैन। आफूले देखेबुझेको हदसम्मको राम्रो आफ्ना छोराछोरीको होस् भनी निस्वार्थ र अनवरत सङ्घर्ष गरेकै हो अघिल्लो पिंढीले। यहाँ समस्या कम्युनिकेसन ग्यापकै मात्र हो।

सबैले अँगालेको बाटो आफ्ना सन्तानले पनि अँगालेको सहज ठान्ने अहिलेसम्मका बाउ पिंढी कसैले नबुझ्ने पेशा/उद्यम आफ्ना सन्तानले गरेको सहजै स्वीकार गर्न वा सहन सक्दैन।

चलनचल्तीका केही तथाकथित मर्यादित कहलिएका बाहेकका अर्काले ओहो! नभनिदिने पेशा वा व्यवसाय आफ्ना सन्तानले गरेको खण्डमा त्यस विषयमा बोल्न वा कुनै पनि जवाफ दिन त्यति सजिलो मान्दैन।

तुलनात्मक रूपमा कम आम्दानी हुने तर सबैले चिन्ने, जान्ने र बुझ्ने निजामती सेवा वा कुनै सरकारी संस्थानको सेवामा छोराछोरी भए गर्वसाथ सुनाउने बाबु-आमा ‘एप डेभलप्मेन्ट’ को काम गर्दै गरेको सन्तानले के गर्दैछ भनेर चर्चा गर्न त्यति रुचाउँदैनन्।

मेरो छोरा कन्टेन्ट क्रिएटर हो वा रङ्गमञ्चमा काम गर्छ अथवा गितार बजाउँछ र त्यसैमा आफ्नो भविष्य खोज्दैछ भनेर गर्वसाथ भन्न सक्ने बाबुआमा भेट्टाउन निकै गाह्रो छ।अघिल्लो पिंढीले छोराछोरीले ‘आफ्नै व्यापार गर्छु भन्छ/भन्छे’ भनेर उत्साहसाथ भन्न सक्ने वातावरण भइदिएको भए सायद अवस्था भिन्न हुन सक्थ्यो।

सानो स्टार्ट अप गर्नका लागि एक लाख रुपैयाँ छोराछोरीले माग्दा र आफूसँग हुँदा समेत दिन नसक्ने बाबुआमा अष्ट्रेलिया, क्यानडा पठाउन बीसौं लाख र अमेरिका पठाउनलाई चालीसौं लाख ऋण गर्न नहिच्किचाउने किन होला ?

केही काम/उद्यम गरेर छोराछोरी असफल भए भने ‘यति डुबायो, उति डुबायो, नगर भनेको मानेन’ भनेर पटक-पटक दोहोर्‍याइरहँदा हीनताबोधको भावनाले जकड्छ र फेरि केही गर्ने आँट गर्न नसक्ने हुन्छन् भन्ने बुझ्न गाह्रो छ र? उद्यम/व्यवसायमा लडेका खण्डमा फेरि उठ्ने साहस दिन सक्ने क्षमता त छँदैछैन, कसैको असफलतालाई अकर्मण्यता भन्दा तल्लो तहमा झारेर हाम्रा परिवार/समाजमा व्यङ्ग्य गर्ने गरिन्छ।

अघिल्लो पिंढीलाई दोष देखाउने मात्र पनि कुरा होइन यो। ‘संसार कति अगाडि गइसक्यो, तपाईँ बुझ्नुहुन्न, प्रविधिको प्रयोग नै नगरेर हुन्छ?’ भनेर दोष देखाउँदै उम्कन नयाँ पिंढीले पनि मिल्दैन।

परिवार भनेकै एकअर्काको परिपूरक भई आफूले जुटाउन सक्ने ज्ञान र स्रोत बाँडीचुडी अघि बढ्ने संस्था हो। यस्तोमा आफूले जाने-बुझेका कुरा, संसारमा भएका नयाँ घटनाक्रम तथा प्रविधिका विकासका विषयमा आफूभन्दा अगाडिका पिंढीलाई बुझाउने, सिकाउने धैर्य नयाँ पिंढीमा हुनुपर्छ र सहनशीलताको पनि विकास गर्दै लैजानुपर्छ।

नत्र जति चाँडो नयाँ पिंढीले अघिल्लो पिंढीलाई असान्दर्भिक र अव्यावहारिक करार गरी आफ्नो प्रभुत्व दर्साएको हो, त्यति नै चाँडो अब तयार हुने/हुँदै गरेको तेस्रो पिंढीले त्यही शृंखला अझ निर्मम ढंगले दोहोर्‍याउनेछ।

बुढो भएका बाउलाई भीरबाट गुल्ट्याइदिन डोकोमा बोकेर हिंडेको पात्रलाई डोको फिर्ता लिएर आउनु, तपाईंको पालामा चाहिन्छ भनेर छोरोले भनेपछि झसंग भएर परिस्थिति बोध भएको दृष्टान्त हामी सबैले पढ्दै सुन्दै आएका मात्र हैन, समाजमा चरितार्थ भएको समेत देखेका छौं।

आजका दिन वा भविष्यमा बुढा, भीर र खसाल्नुको प्रतीकात्मक अर्थ उल्लेखित दृष्टान्त भन्दा फरक होला, तर यसको तात्विक अर्थ चाहिं फरक हुँदैन। त्यसैले आफूभन्दा अघिल्लो वा पछिल्लो पुस्ताले गरेको व्यवहारलाई मात्र हेरेर त्यसको पृष्ठभूमिका बारेमा नसोचिकन हठात् प्रतिक्रिया दिनु न्यायपूर्ण हुँदैन।

हामी कहाँ चुक्यौं वा किन यस्तो अवस्था आयो भनेर दुवै पिंढीले सोच्न जरुरी छ। आदर्श वा आकाङ्क्षाका मनोवादमा रमाउने कि एकछिन अडेर म कहाँ छु? अनि यो समाज कहाँ जाँदैछ? भनी विचार गर्ने त ?

केही कुरा सिकेर, केही सिकाएर नयाँ सोचलाई सकिनेसम्मको तहमा आत्मसात् गर्नसके यो द्वन्द्व निकै कम हुनसक्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?