+
+

अबको केही दिन मौसम बदली र भारी वर्षाको सम्भावना

रासस रासस
२०८० असोज १३ गते १४:२१

१३ असोज, काठमाडौँ । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि वर्षा गराउने प्रणाली (न्यूनचापीय क्षेत्र) को विकास भएकाले अबको केही दिन बदली र वर्षाको सम्भावना रहेको बताए ।

‘भारतको पश्चिमी भू–भागबाट मनसुन बर्हिगमनको प्रक्रिया सुरु भइसकेको छ । तर, अहिले बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो अझै शक्तिशाली हुँदै उत्तर–पश्चिमतिर सर्ने क्रममा रहेकाले नेपालबाट मनसुन बाहिरिन समय लाग्ने देखिन्छ’, उनले भने ।

मौसमविद् अधिकारीका अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई/चार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उनले भने, ‘पूर्वमा विकसित न्यूनचापीय प्रणाली देशको पश्चिम र सुदूरपश्चिमसम्म प्रभाव नरहन सक्छ । पूर्वी र मध्य भेगमा धेरै पानी पर्ने सम्भावना देखिन्छ ।’

यो वर्ष दसैँ ढिलो भएकाले पनि किसानले बाली भित्र्याउने तरखरमा छन् । यो बेला मनसुनको प्रभाव बढी कृषि र यातायात क्षेत्रमा पर्नसक्ने भएकाले सम्बन्धित निकायलाई सतर्कता गराउन अनुरोध गरिएको महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । देशको पूर्वी भेगभएर मनसुन देशभर फैलिन्छ । यस्तै मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् यो वर्ष असोज १५ गते भए पनि मनसुन ढिलोगरी बाहिरिने अनुमान गरिएको छ । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो ।

सतर्कता अपनाउन अनुरोध    

महाशाखाका अनुसार आगामी तीन/चार दिनसम्म देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यस्तै कोसी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वर्षाले पहाडी भूभागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह केही बढ्नसक्ने र दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत केही प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

साथै, बाली भित्र्याउने बेला पनि भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ ।

यी स्थानमा वर्षाको सम्भावना    

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, मधेस र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि कोसी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?