+
+
मिस इन्टरनेसनलको तयारीबारे प्रसिद्धि शाह :

‘नेपाली सम्पदा र वैभवलाई अन्तर्राष्ट्रिय मञ्चमा झल्काउन चाहन्छु’

विष्णु शर्मा विष्णु शर्मा
२०८० असोज १९ गते १८:००

काठमाडौं । जब कोही देशको सिमाना बाहिर जान्छ, उसले राष्ट्रियताको प्रतिनिधित्व गरेको हुन्छ । अक्टोबर २६ मा जापानको टोकियोमा हुने मिस इन्टरनेसनलमा प्रसिद्धि शाहसँग निजी नाम हुनेछैन । स्टेजमा उनलाई ‘नेपाल’ नामले बोलाइनेछ ।

अनलाइनखबरको स्टुडियोमा यी कुरा गरिरहँदा उनी केही भावुक र दबाबपूर्ण सुनिइन् । ‘विदेशमा मैले गल्ती गर्दा पनि नेपालकै नाम आउने भयो । विदेशमा म प्रसिद्धि शाह हुँदिन । त्यहाँ बोलाउने नाम नेपाल हुन्छ । भिन्न खाले दबाब हुने रहेछ,’ उनी भन्छिन् ।

यो दबाब र आत्मविश्वासबीच मिस नेपाल इन्टरनेसनल प्रसिद्धिले अन्तर्राष्ट्रिय संस्करणको तयारी गरिरहेकी छिन् । अक्टोबर २६ मा जापानले ६१ औं मिस इन्टरनेसनल २०२३ को फिनालेको आतिथ्यता गर्दैछ । जसमा सहभागी हुन प्रसिद्धि मंगलबार टोकियोतर्फ प्रस्थान गर्दैछिन् ।

फिनालेको उल्टो गणनाबीच फिट एण्ड फाइन राख्न प्रसिद्धिले शारीरिक र मानसिक तयारी गरेकी छन् । यसका लागि मुम्बई पुगिन्, जहाँ उनले पेजेन्टको कोर्स पनि पढिन् । स्टाइलिङ, हेयर, मेकअप, स्पिच, वाक र पेजेन्टमा आफूलाई प्रस्तुत गर्ने शैली सिकिन् । पेजेन्टको मानसिक दबाब छल्न योग, कसरत र ध्यान कक्षा पनि सिकिन् ।

बलियो दाबेदारीको अनुमान

गृहकार्य हेर्दा फिनालेमा नेपालको दाबेदारी जबर्जस्त हुने अनुमान गर्न सकिन्छ । यसको उदाहरण हो, दिगो विकास लक्ष्यसम्बन्धी भिडियोमा उनले पाएको प्रतिक्रिया । यो भिडियोलाई मिस इन्टरनेसनलको युट्युब च्यानलमा दोस्रो धेरै पटक हेरिएको छ । प्रतिस्पर्धाको प्रिलिमिनरी जजिङ (प्रारम्भिक मूल्यांकन)मा यो भिडियो सहायक बन्न सक्छ ।

यसबाहेक नेपालले यसपटक उच्च पहाडी क्षेत्रको जीवनशैली र संस्कृतिक झल्काउने पहिरन डिजाइन गरेको छ । यो पहिरन थाङ्का कलाबाट प्रभावित छ । प्रसिद्धिले नेपालबाट पञ्चबुद्ध मण्डलाको स्वर्णअंकित थाङ्का लग्दैछिन् । ‘यसमार्फत म नेपाली सम्पदा र वैभवलाई चिनाउन चाहन्छु,’ उनी भन्छिन् ।

पञ्चबुद्धको मण्डलाको थांकालाई मिस इन्टरनेसनलको मञ्चमा प्रस्तुत गर्ने तयारी पछाडि प्रसिद्धिसँग केही सोच छन् । उनी नेपाली बौद्ध परम्परामा रहेको शान्तिपूर्ण सहअस्तित्वलाई झल्काउन चाहन्छिन् । संयोग के भइदियो भने उनकी आमा अर्थात् पहिलो मिस नेपाल रुबी राणाले पनि फिलिपिन्स जाँदा पञ्चबुद्धकै थाङ्का लगेकी थिइन् ।

‘म आफैंले बजारमा किन्दा पनि मिल्न गयो । जापानमा पनि बुद्ध दर्शन रुचाइने भएकाले यो मेरो छनोटमा पर्‍यो,’ उनले भनिन् ।

आत्मविश्वास महत्वपूर्ण कडी

आत्मविश्वास जितको लागि महत्वपूर्ण पक्ष हो । पेजेन्टप्रतिको लगाव र झुकावलाई उनी जितको आधार मान्छिन् । ‘उहाँहरुले मेरो लगाव, अनुशासन र कडा मेहनत देखेर जज गर्न सक्नुहोस् भन्ने इच्छा छ । मेरो अनुशासन उहाँहरुले देख्नुहुन्छ जस्तो मलाई लाग्छ,’ प्रसिद्धि भन्छिन् ।

फिनालेकै लागि उनले पूर्वविजेता र सेलिब्रिटीसँग भेट गरिरहेकी छन् । उनलाई लाग्छ, अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने हो भने विदेशी प्रतिस्पर्धी र उनीहरुको रणनीतिबारे पनि बुझ्न जरुरी छ ।

‘यसका लागि हामीले केही अनुसन्धान गरेर जानुपर्ने रहेछ । जापानजस्तो मुलुकमा उहाँहरुले के खोजिरहनुभएको छ भन्ने बुझेर जान विगतका मिस नेपालहरुले सुझाव दिनुभयो । पेजेन्टमा जाने टिमको पनि मेहनत लाग्ने रहेछ । राम्रो लुगा लगाउनुपर्छ, हेयर एण्ड मेकअप त्यही अनुसार हुनुपर्छ । स्पिचबारे काम गर्नु भनेर सुझाव दिनुभयो,’ उनी सुनाउँछिन् ।

फास्टट्रयाक विधामा केन्द्रित

हरेक ब्युटी पेजेन्ट प्रतिस्पर्धीको प्राथमिक लक्ष्य हुन्छ, टप १५ मा समावेश हुने । यो समूहभित्र पर्न सकिए यसलाई लगभग जितसरह नै मानिन्छ । यसका लागि प्रतिस्पर्धीले अन्तिम १५ भित्र समेटिन फास्ट-ट्रयाक विधामा जोड दिन्छन् ।

मिस इन्टरनेसनलको पनि आफ्नै ढाँचा छ । जसको ‘प्रिमिलिनरी जजिङ (प्रारम्भिक मूल्यांकन) निकै महत्वपूर्ण फास्ट-ट्रयाक विधा हो । लगभग सबै कुरा यही विधामा निर्भर हुन्छ ।

यो विधामा गाउन, स्वीम वेयर, नेसनल कस्ट्युम, एसडीजी भिडियो र सोसल वर्कलाई मूल्यांकन गरिन्छ । यसबाहेक भोट महत्वपूर्ण फास्ट-ट्रयाक विधा हो । धेरै भोट ल्याउने अन्तिम १५ मा पुग्ने भएकाले नेपालको जोड यसमा पनि छ । तर डलरबाट मात्र भोट गर्नुपर्ने नियम भएकाले नेपालबाट यो कुरा व्यावहारिक देखिंदैन ।

यसका लागि विदेशस्थित नेपाली समुदायलाई आफूलाई भोटिङमा सघाउन प्रसिद्धिको आग्रह हुनेछ । टोकियो पुग्नेबित्तिकै उनले जापानी डायस्पोरामा अभियान चलाउँदैछिन् । ‘टप १५ मा पुग्न भोटले सहयोग गर्छ । भोटको सहयोग पाउन सकें भने आभारी हुनेछु,’ उनी भन्छिन् ।

समाजसेवादेखि कफी उद्यमसम्म

प्रसिद्धि सौन्दर्य प्रतियोगिताकी सहभागी मात्र होइनन् । यसबाहेक उनको आफ्नै परिचय छ । भूकम्पको समयमा उनले कोपिल नामक सामाजिक संस्थाबाट बालबालिकालाई शिक्षासँग जोड्नेदेखि भत्किएका घरमा सघाउने काम गर्‍यो ।

कफी उत्पादन र बिक्रीबाट उनी उद्यमशीलतालाई निरन्तरता दिन चाहन्छिन् । वातावरण विज्ञानकी विद्यार्थी समेत रहेकी उनी समाजसेवा र उद्यमशीलतालाई मिस इन्टरनेसनलको फिनालेसँग ‘कनेक्ट’ गर्न चाहन्छिन् ।

‘मेरो सीधा उत्तर छ– कोपिला र कफी मेरो एड्भोकेसी हुन्छ । मेरो अनुभव कुनै न कुनै कोणबाट जोडेको छु,’ उनी भन्छिन् । फिनालेबाट फर्किएपछि प्रसिद्धिको ध्यान आउने मिस नेपाललाई सल्लाह दिने, कफी किसानलाई दिगो खेतीबारे सघाउने र कोपिलामार्फत समाजसेवालाई निरन्तरता दिनु हुनेछ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?