+
+
इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका विद्यार्थीको गुनासो :

उद्धार गर्न सकिंदैन भनेर हामीले कसरी विश्वास गर्ने ?

नारायण भुसाल  नारायण भुसाल 
२०८० असोज २२ गते १५:४०

म नारायण भुसाल । मेरो घर पैयूं-५, पर्वत हो । मेरो समूह इजरायल आइपुगेको झण्डै एक महिना भयो । हामी सबै यहाँ नयाँ पनि छौं । परिवेश नयाँ छ ।

हामी आउनुअघि यहाँ त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू आएका थिए । यो ठाउँ सीमा क्षेत्रमा पर्छ । यहाँबाट दुई किलोमिटर आसपासमा इजरायलको सीमा सकिन्छ । यहाँ जोखिम रहेपछि ११ महिनाको सम्झौता सकिने बेला त्रिविले यहाँको सम्झौता तोडेर अन्यत्र विद्यार्थी लगेको रहेछ । त्रिविले आफ्ना विद्यार्थीलाई सुरक्षित स्थानमा लगेको देखिन्छ ।

खोइ, हाम्रो सुदूरपश्चिम विश्वविद्यालयले किबुज फर्मसँग यो असुरक्षित ठाउँमा किन सम्झौता गर्‍यो ? हामीलाई थाहा भएन । हामीलाई यसबारे न सरकारले केही भन्यो, न विश्वविद्यालयले न हामी पढ्ने टीकापुर मल्टिपल क्याम्पसले नै । युद्धग्रस्त क्षेत्रमा हामीलाई किन ल्याइयो ? विश्वविद्यालय र सरकारले जवाफ दिनुपर्ला ।

इजरायलमा आक्रमण सुरु भएपछि हामी असुरक्षित छौं । हामी बङ्करमा बसेको दुई दिनभन्दा बढी भइसक्यो । नेपालबाट ल्याएको दालमोठ लगायतका खानेकुरा खाएर बसिरहेका छौं ।

यहाँनेर सरकार र विश्वविद्यालय चुकेको देखिन्छ । किनकि अरु फार्महरूमा यस्तो समस्या छैन । किबुजमा रहेका १७ जना साथीहरूमध्ये सबैलाई चोट लागेको छ । १० जनाको त मृत्यु नै भयो । एक जना बेपत्ता छन् । ३/४ जना साथीहरू गम्भीर घाइते छन् ।

किबुजमा हाम्रो युनिभर्सिटीबाट ४९ जना नेपाली विद्यार्थी आएका थियौं । विश्वविद्यालयले हामीलाई ५ वटा समूहमा विभाजन गरेर छुट्टाछुट्टै ठाउँमा राखेको थियो ।

हामी अहिले च्याउ फार्ममा छौं । हामी ११ जना छौं । एकदमै त्रसित छौं । किबुज फार्ममा भएका मेरा साथीहरू १० जनाले ज्यान गुमाइसकेका छन् । ३/४ जना घाइते छन् । सँगै पढेको, एउटै विमानमा आएको साथीहरू मृत्यु भएको, कतिपय घाइते भएको अवस्था छ ।  त्यो खबरले हामी त्रसित र मर्माहत छौं ।

युद्ध चलिरहेको छ । हामी बाँचेका जतिलाई सुरक्षित ठाउँमा एकै ठाउँमा गएर बस्न पाए हुन्थ्यो भन्ने हाम्रो चाहना छ । हाम्रो सरकारसँग यही माग छ ।

हामीले उद्धारका लागि गैरआवासीय नेपाली संघ र नेपाली राजदूतावाससँग सम्पर्क गरिरहेका छौं । तर काममा कुनै प्रगति भएको छैन । हामी पानी जुटाएर, नेपालबाट ल्याएको दालमोठ लगायतका खानेकुरा खाएर बाँचिरहेका छौं । खानेकुरा मुख्य होइन । केही दिन नखाएरै बाँच्न सकिन्छ । अहिलेको मुख्य विषय सुरक्षाको हो । हामी अत्यन्तै आतंकित छौं ।

हामी सबै साथीहरू सुरक्षित ठाउँमा जान चाहन्छौं । एक ठाउँमा जम्मा हुन चाहन्छौं । कम्तीमा बँचेका साथीहरू एक ठाउँमा बस्न पाऔं । यति भए हामीले मानसिक रूपमा सुरक्षित महसुस गर्ने थियौं । यत्ति व्यवस्था होस् । हामीलाई यो अवस्थामा बाँच्न एकदम गाह्रो भइरहेको छ ।

सरकारी टोली कोही आइपुगेको छैन । एनआरएनएका नेताहरूसँग पनि सम्पर्क भइरहेको छ । दूतावासका अधिकारीहरूसँग पनि । तर कोही आइपुग्नुभएको छैन । सूचना र हाम्रो लोकेशन सबैलाई थाहा छ ।

उद्धार गर्न सक्ने अवस्था छैन भनौं भने भारतका टिकटकरदेखि थाइल्याण्डका नागरिकसम्मको यहीं आसपासबाट उद्धार भइसकेको खबर आइरहेको छ । उहाँहरूको उद्धार भएको किबुजबाटै हो जहाँ हाम्रा १० जना साथीहरू मारिएका छन् र केही घाइते छन् । त्यहाँबाट हामी रहेको फार्म ४०-४५ किलोमिटर टाढा छ । हामीलाई उद्धार गर्न किन गाह्रो भएको होला ?

दूतावासका मानिसहरू भन्नुहुन्छ, ‘तपाईंहरू बङ्करमै बस्नुस् । त्यहीं सुरक्षित हुनुहुन्छ । यहाँका सेनाले हामीलाई त्यहाँ जान दिएका छैनन् । हामी जान पाएका छैनौं ।’

तर हामीले कसरी विश्वास गर्ने ? अरुको उद्धार हुँदा हाम्रो किन हुनसक्दैन । किबुजभन्दा हामी केही टाढा पनि छौं । जबकि हाम्रा साथीहरू मारिएका ठाउँबाट अरूको उद्धार भइरहेको छ ।

हामी सरकारसँग बिन्ती गर्न चाहन्छौं, हाम्रो उद्धार होस् । हामीलाई सुरक्षित ठाउँमा लगियोस् । हाम्रा सबै साथीहरू सँगै बस्न पाऊँ । हामीलाई अहिले भर्खर नेपाल पठाइिदनुस् भनेका होइनौं । कम्तीमा सुरक्षित ठाउँमा लगियोस् ।

तेलअविव सुरक्षित छ भन्ने सुनेका छौं । त्यहाँ एनआरएनका साथीहरू पनि हुनुहुन्छ । त्यहाँ सबै साथीहरूलाई लगेर राखिदिए कम्तीमा हामी मानसिक रूपमा सुरक्षित हुन्थ्यौं ।

हामी नेपालीहरू यति धेरै अप्ठ्यारोमा रहेको बेला, हाम्रा साथीहरू मारिएको वेला, कतिपय साथीहरू घाइते भएको वेला, मेरो सरकार छ, मेरो अभिभावक छ भन्ने महसुस गर्न पाइयोस् । हाम्रो उद्धार होस् ।

(भुसालसँग अनलाइनखबरले गरेको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?