+
+
हमास–इजरायल युद्ध :

अर्थतन्त्रमा युक्रेन युद्धभन्दा ठूलो असरको जोखिम

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असोज २२ गते २१:०५

२२ असोज, काठमाडौं । ६३ वर्षअघि नेपालसँग दौत्य सम्बन्ध कायम भएको मुलुक इजरायल यतिबेला भीषण युद्धको चपेटामा छ । करिब तीन हजार माइल टाढा रहेको इजरायलमाथि प्यालेस्टाइनी हमास विद्रोहीले शनिबार बिहानैदेखि गरेको अप्रत्याशित आक्रमणमा १० जना नेपाली विद्यार्थीको दुःखद् निधन भएको छ । बेपत्ता र घाइते नेपालको यकीन संख्या अझै प्राप्त हुन सकेको छैन ।

तीन दिनदेखि जारी भीषण युद्धमा इजरायल, प्यालेस्टाइन र विदेशीहरूसमेत गरी कम्तीमा ११ सयको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

युद्धको त्रासदीमा रहेका झण्डै ५ हजार नेपाली नागरिकको उद्धारमा नेपाल सरकार जुटेकमो छ । तर, युद्धका कारण निम्तनसक्ने आर्थिक संकटबाट पनि मुलुक टाढा नरहेको विज्ञहरू बताउँछन् ।

शनिबार बिहान इजरायलमा सुरु भएको हमला यताको ४८ घण्टामा विश्व अर्थतन्त्रमा यसका असरहरू देखिन थालिसकेका छन् ।

बढ्न थाल्यो इन्धनको मूल्य

इजरायल आक्रमणलगत्तै विश्व अर्थतन्त्रमा यसको असरमा देखिन सुरु भइसकेको छ । पछिल्लो ४८ घण्टामा कच्चा तेल, प्राकृतिक ग्याँस, सुनको मूल्य उकालो लागेको छ । अमेरिकी डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ५ डलरले बढेको छ ।

५ अक्टोबरमा ८२.९९ डलरमा कारोबार भइरहेको उक्त कच्चा तेलको मूल्य सोमबार ८७.१५ डलर प्रतिब्यरेल पुगेको छ । तीब्र उतारचढाब बीच कच्चा तेलको कारोबार यो समाचार तयार पार्दा ८५.१८ डलर प्रति ब्यारेलमा भइरहेको छ ।

नेपालले भारतबाट तेल आयात गर्छ, भारतले ब्रेण्ट क्रुड आयात गरी प्रशोधन गर्ने गरेको छ । यो कच्चा तेलको मूल्य पनि युद्धसँगै उकालो लागेको छ । शनिबार डलर ८४.६४ प्रति ब्यारेलमा कारोबार भइरहेको ब्रेण्ट कच्चा तेलको मूल्य आइतबार ८८.६६ डलर पुगेको थियो । सोमबार यसमा केही सुधार भएर ८६.५२ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ ।

प्राकृतिक ग्याँसको मूल्य झण्डै २ प्रतिशतले बढेको छ भने सुनको मूल्य प्रतिऔंसमा २२ डलरले वृद्धि भएको छ । ७ अक्टोबारमा प्रतिऔंश १८२९ डलरमा कारोबार भइरहेको सुनको मूल्य युद्ध लगत्तै १८५१ डलर प्रतिऔंश पुगेको थियो । सोमबार यो समाचार तयार पार्दासम्म बढेको मूल्यमा २ डलरको गिरावट देखिएको छ ।

सुनको मूल्य बढे लगत्तै त्यसको असर नेपालको बजारमा परिसकेको छ । सोमबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । कच्चा तामाको मूल्य प्रतिपाउण्ड ३.६२ डलर रहेकामा प्रतिपाउण्ड ३.६७ पुगेर केही ओरालो लाग्ने क्रममा छ ।

नेपालमा असर

शनिबारको हमलापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि नेपाल आयल निगमले चिन्ता व्यक्त गरेको छ । रुस–युक्रेन युद्धका कारण थलिएर केही सुधार हुँदै गरेको इन्धनको मूल्यलाई हमास–इजरायल युद्धले थप समस्यामा पार्ने देखिएको निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् ।

शनिबारयता नै प्रतिब्यारेलमा झण्डै साढे ४ डलरले मूल्य बढेको छ । ‘यो मूल्य कहाँ पुग्छ भन्ने कुनै यकिन छैन,’ प्रवक्ता ठाकुर भन्छन्, ‘अहिले १५ दिनमा करोड २१ करोड नोक्सानीमा छौं । यो नोक्सानी बढ्न सक्छ । निगमको नोक्सानी बढ्दै जानु भनेको कालान्तरमा उपभोक्ता र अर्थतन्त्रमै समस्या पर्ने हो ।’

रुस–युक्रेन युद्धका कारण महँगिएको इन्धनको मूल्यले निगम ५६ अर्ब नोक्सानी व्यहोरेको र उपभोक्ताको दैनिकी झेलिनसक्नु महँगो भएको डेढ वर्ष नबित्दै पुनः अर्को संकटको संकेत देखिएको ठाकुर बताउँछन् । यसका लागि हालसम्म सरकारबाट औपचारिक छलफल नभएकोमा उनले चिन्ता व्यक्त गरे ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरद राणा इजरायलमा जारी युद्धको प्रत्यक्ष असर नेपालले भोग्ने बताउँछन् । इजरायलसँग नेपालको वस्तुको मात्रै नभई सेवाको ठूलो कारोबार रहेको उनको भनाइ छ ।

नेपालका ५ हजार जनशक्ति इजरायलमा श्रम गर्ने र नेपालको पर्यटनमा इजरायलको योगदान रहेको उनको भनाइ छ ।

‘पहिलो नेपाली श्रमिकको श्रम खोसिने भयो । यसले रेमिट्यान्समा प्रत्यक्ष असर गर्छ । दोस्रो नेपाल आउने इजरायली पर्यटकमा गिरावट आउँछ,’ राणा भन्छन्, ‘वस्तुको व्यापार त एक प्रतिशत हाराहारी होला तर त्यो भन्दा ठूलो असर सेवाको व्यापारमा देखिन्छ ।’ नेपालीहरू इजरायलबाट फर्किए भने भइरहेको वस्तुको सानो आकारको व्यापारमा पनि असर पर्नेछ ।

व्यापार तथा निकासी प्रर्वधन केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ५० करोड, २०७८/७९ मा एक अर्ब ४२ करोड बराबरको वस्तु आयात गरेको थियो । ती वर्षमा नेपालले क्रमशः ३१ करोड २६ लाख र २२ करोड ७ लाखको वस्तु इजरायल निर्यात गरेको थियो ।

अर्थशास्त्री रेशम थापा इजरायलको द्वन्द्व लम्बिए नेपालले रुस र युक्रेनका कारण भोगेको भन्दा पनि ठूलो क्षति व्यहोर्ने बताउँछन् । युक्रेन–रुस युद्धमा तेल, वस्तु व्यापारमा मात्रै असर परेकामा यो युद्धले नेपालको श्रम बजार, प्रमुख आर्थिक स्रोत रेमिट्यान्स र पर्यटनमै असर पर्ने उनको आकलन छ ।

‘इजरायलको युद्धले मध्यपूर्व र खाडी नै प्रभावित हुने र यसले नेपालको सबै भन्दा ठूलो श्रम बजारमा असर गर्नेछ । यसले रेमिट्यान्समा धक्का दिनेछ,’ थापा भन्छन्, ‘प्रमुखतः इजरायलीसँगै नेपाली पर्यटन गन्तव्यको प्रमुख ट्रान्जिट मुलुकहरूमा अशान्ति आउने र त्यसले नेपालमा असर बढ्नेछ ।’

सन् २०२२ मा इजरायलबाट ६ हजार ३ सय २६ जना पर्यटक नेपाल आएका थिए । यो सन् २०२३ को सेप्टेम्बरसम्म ५ हजार ३४९ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

तर, बेफिक्री सरकार

बितेको दुई वर्षमा अर्थतन्त्रमा देखिएको संकटलाई सरकारले युक्रेन–रुस युद्धका कारण भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिइरह्यो । महँगी, शोधनान्तर घाटा, उच्च ब्याजदरले अर्थतन्त्र शिथिल हुँदा सरकारले आफूले भने न असर कम गर्ने प्रयास गर्‍यो न त समस्याको निराकरणमा उपाय नै । झण्डै दुई वर्षपछि पुनः मध्यपूर्वमा उस्तै तर नेपाललाई प्रत्यक्ष असर पर्ने संकट देखिंदा सरकार पुनः बेफिक्री देखिएको अर्थशास्त्री रेशम थापा बताउँछन् । ‘युक्रेन–रुस युद्धका कारण पर्ने असर अप्रत्यक्ष थियो तर अहिले इजरायलमा भएको युद्ध लम्बियो भने हामीले प्रत्यक्ष र गएको भन्दा पनि ठूलो असर भोग्नु पर्छ,’ अर्थशास्त्री थापा भन्छन्, ‘तर, यसबारे सरकारका निकायले चासो दिएको देखिन्न । अर्थमन्त्री यस्तै बेला विदेश भ्रमणमा निस्कनुभएको छ ।’

इजरायल युद्धमा १० नागरिकको ज्यान गएको र ५ हजार हाराहारी सोही मुलुकमा रहेका कारण सरकार तत्कालका लागि जीवन रक्षा, उद्धार र राहतमा केन्द्रित छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावास यसैमा व्यस्त देखिनु स्वभाविक पनि हो ।

तर, अर्थतन्त्र र यसका बाछिाटाबारे आन्तरिक तयारी गर्नुपर्ने अर्थ र वाणिज्य मन्त्रालय युद्धका कारण अर्थतन्त्रमा पर्नसक्ने प्रभावबारे चिन्तामा छैनन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महत मन्त्रालयका सचिव तथा महत्वपूर्ण विभागका अधिकारीहरू लिएर सोमबार मात्रै विदेश भ्रमणमा निस्किएका छन् ।

वाणिज्य मन्त्रालय त झन् वाणिज्य सचिवविहीन अवस्थामा छ । इजरायल युद्ध र यसको अर्थतन्त्रमा पर्ने बाछिटाबारे कुरा गर्न सोमबार दिनभर प्रयास गर्दा पनि वाणिज्य मन्त्रालयका अधिकारीहरू उपलब्ध भएनन् । वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुर दुवै जनासँग पटकपटक प्रयास गर्दा पनि उनीहरू सम्पर्कमा आएनन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?