+
+

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १३:१७

२४ असोज, काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबारदेखि सुरु गरेको रकेट आक्रमण अहिले दोहोर युद्धमा परिणत भएको छ । हमासको आक्रमणमा परेका विद्यार्थीहरू नेपालका त्रिभुव विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ प्रोग्रामअन्तर्गत इजरायल पुगेका थिए ।

युद्धग्रस्त गाजा क्षेत्रको सीमावर्ती भागमा रहेका कृषि फर्ममा कार्यरत उनीहरूमध्ये १० जनाको मृत्यु भएको छ भने एकजना अझैँ सम्पर्कबिहिन छन् ।

उक्त क्षेत्रमा तनाव बढ्दै गएपछि नेपाल सरकारको समन्वयमा इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारेको छ । दूतावासका अनुसार गाजासँगको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई पनि थप अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ ।

नेपाली दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ ।

हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तिब्र पारिएको नेपाली दूतावासले जनाएको छ ।

सरकारले इजरायलबाट नेपाल फर्किन चाहनेहरूका लागि अनलाइनमार्फत रजिष्ट्रेसन फर्म खुला गरेर विवरण संकलन गरिरहेको छ । नेपाली दूतावासका अनुसार हालसम्म करिब चार सय नेपाली नागरिकले नेपाल फर्किन चाहेका छन् ।

तर शनिबारदेखि त्रासदीपूर्ण वातावरणमा आफू बसिरहे पनि नेपाल सरकारले समयमै नेपाल फिर्ता लिन नसकेको गुनासो नेपाली विद्यार्थीहरूको छ ।

इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हवाईजहाज पुग्नेबित्तिकै उनीहरूको नेपाल फिर्ताको सुरु हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?