+
+

इन्द्र आङबोलाई कोशीको मुख्यमन्त्री बनाउन गठबन्धन सहमत

शेखर कोइरालाको असन्तुष्टि कायमै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते २०:२७

२४ असोज, काठमाडौं । कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् ।

नेपाली कांग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् ।

संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरुको संख्या बढेको थियो ।

कांग्रेसमा संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकांक्षी थिए । कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै डा. शेखर कोइरालाले प्रधानमन्त्रीसँग भेट पनि गरेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो दलका आङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा देखिए ।

उनले गठबन्धनका नेताहरुसँग छलफल गरेका थिए । मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका प्रचण्डले राप्रपाले कांग्रेसलाई समर्थन नगर्ने, तर आफूहरुलाई साथ दिने सन्देश कांग्रेस नेताहरुलाई दिए ।

बुधबार विहान भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समेत आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति दिएको स्रोत बताउँछन् ।

कोशीमा कांग्रेस संसदीय दलका नेता रहेका उद्धव थापा सिटौला निकट नेता हुन् । थापाले फेरि पनि मुख्यमन्त्रीको दाबी गरेका थिए । तर दुईपटक मुख्यमन्त्री नियुक्त भएर असफल भइसकेकाले फेरि थापालाई अगाडि बढाउन उचित नहुनेमा सिटौला आफैं सहमत भए ।

शेखर काइरालाहरुको प्रस्तावअनुसार दलका नेता बाहेकलाई मुख्यमन्त्री बनाउन देउवा तयार नभएपछि माओवादी दलका नेता आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका छन् । शेखर निकट एक नेता भन्छन्, ‘त्यसो नगरौं, भोलि दुर्घटना हुन्छ भनेर हामीले भनिरहेका छौं । तर सभापति सहितका नेताहरु माओवादीलाई दिन तयार हुनुहुन्छ ।’

कोशीको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको पनि दाबी थियो । एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र राई आफैं अवसर आए मुख्यमन्त्री बन्ने लाइन थिए ।

मेची–महाकाली अभियान अन्तर्गत एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरु राजधानी बाहिर भए पनि कोशीको सरकारबारे छलफल गर्न उपाध्यक्ष राजेन्द्र पाण्डे काठमाडौं आएका थिए । तर कांग्रेस नेताहरु आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमत देखिएपछि एकीकृत समाजवादीले पनि दाबी छाडेको छ ।

‘इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने बचन दिएरै एमाले नेतृत्वको सरकारबाट फिर्ता बोलाएका थियौं । त्यसैले पनि हामीले उहाँलाई नै समर्थन गर्ने हो’, पूर्व मुख्यमन्त्री राई भन्छन् ।

गठबन्धनसँग मुख्यमन्त्री दाबी गर्न आवश्यक संख्या ४७ सांसद भएकाले आङ्बो कोशीको मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ । तर कांग्रेसभित्रै इतर समूहका नेता डा.शेखर कोइरालाको असन्तुष्टि भएकाले गठबन्धनले आधिकारिक निर्णय गर्न सकेको छैन ।

प्रदेशसभामा २९ सांसद रहेको कांग्रेसमा शेखरले आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान छोडेका छैनन् । सभापति देउवाले कोइराला पक्षलाई पनि मनाएर निर्णय लिने बताएका छन् ।

कांग्रेसका एक नेता भने पार्टी नेतृत्वले निर्णय लिइसकेकाले पार्टी एक ढिक्का भएर उभिने बताउँछन् । ‘अहिले कोशीमा सरकार बनाउन संविधानले फ्लोरक्रस गर्न पनि छुट दिएको छ । तर त्यसो भन्दैमा पार्टी नेतृत्वको निर्णयविरुद्ध र संसदीय दलका नेता भन्दा बाहिर गएर निर्णय हुन्छ भन्ने लाग्दैन’ ती नेता भन्छन्, ‘दाबी रहनु स्वभाविक हो । तर हामी एक ढिक्का भएर उभिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?