+
+

पोखरामा सार्वजनिक शौचालयको तामझामपूर्ण उद्घाटन, सामाजिक सञ्जालमा आलोचना !

विकास रोकामगर विकास रोकामगर
२०८० असोज २६ गते १९:३५

२६ असोज, पोखरा । गैरआवसीय नेपाली संघ (एनआरएनए) र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा पोखरा वडा नं. ९ मा बनेको सार्वजनिक शौचालय शुक्रबार उद्घाटन गरिएको छ । १ करोड रुपैयाँमा बनेको उक्त शौचालयमा एनआरएनको ६० र महानगरले ४० प्रतिशत लगानी छ ।

तामझामसहित भव्य कार्यक्रम गरी सार्वजनिक शौचालयको उद्घाटन गरिएको थियो । एनआरएनए अध्यक्ष रविना थापाले चाबी मेयर धनराज आचार्यलाई हस्तान्तरण गर्दै शौचालयको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा मेयर आचार्यले सहरभित्र आवश्यक पूर्वाधार बनाउन संयुक्त प्रयासको उदाहरणसहित सार्वजनिक शौचालय बनाइएको बताए । ‘पूर्वाधार निर्माणका लागि मूल्य भन्दा पनि साझेदारी महत्वपूर्ण हो,’ उनले भने, ‘यो हाम्रो सहर बनाउनका लागि हामी कसरी संयुक्त रूपमा काम गरिरहेका छौँ भन्ने सन्देश पनि हो ।’

व्यस्त बजार नजिकै बनेको सुविधासम्पन्न आधुनिक प्रविधिजडित सार्वजनिक शौचालयले सबैलाई राहत पुग्ने मेयर आचार्यको दाबी छ । शौचालयमा महिलाहरूका लागि सेनेटरी प्याडको भेन्डर मेसिन, स्तनपान कक्ष, सेन्सरसहितका बेसिन तथा धाराहरू जडान गरिएको छ ।

दैनिक १८ घन्टासम्म खुला हुने दाबी गरिएको शौचालयबाट बायोग्यास निकाल्ने महानगरको योजना छ । तर, बायो डाइजेस्टर भने जडान गरिएको छैन । ‘शौचालयअगाडि वाटर फाउन्टेन सहितको सुन्दर पार्क र फल्चा निर्माण हुनेछ,’ उनले भने ।

महानगरले महेन्द्रपुलको आर्टग्यालरी भत्काएर ५ रोपनी क्षेत्रफलमा सार्वजनिक शौचालय बनाएको हो । त्यसको अघिल्तिर रहेको पुस्तकालय भत्काएर लायन्स क्लबको लगानीमा झन्डा पार्क बनिरहेको छ । संयुक्त राष्ट्रसंघमा आवद्ध १ सय ९५ देशसहित पोखरा महानगर, लायन्स क्लब र एनआरएनए गरी १ सय ९८ वटा झन्डा फहराउने महानगरको योजना छ ।

सुरुबाटै आलोचित !

सार्वजनिक शौचालयको तामझामसहित उद्घाटन गरेपछि महानगरको उल्टो आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा अनावश्यक रुपमा महंगो शौचालय बनाएको र त्यसमाथि तमझामपूर्ण उद्घाटन आवश्यकै नरहेको भन्दै आलोचना भइरहेको छ ।

सुन्दर लामिछाने लेख्छन्, ‘साधारण शौचालय र स्नानगृह बनाएको भए त्यही बजेटले ५, ६ वटा अरु सार्वजनिक शौचालय र स्नान गृह बन्थ्यो ।’ अहिले महानगरले जहाँ सार्वजनिक शौचालय बनाएको छ, त्यहाँ एक वर्षअघिसम्म पोखरा महानगरकै एकमात्र आर्ट ग्यालरी थियो । महानगरले आर्ट ग्यालरी नयाँ ठाउँमा सार्ने भन्दै ०७९ भदौ २३ गते डोजर चलाएको थियो ।

सिर्जनशील कलाकार समूहले कला प्रदर्शन गरिरहेकैबेला महानगरले डोजर चलाएको थियो । बिना विकल्प एकाएक भएको एकमात्र ग्यालरी भत्काएपछि तत्कालीन समयमै महानगरको चर्को आलोचना भएको थियो ।

महानगरले विज्ञप्ति नै निकालेर ‘सुविधासम्पन्न आर्ट ग्यालरी र पुस्तकालयसहित पोखरा घर बनाउन लागेको’ भन्दै कलाकार तथा कलाप्रेमीलाई आश्वासन दिएको थियो । तर, आर्ट ग्यालरी र पुस्तकालय भत्काएको १ वर्ष बितिसक्दासमेत पोखरा घर बन्ने सुरसार छैन ।

ग्यालरी नहुँदा पोखरेली कलाकार प्रर्दशनी गर्नुपरे होटल तथा रेस्टुरेन्ट धाउन थालेका छन् । महानगरले अहिले पोखरा नयाँ बजारमा रहेको क्षत्री समाज घरमा अस्थायी आर्ट ग्लालरी तोकेको छ । तर, एक वर्षको बीचमा एउटामात्रै चित्रकला प्रदर्शन भएको छ ।

‘आर्ट ग्यालरी पुरानो भयो, नयाँ बनाइदिन्छौं भन्दा एकदमै खुसी लागेको थियो । तर, जुन अपमानजनक तरिकाले हामीलाई लखेट्यो, एकदमै दुख लागेको छ,’ सिर्जनशील कलाकार समूहकी सचिव हेमकान्ति गुरुङ भन्छिन्, ‘हाम्रो घर भत्केको ठाउँमा ट्वाइलेट बनिसक्यो, हाम्रो नयाँ घरको ठेगान छैन ।’

क्षत्री समाज घरको सभाहलमा नयाँ आर्ट ग्यालरी तोके पनि महानगरबाट कुनै सहयोग नपाएको गुनासो उनको छ । ‘आफ्नै घर भए पो स्याहार सुसार गर्न पनि मजा हुन्छ । अर्काको घर स्याहार्दास्याहार्दै कुनबेला निस्केर जा भन्नेहुन् थाहै छैन,’ गुरुङको गुनासो छ, ‘स्टाफ नहुँदा खोल्न पनि पाएका छैनौं ।’

नयाँ आर्ट ग्यालरी कहिले ?

महानगरले महेन्द्रपुलको आर्टग्यालरी र पुस्तकालय भत्काउँदै गर्दा पृथ्वीचोकमा पोखरा घर बनाउने र त्यही सुविधासम्पन्न ग्यालरी र पुस्तकालय बनाउने बताएको थियो । तर, एक वर्ष बितिसक्दासमेत उक्त योजनाले मूर्त रुप पाउन नसक्दा कलाकार निराश छन् ।

‘एकदमै लाजमर्दो महसुस भइरहेको छ । महानगरले आफ्नो योजनाअनुसार ट्वाइलेट र ग्यालरी सँगसँगै बनाउनुपथ्र्यो,’ कलाकार हेमकान्ति गुरुङ भन्छिन्, ‘हाम्रा लागि ग्यालरी कहिले बनाउँछ, हामीलाई नै थाहा छैन ।’

महानगर प्रवक्ता मोति तिमिल्सिना ‘पोखरा घर’ निर्माण प्रक्रियामै रहेको बताउँछन् । उनले भवनको डिपीआर निर्माण भइसकेको र चाँडै टेन्डर आह्वान हुने जानकारी दिए । ‘कुल ९ करोड २८ लाखमा पोखरा घर बन्छ । टेन्डरका लागि खरिद शाखामा पठाइसकिएको छ,’ उनले भने, ‘पोखरा घर बन्ने प्रक्रियामै छ ।’

पृथ्वीचोकमा बन्ने भनिएको ‘पोखरा घर’को भूइँतालमा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र माथिल्लो तलामा घन्टाघर बनाउने महानगरको योजना छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?