+
+
ब्लग :

रविन हुडका नेपाली डमी

दुर्भाग्य जनताको नेतृत्व गर्ने दलले जनताको समस्या अनदेखा गर्दिनाले यस्ता पात्रहरूको जन्म भएको हो । राजनैतिक दल जनताका दैनिकी देख्नबाट चुकेकै कारण प्रसाईं जस्ताका अभियानले महत्व पायो ।

भवानी बराल भवानी बराल
२०८० असोज ३० गते १४:०४

कथाको सार

उहिले, धेरै पहिले बेलायतमा रविन हुडको खुब चर्चा हुन्थ्यो । सन् ११०० देखि १६०० सम्म रविन हुडको कथा नजान्ने विरलै थिए । उतिबेला बेलायतका धनी सम्पन्न सामन्त जमिनदारहरूले गरीबमाथि शोषण, उत्पीडनको उत्पात मच्चाएका थिए । भनिन्छ, गरीबहरूमाथि जमिनदारको अत्याचारले त्यसबखत सीमा नाघेको थियो । यस्तैमा गरीबहरूको पक्षमा मद्दतगार भएर एउटा पात्रको जन्म हुन्छ । उसको नाम हो, रविन हुड ।

बाल्यकालसम्म रविन हुडले आफैं जमिनदारको अत्याचार खेपेका थिए । यसैले उनमा जमिनदार विरुद्ध बदला लिने भावना सानैदेखि जागृत भएको थियो । त्यसैले युवा उमेर हुनासाथ जमिनदारको सम्पत्ति लुटपाट गर्न थाले । र, लुटेको सबै सम्पत्ति गरीबहरूलाई बाँडिदिन्थे ।

रविन हुडको विद्रोहको बारेमा तिलस्मी कहानी किताबहरू लेखिएका छन् । विलियम लिङलेण्ड नामका एक लेखकले ‘द भिजन पियर्स प्लोमेन’ शीर्षकको किताबमा रविन हुडले गरेको लुटपाटको कथा लेखे ।

रविन हुड बेलायतस्थित नाटिंघमको शेरबुड जंगलमा बस्थे र गाउँमा आएर जमिनदारको सम्पत्ति लुट्ने गरेको कथा कथिएको थियो । बलिष्ठ र धनुकाँण चलाउन माहिर रविनले जमिनदारमा कोकोहोलो नै मच्चाएका थिए । लुटेको सम्पत्ति बाँडेर गरीबको मसिहा नै भएका थिए ।

कथा अनुसार दावी गरिएका तिथिमिति मिल्दैन । यस्तै एउटा दावी अनुसार सन् १३७७ मा बेलायतको शेरबुड जंगलमा रविन हुड भेटिएको प्रसंग आउँछ । तर लगत्तै उनको जन्म सन् १६६० मा भएको अर्को दावी छ ।

यसरी रविन हुड नामको अनेक पात्र बनाएर शोषक जमिनदारको विरुद्ध काल्पनिक मनोवैज्ञानिक आतंक सिर्जना गरेको हुन सक्छ ।

उनलाई हिन्दु धर्मशास्त्रका धनुर्धर अर्जुनसँग पनि दाँजिएको छ । रविन हुडले आफू जस्तै धनुर्विद्यामा पारंगत ‘मेरियन’ नामकी केटीसँग प्रेम विवाह गरेका थिए । बुढ्यौलीमा रविन हुड असाध्य रोगले थलिए ।

भनिन्छ-मर्नुभन्दा केही क्षण अगाडि उनले एउटा तीर दागे । जुन तीर खसेकै ठाउँमा उनलाई मरेपछि समाधिस्थ गरियो ।

रविन हुड कसका सन्तान थिए, कुन जात, विरादरीका थिए । कुनै अत्तोपत्तो छैन । उनी जन्मिएको दावी र विचरण गरेको समय पनि अनकातान फरक छ । उनको कथामा आधारित दुई दर्जन बढी चलचित्र, अनेक डकुमेन्ट्री, नाटक रचिएका छन् । रिसर्च पेपर लेखिएका छन् । लाग्छ– उनी कुनै मिथकीय पात्र हुन् । रविन हुडको कथा यति नै हो ।

रविन हुडका नेपाली डमी

यो कथा यहाँ विना प्रसंग आएको हैन । पूर्व राजा ज्ञानेन्द्रका एक जना कारिन्दाले रविन हुडसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तुलना गरेर सार्वजनिक अभिव्यक्ति दिएकोले हो । तिनका अनुसार राजावादीलाई लागेको छ– दुर्गा प्रसाईं ढुंगा खोज्दा शिलाजित भेट्टाए सरह भएको छ ।

उनै प्रसाईंले गएको फागुन १ गतेदेखि ज्ञानेन्द्रकै आतिथ्यमा ‘क्रान्ति’ (वास्तविक भ्रान्ति) सुरुवात गरेका छन् । यसै सन्दर्भमा उनले आक्रामक ढंगले नेपालको वित्तीय व्यवस्थापनमा आएको समस्या उठाउँदै आएका छन् ।

नेपालको वित्तीय व्यवस्थापनमा देखिएको अव्यवस्था नौलो कुरो भने हैन । निजी बैंक, सहकारी र लघुवित्तको आर्थिक अनुशासनहीनताको पराकाष्ठा नै छ । सहकारीको ठगी धन्दा त आम नै भइसकेको छ । लघुवित्तले जनताको उठीबास लगाएको फेहरिस्त कैरन गरेर साध्य छैन । वित्तीय संस्थाको चक्रवर्ती सरहको ब्याज मिटरब्याजसरह छ भन्नु पनि अत्युक्ति हुन्न । यही मुद्दालाई सिरानमा राखेर यतिखेर उनको एकल अभियान चलायमान छ ।

हुनत, उनले हिन्दु धर्मसापेक्ष, गणतन्त्रको खारेजी र राजतन्त्रको पुनस्र्थापनाको धर्म–राजनैतिक मुद्दा पनि उठाएका छन् । तर, उनको मुख्य अभीष्ट भने हिन्दु धर्मसापेक्ष राजतन्त्रको पुनस्र्थापना नै हो । अर्थात् रूपमा बैंक, सहकारी, लघुवित्तको चक्रवर्ती शोषणबाट मुक्त गर्ने उद्देश्य प्रसाईंको देखिए पनि सारमा हिन्दु अधिराज्यको स्थापना हो । त्योभन्दा महत्वपूर्ण आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्नु हो ।

आफ्नो ऋण मोचन गराउने नाजायज उपक्रम हो । प्रसाईंले खोलेको बिर्तामोडस्थित बी एण्ड बी अस्पताल, क्यान्सर अस्पताल र होटल स्थापनार्थ लिएको अर्बौं ऋणबाट मुक्त हुने दुस्वप्न होइन भन्न सकिन्न ।

दुर्भाग्य जनताको नेतृत्व गर्ने दलले जनताको समस्या अनदेखा गर्दिनाले यस्ता पात्रहरूको जन्म भएको हो । राजनैतिक दल जनताका दैनिकी देख्नबाट चुकेकै कारण प्रसाईं जस्ताका अभियानले महत्व पायो । उनको आगतको सम्भावना र विगतको नियत नहेरी आत्मरतिमा वित्तीय संस्थाबाट उत्पीडित समुदाय पछि लागेका छन् ।

अन्यथा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा राजनैतिक दलको मुख्य नेतृत्वको शयनकक्षमा प्रसाईंको पहुँच पुगेकै थियो । आफ्नै भान्सामा मुख्य नेताहरूलाई भुजा ज्युनार गराउने क्षमता प्रसाईं राख्थे ।

उनको आगतको सम्भावना र विगतको नियत नहेरी आत्मरतिमा वित्तीय संस्थाबाट उत्पीडित समुदाय पछि लागेका छन् ।

यतिसम्म कि पछिल्लो समयमा उनी नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य थिए । तर यति पहुँचले पनि उनको स्वार्थसिद्ध हुने नदेखेपछि ‘मर्ता क्या नही कर्ता’ उनी न्वारानदेखिको बल निकालेर कुदेका हुन् ।

प्रसाईंको व्यावसायिक जीवनको आरोह–अवरोह नजान्ने देखिजान्ने, सुनिजान्ने विरलै होलान् । कुनै बेला प्रसाईंले भैंसी पालन व्यवसाय गरेका थिए । भैंसी पालनकै सिलसिलामा लिएको ऋण ताकेता गर्दा सबै भैंसी फुकाएर बैंकको हाताभित्र हुलेर बैंक नेतृत्वलाई हावाकावा खेलाएको किस्सा झापामा प्रचलित नै छ । भैंसी उधारो खरिद गरेर भैंसी बिक्री गर्ने साहुलाई लखेटेको अर्को फण्डा पनि बनिबनाउ चर्चा नहुन सक्छ ।

अस्पताल बनाउँदा खरिद गरेको निर्माण सामग्रीको बक्यौता नतिरेको त सञ्चारमाध्यममा व्यापारीले बारम्बार कैरन गरेको सार्वजनिक नै छ । टाढा बस्नेको लागि प्रसाईं माओवादीमा लागेको मिसाल लाग्न सक्छ । तर प्रसाईं माओवादीमा निहित उद्देश्यका लागि लागे जस्तो गरेका हुन् । उनको विगत जान्ने नजिकका सम्बन्धितहरू निजी स्वार्थको लागि हो भन्ने जगजाहेर छ ।

प्रसाईंले बैंक, सहकारी, लघुवित्तको शोषणलाई सार्वजनिक जानकारी र सतहमा ल्याएर राम्रो काम भने गरेका हुन् । यसरी नै राजस्वमारा, करमारा, माफिया केही व्यावसायिक घराना, भ्रष्ट राजनीतिज्ञको पोल खोलेर राम्रो गरेका छन् । पोल खोलेकै कारण उनीमाथि अभद्र व्यवहार पनि भयो ।

मर्ने बेलामा सिन्कोको पनि सहारा हुन्छ भन्ने त प्रख्यातै छ । प्रसाईं जे जस्तो हुन सुगाले मानिसको बोली टिपे पनि सान्त्वना हुन्छ भनिन्छ । प्रसाईंको वर्तमान भूमिका यति नै हो । वित्तीय संस्थाबाट पीडित समुदाय यसैकारण जे जस्तो संख्यामा होस्, उनको अभियानमा सहभागी भएकै छन् । जोगी, ढोंगी, कथित चमत्कारी बाबाहरूको पछिलाग्ने लस्कर भेटिने हाम्रो समाजमा प्रसाईंको पछि लाग्नुलाई अनौठो मान्नु पनि हुन्न ।

रहलपहल

विडम्बना जनताको यावत् समस्याबाट राजनैतिक दल, नेता बेखबर छन् । अनेकभाँतीका कुकर्म, अनियमितता, भ्रष्टाचार, बेथितिले घर गरेको समयमा प्रसाईंको कलाविहीन नाटक मञ्चन भएको हो । प्रसाईंको यो अभियानले पीडितलाइ न्याय दिने, उन्मुक्ति दिने वा यथार्थ निष्कर्षमा पुर्‍याउने शतप्रतिशत सम्भावना छँदैछैन ।

प्रसाईं उनले भने जस्तै कुनै भुइँमान्छे, सर्वहारा वर्गको मुक्तिदाता बिल्कुलै होइनन् । उनको वर्गीय आधार र चरित्रले पनि भुइँमान्छे र सर्वहाराको प्रतिनिधित्व गर्ने अनुमति दिंदैन । उनी बेलायती मिथकीय पात्र रविन हुड, ग्रीक मिथकका हर्कुलस र आधुनिक समयका अमेरिकन कमिक्सका पात्र स्पाइडर म्यान पनि होइनन् ।

यस्तो मिथक पात्रको प्रतिनिधित्व कल्पनाको संसारमा मात्र हुन्छ, वास्तविक भौतिक संसारमा हुँदैन । अलौकिक संसारमा मात्र होला । उनी बेलायती रविन हुड, ग्रीक मिथकका हर्कुलस र अमेरिकी कमिक्स स्पाइडर म्यानका कल्पनाका नक्कली डमी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?