+
+

वरिष्ठ सई पुरुषोत्तम नेपाली ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते ८:५९

१ कात्तिक, काठमाडौं । प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली नेपाल प्रहरीको ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’बाट सम्मानित भएका छन् ।

प्रहरी दिवसको अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीलाई सम्मान गरेका हुन् ।

सोलुखुम्बुको लुक्ला निवासी नेपाली नेपाल प्रहरीको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हुन् । उनले २०८० जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए । उनले नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को झण्डा पनि पहिलोपटक सगरमाथा शिखरमा फहराएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोका प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमलाई ‘पूर्ण शान्ति पुरस्कार’ र नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गा कुमार योञ्जनलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ पनि प्रदान गरेका थिए ।

यसैगरी चीनमा आयोजित १९ औं एसियन गेम्स अन्तर्गत कराते खेलमा रजत पदक जित्न सफल नेपाल पुलिस क्लबमा आवद्ध एरिका गुरूङ, कबड्डीमा कास्य पदक जिताउन सफल नेपाल पुलिस क्लबमा आवद्ध प्रहरी सहायक हबल्दार नितु गुरूङ, प्रहरी सहायक हवल्दार मानमती विष्ट र प्रहरी सहायक हबल्दार अर्पणा चौधरी तथा टि–२० क्रिकेट प्रतियोगितामा मंगोलिया विरूद्धको खेलमा ९ बलमा अर्धशतक (५० रन) पूरा गरी विश्व रेकर्ड कायम गर्न सफल भएका प्रहरी सहायक हबल्दार दिपेन्द्र सिंह ऐरीलाई प्रधानमन्त्री प्रचण्डले नगद तथा सम्मानपत्र प्रदान गरेका थिए ।

‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापासमेत सम्मानित भए । यसैगरी अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्यांकनमा सर्वोत्कृष्ट हुन सफल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङ प्रहरी व्याटन २०८० बाट सम्मानित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?