+
+
Shares

‘सगरमाथा चढ्दा हिलारी स्टेपमा अचानक लडेँ’

पुरुषोत्तम नेपाली पुरुषोत्तम नेपाली
२०८० असोज २७ गते २०:१३

म सगरमाथाको काखमा जन्मिएँ । सगरमाथाका कथा सुनेर हुर्किएँ । बुवा/हजुरबुवाहरु र मैले पढेको स्कुलका गुरु–गरुआमाहरु आरोहीका कथा सुनाउनुहुन्थ्यो । फलानो चुचुरोमा पुगेको, कोही बीचमै मरेको, कसैले विश्व रेकर्ड कायम गरेको, फलानोले फलानोलाई उद्धार गरेको आदि–आदि । त्यस्ता कथा सुन्दा त्यतिबेलाको मेरो बुझाइ– सगरमाथा कसैका लागि कष्टैकष्टको भण्डार भए पनि कसैका लागि भने हातमुख जोर्ने माध्यम थियो ।

मेरो बुवाको पसल थियो । स्थानीयवासीका लागि मात्र नभइ सगरमाथा आरोहणका लागि लुक्ला हुँदै आउ–जाउ गर्ने पर्यटकहरुको दैनिक उपभोग्यका सामान बेच्नुहुन्थ्यो । यही क्रममा मेरो संगत सगरमाथा चढ्ने तिनै पर्यटक र आफ्नो ज्यानको बाजी थापेर तिनै पर्यटकलाई चढाउने शेर्पाहरुसँग हुन थाल्यो । सगरमाथाका कथा र आरोहीको संगतले होला मेरो बाल मस्तिष्कमा पनि ठूलो भएर सगरमाथा चढ्ने रहर गढेर बस्यो ।

तर समयले मानिसलाई कहाँ–कहाँ पुर्याउँछ भनेजस्तो मलाई सगरमाथाको चुचुरोतिर उक्लिने होइन कि देशको राजधानी काठमाडौंमा पो ओराल्यो व्यापारको सिलसिलामा । बुवालाई व्यापारमा सघाउनु मेरो तत्कालको दायित्व र जिम्मेवारी बनेको थियो । त्यसैले केही वर्षसम्म हिमाल–पहाडको उकाली–ओराली जारी रह्यो ।

बुवालाई व्यापारमा सघाउँदा सघाउँदै २०६३ सालमा म नेपाल प्रहरीको जागिरे बनेँ । प्रहरी सेवामा रहँदारहँदै तराईसँग नाता जोडियो । बुवालाई व्यापारमा सघाउने सिलसिलामा हिमाल र पहाड बुझ्न थालेको म पछि हिमाल, पहाड र तराईको समष्टिगत नेपाल, सबैको साझा सुन्दर फूलबारीलाई चिन्न थालें ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको गाउँको हुँ भनेर पहिले आफूलाई चिनाउँदा ठाडो हुने मेरो शीर र गर्वले फूल्ने छाती, अब राष्ट्रसेवक सच्चा देशभक्त नेपाली हुँ भन्दा अझ बढी उचो र अझ बढी चौडा भएको थियो । प्रहरीको जागिर जीवन जिउने माध्यम थियो । तर भित्रभित्र सगरमाथा चुम्ने लक्ष्य र जोश कायमै थियो । व्यक्तिगत खर्चमै भए पनि सगरमाथा चढेरै छाड्छु भन्ने अठोट गरेको थिएँ । तर उमेर, खर्च, पारिवारिक र संगठनात्मक जिम्मेवारीको सीमाका कारण त्यो थाती नै थियो ।

सगरमाथा चढ्न नपाउँदाका पीडा र निराशाका क्षणमा कयौं बिरहका गीतसमेत कोरें । सगरमाथा चढ्ने मेरो हुटहुटी कलममार्फत् कपीमा पोखिए अनि तेन्जिङ–हिलारी, पासाङल्हामु, साहसिक शेर्पा दाजुभाइ र आफ्नै पालिका खुम्बुपासाङका गीत रेकर्डसमेत भए ।

मेरा अग्रजहरु भन्नुहुन्थ्यो– सगरमाथा आरोहण एक किसिमको कला र भाग्य पनि हो । यो एक युद्ध मैदानमा होमिएको जस्तै हो, जे पनि हुनसक्छ । तर जोखिम नमोली सफल भइँदैन भन्ने कुरा मैले सुरुमा तिनै सगरमाथा आरोहीहरुबाट र पछि प्रहरी संगठन भित्रका मेरा अग्रजहरुबाट सिकेको थिएँ ।

मैले एसपी सविन प्रधान सरलाई सगरमाथा आरोहण गर्ने मेरो इच्छाबारे पहिलोपटक बताएको थिएँ । उहाँकै आग्रहमा मैले सगरमाथा चढ्ने अनुमति माग्दै निवेदन दिएको थिएँ । तर लगत्तै कोरोना महामारी सुरु भएपछि आरोहण बन्द भयो । महामारी सकिएपछि फेरि प्रक्रिया अगाडि बढाएँ ।

सगरमाथा आरोहणको प्रस्ताव

श्रीमतीले मेरो बिदाइको तयारी गर्न थालिन् । मैले भने गलाको सिक्री, घडी र औंठी फुकालेर दराजमा राखें । किनकि मलाई तलमाथि भइहाल्यो भने कमसेकम यही बेचेर भए पनि खर्च चलाउन सजिलो होला भन्ने सोचें

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापना भएको एक सय वर्ष पुगेको अवसरमा हरेक सदस्य राष्ट्रहरुले केही न केही नयाँ काम गरेर मनाउने भनेर नेपाल प्रहरीलाई सर्कुलर भएको थियो । नेपाल प्रहरीको इन्टरपोल शाखा प्रमुख एसपी अनुपम शमसेर जंगबहादुर राणा हुनुहुन्थ्यो । उहाँसँग नेपालमा इन्टरपोलको शताब्दी वर्ष कसरी मनाउने भन्ने विषयमा छलफल भइरहेको थियो ।

नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भएकाले सगरमाथाको शिखरमा इन्टरपोलको, नेपालको र नेपाल प्रहरीको झण्डा फहराउने कुरा चल्यो । ती झण्डाहरु एकजना कुनै शेर्पा आरोहीलाई दिने र उसैले सगरमाथाको चुचुरोमा पुर्याउने भनेर केही सरहरुले प्रस्ताव राख्नुभयो ।

त्यहीबेला सविन सर र अनुपम सरले हाम्रै प्रहरीको भाइ छ, सगरमाथा चढ्छु भनेर अनुमति मागिरहेको छ, उसैलाई आरोहणमा पठाऔं न भनेर कुरा गर्नुभएछ । त्यतिबेलाका आईजीपीसाप धिरजप्रताप सिंहले स्वीकृति जनाइहाल्नुभयो ।

श्रीमती भन्थिन्– प्रहरी भएर यस्तो डरछेरुवा कुरा गर्ने ? उनी हिम्मतीली छिन् । आखिर उनी पनि त प्रहरी हुन् । उनी अनेक उदाहरण दिँदै मलाई अझ बढी आँट दिन्थिन् र मेरो हिम्मत बढाउँथिन् । त्यो बेला मैले श्रीमती साथीमात्र होइन, शक्ति पनि हुन् भन्ने कुरा अझ नजिकबाट बुझें ।

सविन सरले ‘सगरमाथा चढ्ने तिम्रो इच्छा पुरा हुनुभयो, अब तयारी थाल’ भन्नुभयो । मेरो मुटु झन् जोडले धड्किन थालेजस्तो भयो । म एकसाथ खुसी र दुःखी भएँ । दुःखी यसकारण कि म पनि त मान्छे हुँ । मेरो पनि मन छ । घरमा श्रीमती, साना छोरा–छोरी छन् । म भने आफूले आफैंलाई जीवन दाउमा लगाएर सगरमाथाको शिखर चुम्ने सपना देखेको छु  ।

खुसी यसकारण कि १५ वर्ष अघिदेखिको सगरमाथा चढ्ने मेरो इच्छा पुरा हुने दिन नजिकिएको थियो । अर्कोतर्फ मेरो प्रहरी संगठन र विश्वका १९५ देशका प्रहरी संगठनहरुको साझा संस्था इन्टरपोलले मलाई विश्वास गरेर सगरमाथा आरोहणका लागि पठाउने निर्णय गरिसकेका थिए । विश्वका १९५ देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि ऐतिहासिक र गौरवको विषय थियो ।

त्यसैले आफूमाथि आइलागेको जिम्मेवारी जसरी पनि पूरा गर्नुपर्छ भन्ने अठोट लिएर आरोहणको तयारीमा जुटें । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयदेखि पर्यटन बोर्डसम्म कागजी प्रक्रिया पुर्याउन दौडधुप गरेँ ।

अन्ततः २०७९ चैत २८ गतेको मन्त्रिपरिषद बैठकले मलाई आरोहण अनुमति दिँदै सलामी दस्तुर छुट दिने निर्णय गर्यो । २०७९ चैत ३० गते प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सगरमाथा आरोहणको सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र इन्टरपोलको झण्डा हस्तान्तरण गर्दै मलाई बिदाइ गर्नुभयो ।

यसबीचमा मैले निर्मल पुर्जा (निम्स दाइ)लगायतसँग सगरमाथा आरोहणको बारेमा सैद्धान्तिक ज्ञान हासिल गरिसकेको थिएँ । म सोलुखुम्बुमा जन्मिए पनि कुनै पनि हिमाल आरोहण गरेको थिइनँ ।

मलाई एकैपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको चुनौती थियो । आरोहण सफल र विफल हुँदाका सम्भावित घटनाका काल्पनिक दृष्य फिल्मका रिलझैं नाचिरहेका थिए ।

श्रीमतीसँग सोध्थें– कि नजाऔं हँ ?

श्रीमती भन्थिन्– प्रहरी भएर यस्तो डरछेरुवा कुरा गर्ने ? देशले, संगठनले दिएको जिम्मेवारी पूरा गर्नबाट कहिल्यै पछि हट्नुहुँदैन । हामीले कसैको नराम्रो गरेका छैनौं, कसैको नराम्रो चिताएका छैनौं भने हामीमाथि नराम्रो किन हुन्छ र ?

उनी हिम्मतीली छिन् । आखिर उनी पनि त प्रहरी हुन् । उनी अनेक उदाहरण दिँदै मलाई अझ बढी आँट दिन्थिन् र मेरो हिम्मत बढाउँथिन् । त्यो बेला मैले श्रीमती साथीमात्र होइन, शक्ति पनि हुन् भन्ने कुरा अझ नजिकबाट बुझें ।

२०८० वैशाख २ गते म काठमाडौंबाट सगरमाथा आधार शिविर प्रस्थान गर्ने दिन थियो । अघिल्लो दिन रातभर निद्रा लागेन । म बिहानै उठेँ । मस्त निद्रामा रहेकी अढाइ वर्षे छोरीको खुट्टा ढोगें । छोरोको अनुहार हेरेँ, ऊ पनि मस्त निद्रामा थियो । नित्यकर्म गरें अनि श्रीमतीलाई उठाएँ ।

श्रीमतीले मेरो बिदाइको तयारी गर्न थालिन् । मैले भने गलाको सिक्री, घडी र औंठी फुकालेर दराजमा राखें । किनकि मलाई तलमाथि भइहाल्यो भने कमसेकम यही बेचेर भए पनि खर्च चलाउन सजिलो होला भन्ने सोचें । तर श्रीमतीलाई यो कुरा भनिनँ । मात्र गहना राखेको ठाउँ भनेँ ।

उनले तेलको बत्ती बालिन् । मलाई टीका र खादा लगाइदिएर बिदाइ गरिन् । ‘उड्ने बेलामा र बेसक्याम्प पुगेपछि पनि फोन गर्नू, है’ उनले भनिन् ।

घरको सँघार काट्ने बेला फेरि पनि मन ढक्क फुल्यो । श्रीमतीको आँखामा धेरैबेर हेर्न सकिनँ । छोरी र छोरालाई अँगालोमा बेरेर चुमेँ । अनि आफ्ना व्यक्तिगत खुसी, चाहना, पारिवारिक मायालाई थाति राखी २०८० वैशाख २ गते बिहान ६ बजे काठमाडौंबाट केही विदेशी पर्यटकहरूसहित लुक्ला प्रस्थान गरेँ ।

लुक्लामा केही घण्टाको बसाइपछि हेलिकप्टरबाट नाम्चे पुगियो । हिमाली वातावरणमा आफूलाई अनुकूल बनाउन आमाडब्लम हिमालको बेस क्याम्पसम्म पुग्यौं । भोलिपल्ट पाङ्बुजे गुम्बा दर्शन र लामा गुरुबाट आशिर्वाद लिएर दिङबुजेतर्फ लाग्यौं ।

हरेक सगरमाथा आरोहीले आरोहण सुरु गर्नुअघि पाङ्बुजे गुम्बाको लामाबाट आशिर्वाद लिने परम्परा छ । पाङ्बुजेबाट ६/७ घण्टा लगातारको हिँडाइपछि दिङबुजे पुग्यौं । र, ५ हजार मिटर अग्लो नाकार्साङ हिमाल चढेर फर्कियौं ।

भोलिपल्ट लबुजेतर्फ लाग्यौं । लबुजेको बसाइँ अत्याधिक कष्टपूर्ण रहयो । किनकी म रातभरि सुत्न सकिनँ । मलाई गाह्रो भयो स्वास फेर्न । सबै सुतिरहेका थिए । मैले मेरो सहयोगी दिनेश शेर्पालाई खोजेँ तर भेटिनँ । मलाई अलि जटिल नै महसुस भयो । ३ बजे बिहान भरियाको टेन्टमा गएर पानी र मकै खाएँ ।  त्यहाँ १ घण्टा सुतेँ । अलि आराम भयो ।

बिहान गोर्क्षेप हुँदै बेस क्याम्प तर्फ लाग्यौं । सगरमाथा आरोहणको रूटमा पर्ने गोर्क्षेप अन्तिम बस्ती हो । हामी सगरमाथा बेस क्याम्पमा ३ बजे तिर पुग्यौं ।

विश्व विख्यात निम्स दाइ र मिङ्गमा डेभिड शेर्पाको टोलीले आरोहीहरूका लागि पहिल्यै टेन्टहरू तयार पारिसकेका थिए । हिउँले सेताम्य भुइँमा लहरै थपक्क बसेका रङ्गीचङ्गी टेन्टहरू मनमोहक देखिन्थे । टेन्टभित्र खान–बस्नका लागि सबै सुविधा थियो । सोलार, हिटर साथै इन्टरनेटको समेत सुविधा थियो । ती टेन्टहरू सुविधासम्पन्न होटलहरू भन्दा कम थिएनन् । तर जतिसुकै सेवा सुविधा भए पनि लगातार आइरहने हिउँपहिरो, हिमपात र परिवारको चिन्ताले सताइरहन्थ्यो ।

आधार शिविरमा बस्दा आरोहणका विभिन्न किसिमका तालिमका साथै लामो दुरी हिँड्नु पनि पर्छ । केही दिनको तालिम पछि आधार शिविरबाट लबुजे हिमाल आरोहणको लागि म लगायत ९ जना विदेशी साथीहरु हाई क्याम्पमा पुग्यौ । केही समय आराम गरेर रातको १२ बजे हाई क्याम्पबाट लबुजे हिमाल आरोहणको लागि निस्कियौं । हिउँले भरिएको भिरको बाटो डोरीको भरमा हिँड्न कठिन थियो । करिब १० घण्टाको हिँडाइ पश्चात् बिहानको १० बजे लबुजे हिमालको चुचुरोमा पुग्न सफल भयौं । हिमाल आरोहणको यो मेरो पहिलो अनुभव थियो ।

सगरमाथा आरोहणपूर्व एक पटक राउन्ड गरेर पुनः आधार शिविरमा फर्कनुपर्छ । आँट र साहस बटुलेर सहयोगी शेर्पा सहित रोटेशनका लागि रातको ११ बजे हिँड्यौं । हिउँका अजंगका ढिक्कामा कहिले डोरीको सहायताले उक्लिँदै, कहिले भर्याङले जोडिएका गहिरा खोंचहरु पार गर्दै अत्यन्त कठिन तवरले क्याम्प २ सम्म पुग्यौं ।

हिउँ नै हिउँको संसारमा क्याम्प १ मा जस्तै क्याम्प २ मा पनि दिउँसो घाम लागेको बेला असाध्यै गर्मी महसुस भयो । भिरालो ठाउँमा टेन्ट लगाएर बसियो । क्याम्प २ को टेन्टमा सामान्य बसाइ र खानपिनको व्यवस्था थियो ।

कठ्याङ्ग्रिँदै सयौंचोटी हिउँ नै खाएर प्यास मेट्दै यात्रा गरियो । मलाई हरेक पाइला यही नै अन्तिम होकि जस्तो लागिरहन्थ्यो । बल्लतल्ल थकित शरीर साउथकोलसम्म पुग्न सफल भइयो ।

भोलिपल्ट क्याम्प २ बाट क्याम्प ३ तर्फ लाग्यौं । बाटो उस्तै कठिन थियो । वेगले चल्ने हावाले मान्छेलाई नै उडाउला जस्तो । त्यहीभएर जोगिएर हिँड्नु पर्ने । क्याप ३ पुगिसकेपछि पुनः आधार शिविर फर्कियौं ।

आधार शिविर फर्किएपछि आफूले भोगेका कठिन यात्रा र परिवारको मायाले ज्यादै विक्षिप्त बनायो । छोरा–छोरी श्रीमतीको जिम्मा लगाएर घरबाट बिदा हुने बेला भनेको थिएँ– ल है बाँचेछु भने फर्की आउनेछु । नत्र यी छोराछोरीलाई कहिल्यै बाबाको कमी महसुस हुन नदिनू ।’

परिवार भनेको तागत मात्र नभई भावनात्मक अर्थमा कमजोर पनि त हो । त्यसैले घर छाडेको एक महिना पुगिसक्दा पनि मैले घरमा फोन गरेको थिइनँ । तर यसपटक भने फोन नगरीरहन सकिनँ ।

श्रीमतीलाई फोन गरेँ– म के गरूँ, फर्की आऊँ कि आरोहणको लागि अघि बढौँ ?

श्रीमतीले सम्झाइन्– तपाईंलाई नेपाल प्रहरीका ८० हजार कर्मचारीले विश्वास र भरोसाका साथ इन्टरपोलको झण्डा सहित पठाएका हुन् । उनीहरुको विश्वास तोड्नु हुँदैन । दुःख गरेर नै सफलता प्राप्त हुन्छ । पछि हट्ने सोच मनमा कहिल्यै नलिनुस् । हाम्रो चिन्ता लिनुपर्दैन । बस् आफूलाई सम्हालेर अगाडि बढ्नुस् ।

श्रीमतीका यस्ता कुराले मन अलि बलियो भयो । नेपाल, नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराएरै छाड्छु भन्ने प्रण गरेँ ।

आधार शिविरमा दुई दिनको तालिम र हाइकिङ पश्चात् सगरमाथा आरोहण सुरू भयो । म आरोहीहरूको पहिलो टिममा परें । यो अर्थमा म भाग्यमानी भएँ । किनभने आरोहणमा अघि–अघि बढ्दा बाटो जाम हुने समस्या हुँदैनथ्यो । मे १३ को दिन रातको १२ बजे पूजा गरीवरी मसहित नौ जनाको टोलीले आधार शिविरबाट सगरमाथाको चुचुरोतर्फ यात्रा सुरु गर्यो ।

हिम पहिरो गइराख्ने भएकाले खुम्बु आइसफल अत्यन्त जोखिम । डर र त्रास त्यत्तिकै । जटिलताको कुनै सीमा नै थिएन । तर टिम लिडरले सिकाउने र हिम्मत बढाउने काम गरिरहनुहुन्थ्यो । उहाँले सम्झाउँदा आफ्नै अभिभावक भन्दा कम लाग्दैनथ्यो ।

लगातार ११/१२ घण्टा हिँडेकोहिँड्यै गरेर क्याम्प १ पुग्यौं । केही क्षणमात्र आराम गरेर पुनः क्याम्प २ का लागि हिँड्यौं । क्याम्प २ बाट यात्रामा अझै बढी जटिलता सुरु भयो । हिउँ परिरहेको थियो । भिरालो बाटोमा टाँगिएको डोरीलाई बाटो मानेर त्यही डोरी समाउँदै हिँडिरहनुपर्ने, हावाको झोक्काले बेला–बेला हुत्याउलाझैं गर्ने, माथिबाट ढुंगा र हिउँका ढिक्का झरिरहने, हाई अल्टिच्युडले पाइला चाल्नै नसकिने र कहिलेकाहिँ आउने बादलले अगाडिको दृश्य पनि देख्न नसकिने हुन्थ्यो ।

८/१० घण्टा लगातारको हिँडाइपछि क्याम्प ३ पुग्यौं । हल्का भिरालो ठाउँमा हिउँलाई पन्छाएर राखिएका टेन्टहरुमा बस्यौं । अक्सिजनको प्रयोग यही क्याम्प ३ बाट नै सुरु भयो ।

हिलारी स्टेपमा म अचानक लडें । मेरो सहयोगी शेर्पा अलि अगाडि पुगिसकेका थिए । मेरो यात्रा यहीँसम्म मात्र रहेछ जस्तो लाग्यो । श्रीमती, छोरा–छोरी सम्झिएँ ।

क्याम्प ३ मा एक रातको बसाइँपछि बिहान साढे ५ बजे साउथ कोलतर्फ यात्रा तय गर्यौं । साउथ कोल ७ हजार ९ सय मिटर उचाइको क्षेत्र हो । माइनस ३० डिग्री सेल्सियस तापक्रममा कठ्याङ्ग्रिँदै सयौंचोटी हिउँ नै खाएर प्यास मेट्दै यात्रा गरियो । मलाई हरेक पाइला यही नै अन्तिम होकि जस्तो लागिरहन्थ्यो । बल्लतल्ल थकित शरीर साउथकोलसम्म पुग्न सफल भइयो ।

यो भन्दा माथिको क्षेत्रलाई डेथ जोन पनि भनिन्छ । त्योभन्दा माथिको ८ हजार ४ सय मिटर माथि हिलारी स्टेपसम्मको क्षेत्रलाई साउथ समिट बाल्कोनी भनिन्छ । यो क्षेत्र अझ बढी खतरनाक मानिन्छ । धेरैजसो आरोहीहरूको यही क्षेत्रमा ज्यान जाने गरेको छ । अत्यधिक आरोहीको मृत्यु यही क्षेत्रमा हुने गरेकाले यसलाई डेथ जोन भनिएको हो । यहाँबाट कसैलाई उद्धार गर्न असम्भवजस्तै हुन्छ भन्ने सुनेको थिएँ । तर निमा टासी शेर्पा र गेल्जे शेर्पाले यही साउथ कोल नजिकबाट एक जना मलेसियन आरोहीलाई सकुशल उद्धार गरेर चमत्कार गरेका थिए ।

डेथ जोन क्षेत्रमा पुराना च्यातिएका टेन्टहरु यत्रतत्र छरिएका थिए । अलि पर आँखा पुर्याउँदा मुढो लडिरहेको जस्तो पनि देखिन्थ्यो । शेर्पा दाजुभाइहरु भन्थे– त्यो मान्छेको लास हो । बेवारिसे लासले मन झनै सिरिङ्ग भयो ।

सगरमाथा क्षेत्रमा फोहोरको डंगुर छ भन्ने सुनेको/पढेको थिएँ,  यसपटक आफैंले देखेँ । अहिले नै त्यहाँ पुगेर ती सबै फोहोर सोहोरेर ल्याउँ जस्तो लाग्ने । तर ज्यान जोखिममा पारेर कसले पो गर्ने ! सधैं पानीपँधेरो गरे जसरी तलमाथि गरिरहने अनुभवी शेर्पाहरुले त गर्न नसक्ने काम म बबुरोले के सक्थेँ !

चुपचाप टेन्टभित्र बस्ने र ज्यान जोगाउनुको विकल्प थिएन । शेर्पाहरुले टेन्टभित्र हल्का सुप, नुडल्स र तातोपानीको व्यवस्था गरेका थिए । त्यही खाएर आराम गर्यौं । मौसम प्रतिकूल हुनसक्ने डरले रातिको २ बजै नै शेर्पा साथीहरुको निर्देशन बमोजिम पुनः उकालो यात्रामा निस्कियौं । रातिको बेला कहालीलाग्दो अनकन्टार हिउँचुलीको साँघुरो बाटो एउटा टर्चको भरमा हिलारी स्टेपतिर हिँडिरह्यौं ।

आफूले बोकेको अक्सिजन, शरीरमा लगाएको डाउनसुट र बुटमा लगाएको फलामको खरङ्पङले गर्दा पाइलो सार्न समेत यति गाह्रो हुन्थ्यो कि आफ्नो श्वास नै आफैँलाई भारी भएजस्तो पनि लाग्थ्यो ।

डाउनसुटमा क्र्याम्पोन्स अल्झिएर हिलारी स्टेपमा म अचानक लडें । मेरो सहयोगी शेर्पा अलि अगाडि पुगिसकेका थिए । मेरो यात्रा यहीँसम्म मात्र रहेछ जस्तो लाग्यो । श्रीमती, छोरा–छोरी सम्झिएँ आरोहण टोलीका शेर्पा साथीहरुले अब चुचुरोमा पुग्न धेरै समय लाग्दैन, आउनुस्’ भनेको सुनेँ । बल्लतल्ल डोरी समातेर उठेँ र अघि बढेँ ।

केहीबेर हिँडेपछि ध्वजा, पताका र खादाहरु थुपारिएको थुम्को देखियो । त्यही थियो सगरमाथाको चुचुरो, पृथ्वीमा पाइला टेक्न सकिने अन्तिम विन्दु । म २०८० साल जेठ २ गते बिहान १०:१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएँ । म दंग थिएँ । वरपर हेरेँ, असंख्य हिमालहरु अन्डाका क्यारेट जस्ता पुक्क उठेका देखिन्थे । तिनीहरुभन्दा त मै अग्लो जस्तो लाग्ने !

मेरो देशको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा सगरमाथाको शिखरमा फहराएँ । लामा गुरुले दिएको खादा र ध्वजा राखेर मेरो मातृभूमिलाई ढोगेँ अनि बुद्धको देशबाट विश्वमा शान्ति फैलिरहोस् भनेर कामना गरेँ ।

मलाई विश्वास गरेर आरोहणमा पठाउने मेरो प्रहरी संगठन र इन्टरपोलका सरहरुप्रति कृतज्ञ भएँ । उहाँहरुकै कारण मैले इतिहास रचेको थिएँ । किनकि नेपाल प्रहरीबाट सगरमाथा चढ्ने पहिलो व्यक्ति मै बनेँ र इन्टपोलको झण्डा पनि पहिलोपटक सगरमाथाको शिखरमा पुर्याउने अवसर पाएँ ।

सगरमाथाको चुचुरोमा अत्याधिक हावाको कारण १५ मिनेटभन्दा बढी बस्न सकिएन । आरोहण सफल भएको जोशमा म लगातार ओरालो बाटो हिँडेर क्याम्प २ मा पुगेँ । भोलिपल्ट बिहान ५ बजे आधार शिविरमा पुगियो । आधार शिविरमा धेरै साथीहरुबाट बधाई पाउँदा दंग थिएँ । श्रीमती, छोरा–छोरीसँग टेलिफोनमा कुरा गरेँ । उनीहरुलाई कहिले भेटौंजस्तो भयो । उनीहरुले पनि बधाई दिए, हर्षले मेरा आँखा रसाए ।

तर यो हर्ष अपुरो थियो । किनकी मलाई जन्म दिएर सतमार्गमा हिँड्न प्रेरित गरिरहने मेरा आमा–बुवा यो संसारमा हुनुहुन्न । उहाँहरु मलाई भन्नुहुन्थ्यो– इमान्दारीपूर्वक कर्म गरिरहनू, अवसर तँलाई खोज्दै आउने छ । मेरा आमा–बुवाले भनेजस्तै आज मसँग धेरै अवसर छ र त्योभन्दा बढी खुसी छ । तर यो खुसी बाँड्ने बुवा–आमा साथमा नहुँदा सबथोक अपुरो छ ।

(विनोद घिमिरेसँगको कुराकानीमा आधारित)

  

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?