+
+
Shares
सिनेमा-जगत :

जार : भएकै एउटा कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘जार’ कथा सन् १८०० को दशकको सत्य घटनामा आधारित इन्द्रबहादुर राईको कथा हो।
  • फिल्मले २०० वर्षअघिको नेपाली समाज र ‘जार प्रथा’ को ऐतिहासिक चित्रण गर्दछ।
  • फिल्मले पात्रहरूको मनोभाव र समाजको रहनसहनलाई कलात्मक र अर्थपूर्ण तरिकाले प्रस्तुत गरेको छ।

‘हर्षजित अब हामी तँलाई सोध्छौँ, रुद्रमान तेरो जार भयो । अब यसलाई के गर्छस्  ?’

हर्षजित रौद्र भावमा भन्छन्, ‘यसको उत्तर मैले दिनुपर्दैन । गोर्खाराजको जे हुकुम छ ।’

यसको सोझो हिसाब के भने, हर्षजित आफ्ना जार भनाउँदा रुद्रमानको गर्दन काट्न चाहन्छ । त्यो पनि लखेट्दै–लखेट्दै । रीत नै यस्तै छ ।

यो कथा हो २०० वर्ष अघिको । र, कथा हो जार काट्ने प्रथाको । यद्यपि यसभित्र अरु पनि थुप्रै कथाव्यथा छन् ।

कथामा प्रवेश गर्नुअघि ‘जार प्रथा’ बुझ्नुपर्ने हुन्छ । एकताका कस्तो थियो भने कसैकी श्रीमती ललाइफकाइ भगाउने वा शारीरिक सम्पर्क गर्ने व्यक्तिमाथि गम्भीर दोष लाग्थ्यो । दोषीलाई सम्बोधन गर्ने वैरी शब्द थियो–जार ।

जारले सहजै उम्कन पाउँदैनथे । उनलाई पहिलो श्रीमानले च्वाट्टै काट्न पाउथे । सोच्नुहोस् त, भद्रभलाद्‍मीको अगाडि जल्दोबल्दो पुरुषको शीर छेदन भएको दृश्य कस्तो हुँदो हो? भलै यसलाई अन्तिम विकल्पको रुपमा अपनाएको किन नहोस् ।

पैतला चाट्ने, टाङमुनि छिर्ने, डाँडा कटाउने कुरा पनि छँदै थियो । थाहा छैन, कति जार यसरी काटिए ? इतिहासको एउटा खण्ड साक्षी छ । यसले थुप्रै सबुत आफैंसँग लुकाएको छ ।

केही साताअघि प्रदर्शनमा आएको फिल्म ‘जार’ इतिहासको त्यही कालखण्डलाई चिहाउने सानो झ्याल हो ।

यति भूमिका बाँधेपछि अब लागौँ फिल्मतर्फ । फिल्मतर्फ लाग्नुअघि भन्नैपर्छ, यो इन्द्रबहादुर राईको कथाको हुबहु दृश्य रुपान्तरण हो । कथा हो, ‘जार : भएकै एउटा कथा’ । कथाकार राईले सन् १८०० को दशकमा घटेको एउटा सत्य घटनालाई आधार बनाएर सो कथा लेखेको बताइन्छ ।

फिल्मको कथा सुरु हुन्छ, एउटा कलात्मक दृश्य र ध्वनिबाट । क्षितिजसँगै मिलेको तलाउको पल्लो किनारबाट मान्छेहरूको सानो झुन्ड देखापर्नुअघि घण्टीको एकनास ‘टिङ–टिङ’ ध्वनि सुनिन्छ ।

त्यो ध्वनि खच्चड÷घोडको हो, जसलाई भारी बोकाएर मान्छेहरू कतैबाट आइरहेका देखिन्छन् । यस्तो लाग्छ, तिनीहरू झिटीगुन्टासहित कतै लामो यात्रा तय गरिरहेका छन् । यहीबाट सुरु हुन्छ अनौठो प्रेम र घृणाको कथा ।

कथाले हामीलाई चानचुन दुई सय वर्षअघिको पूर्वी नेपालमा पुर्‍याउँछ ।

त्यो पहाडमा गण्डक क्षेत्रबाट बसाईं सरेर गुरुङ परिवार आइपुग्छन् । उनीहरू पहिले नै चिनजानका मगर परिवारको छिमेकी बनेर बस्छन् । गुरुङ र मगर परिवारको यो निकटताले एउटा प्रेमको बिजारोपण हुन्छ । मगरकी छोरी ठूलीलाई गुरुङका जेठो छोरो रुद्रमान औधि मन पराउँछन् । तर धित मरुञ्जेल माया पिरतीको कुरा गर्न नपाई पल्टने जवान रुद्रमान आफ्नो ड्युटीमा खटिएर इलामगढीतर्फ लाग्छन् ।

ठिक यही अवधिमा दुई परिवारको सम्बन्ध नयाँ मोडमा प्रवेश गर्छ । र, त्यो सम्बन्धले ठूली र रुद्रमानको प्रेममा भाँजो हाल्छ । घटनाक्रम यतिमै रोकिँदैन । ठूलीलाई अर्का जवान हर्षजितले विवाह गरेर लैजान्छन् । के ठूली हर्षजितसँग राजीखुसी बाँचेकी छिन् ?

यही प्रश्नको विरोधाभाषपूर्ण जवाफलाई फिल्ममा रहस्यमयी ढंगले चित्रित गरिएको छ । ठूली धेरै बोल्दिनन् । तर, नबोलेर धेरै कुरा भन्छिन् । उनी के भन्छिन् ? त्यो उनको रसिलो आँखा, उदास अनुहार र सन्देहको मुद्राले सरासर भन्छ । यद्यपि आवरणमा सबैकुरा ठिकठाक देखिन्छ । यस्तो लाग्छ, उनको जिन्दगीमा त्यस्तो कुनै आँधीबेहरी छैन जति मनमा चलेको छ ।

एक रात पूर्व प्रेमी रुद्रमान उनलाई खोज्दै आइपुग्छन् र एकान्तमा मौका छोपेर अनेक कुरा भन्छन् । त्यसपछि त ठूलीको जिन्दगीमा ठूलै हलचल आउँछ । सोच्दै नसोचेको कुराहरू भोग्नुपर्ने हुन्छ ।

अवस्था कतिसम्म कठोर बनिदिन्छ भने, ठूलीले अब सबैकुरा छाड्नुपर्ने हुन्छ । आफ्नो पहिलेको श्रृंगार, घरबार, जात, परिवार र समाज । रुद्रमान जार बनेर आएपछि ठूलीको जीवन थोत्रो डुंगामा यात्रा गरिरहेको माझीको जस्तो हुन्छ, जहाँ समुन्द्री तुफान आउनेवाला छ ।

तब ठूली जिन्दगीको निचोडमा पुगेर यसो भन्छिन्, ‘हामी कसैको पनि आफूले चाहेजस्तो जीवन नहुँदो रहेछ । कता-कताबाट कसैले बिगारिदिनेरहेछ । अरुले घरीघरी बिगार्दै लग्यो । बिगार्दै बिगार्दै अन्त्यमा जे रहन्छ, त्यही जीवन रहेछ ।

……………

फिल्मले चित्रमालामा ऐतिहासिक कालखण्ड समेट्दै हामीलाई पुरानो युगतर्फ धकेल्छ । अनि एउटा परिवार बसाइँ सरिरहेको दृश्यबाट कथाको विस्तार गर्छ ।सरसर्ती कथा घतलाग्दो छ, जसले ‘जार प्रथा’ जस्तो एक जटिल सामाजिक व्यवस्था र त्यसभित्रको मानवीय मूल्यहरू खोतल्छ ।

यस कथाको फेरो समात्न चानचुन २०० वर्षअघिको समाजमा फर्कनुपर्ने कुरा अझ चाखलाग्दो छ । त्यसैले इन्द्रबहादुर राईको कथा ‘जार : भएकै एउटा कथा’ मन हल्लाउने र मन छुने खालको छ । यही कथालाई टपक्क टिपेर फुर्वाछिरिङ लामाले बनाएको फिल्म हो, जार ।

फिल्मको दृश्यांश कलात्मक र अर्थपूर्ण बनाउने प्रयास गरिएको छ । क्यामेराले पात्रलाई पछ्याएको छ र पात्रको मनोदशालाई गतिशिलता दिएको छ । ध्वनि र रङ संयोजनले त्यसलाई अझ बेजोड बनाएको छ । पार्श्व ध्वनिले वर्षौ पुरानो नेपाली समाज र परिवेशको जीवन्त झल्को दिन्छ ।

तर, यहाँ बिझाउने कुरा भनेको त्यसबेलाको समाजको रहनसहन, बोलीचाली, पहिरन शैलीबारे सुक्ष्म अवलोकन गर्न नसक्नु हो । पात्रहरूले लगाउने पहिरन, उनीहरूले बोल्ने शैली र रहनसहनले वर्षौं अघिको नेपाली समाज अनुभूत गराउँदैन । समयसँगै मान्छेको जीवन पद्धति र उनीहरूको मनोभावहरू फरक हुन्छ । फिल्ममा यस्तो फरकपन देखाउन सकिएको छैन ।

सबैभन्दा अलमल भने मूलकथामा छ । स–सना उपकथामा अल्झिएको फिल्मले मूलकथालाई गहिराइमा र एउटै लयमा लान सक्दैन । जारप्रथाको सिलसिलाबद्ध कथा भन्दा त्यसले उत्पन्न गर्ने मनोवैज्ञानिक प्रभावमा बढी केन्द्रित भएको छ ।

फिल्मको अन्त्यतिर मृत्युले लखेट्दै खोलको बगरमा पुर्‍याएको त्यो जोडीलाई अर्को आपत आइलाग्छ, जब सामुन्नेमा अजंगको बाघ देखापर्छ । यसरी दोहोरो संकट सिर्जना गरेर फिल्मको उत्कर्षलाई जति जोडदार बनाइएको छ, उत्तिकै शानदार र प्रेमिल पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?