+
+

अब मर्दी हिमालसँगै खुमैं, कोर्चाङ ट्रेकिङ जान शुल्क बुझाउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते २०:३५

१० कात्तिक, पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आफ्नो पालिकाभित्रका पदमार्गमा आउने पदयात्रीबाट शुल्क उठाउने भएको छ । पदमार्गको पूर्वाधार विकास गर्न पदयात्रीबाट शुल्क उठाउने निर्णय गाउँ सभाले नै गरेको कार्यपालिका सदस्य राम गुरुङले जानकारी दिए ।

पालिकाभित्र पदयात्रा गर्न आउने विदेशी पदयात्रीलाई ५ सय र नेपाली पदयात्रीलाई १ सय रुपैयाँ तोकिएको छ । ‘यो यही हप्ताभित्रै लागू हुन्छ । पहिलो चरणमा मर्दी र खुमैंडाँडा पदमार्गमा शुल्क उठाउँदैछौं,’ उनले भने ।

हाललाई कागजी रसिद नै काटिने र केही समयपछि डिजिटल ट्रेक कार्ड बनाउने गरी योजना अघि बढेको गाउँपालिकाले जनाएको छ । ‘पदमार्गको पूर्वाधार विकास, संरचना निर्माण, सूचना केन्द्र स्थापना गर्न पनि शुल्क उठाउनुपर्ने बाध्यता भयो,’ गुरुङले भने, ‘यसबाट पदयात्रीको एकीन तथ्यांक संकलन हुने र त्योअनुसार काम र योजना बनाउन पनि सजिलो हुने विश्वास छ ।’

माछापुच्छ्रे गाउँपालिकाको माछापुच्छ्रे मोडल ट्रेल (मर्दी हिमाल पदमार्ग)सहित ग्रेट माछापुच्छ्रे ट्रेल (खुमैं–कोर्चाङ पदमार्ग) र तारा–हिलटप पदमार्ग पछिल्लो समय पदयात्रीको सर्वाधिक रोजाइँमा पर्दै आएको छ ।

माछापुच्छ्रे मोडल ट्रेलका लागि मर्दी हिमाल हुमाल (लोक्याम्प)मा र खुमैं–कोर्चाङ पदयात्राका लागि लुब्रकुमा शुल्क उठाउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । ‘ताराहिलटप अहिले प्रोमोसनकै फेजमा रहेकाले केही समय त्यहाँ शुल्क नउठाउने निर्णय भएको छ,’ गुरुङले भने ।

गाउँपालिकाभित्र रहेका पदमार्गमा शुल्क उठाउने निर्णय हालैको गाउँसभाले गरेको थियो । उक्त गाउँसभाबाट पारित आर्थिक ऐन २०८० को अनुसूची ६(७)अनुसार गाउँपालिकाले पदयात्रीबाट शुल्क उठाउन लागेको हो ।

मर्दी हिमालमा वार्षिक अनुमानित ३५ हजार पदयात्री पुग्ने गरेको गाउँपालिकाको भनाइ छ । त्यसमध्ये मर्दी पुग्ने विदेशी पदयात्रीको संख्या अनुमानित ७ हजार छ ।

तर, खुमैं–कोर्चाङ पदमार्गमा भने पदयात्री जान थालेको करिब २ वर्षमात्रै भएकाले एकीन तथ्यांक नभएको गुरुङले सुनाए । उनका अनुसार यो वर्ष मर्दी हिमाल पुग्नेमा नेपालीभन्दा विदेशी धेरै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?