+
+

लुम्बिनीबाट गुटेरेसको सन्देश : युद्धग्रस्त मुलुक शान्तिको बाटो अवलम्बन गर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १३:२८

१४ कात्तिक, काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन् ।

गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई खुसी लागेको भन्दै गुटेरेसले युद्धरत मुलुकलाई शान्तिको बाटोमा लाग्न आग्रह गरेका हुन् ।

उनले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण भएको बताए ।

गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्रै नभएर शान्ति र सद्भावको केन्द्र समेत रहेको बताए ।

प्रचण्डले राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणले विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह भएको भन्दै ऐतिहासिक स्थलको भ्रमणका लागि गुटेरेसलाई धन्यवाद दिए ।

उनले संयुक्त राष्ट्रसंघ लामो समयदेखि लुम्बिनीको विकाससँग जोडिएको बताए ।

राष्ट्रसंघको पहलमा नै लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गरिएको भन्दै प्रचण्डले विश्व मञ्चमा यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई मान्यता दिएको बताए ।

प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने प्रयासमा रहेको भन्दै शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको बाँकी काम चाँडै टुंग्याउने बताए ।

उनले त्यसका लागि अन्तर्राष्ट्रिय समुदायको सद्भाव र समझदारी आवश्यक रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?