+
+

टी-२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध मलेसियाको सान्त्वना जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १६:५४

१६ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटको फाइनलमा मलेसियाले सान्त्वना जित हात पारेको छ ।

यसअघि नै सेमिफाइनल पुग्ने संभावना सकिएको मलेसियाले बहराइनलाई ६० रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९८ रन बनाएको थियो ।

१९९ रनको लक्ष्य पछ्याएको सिंगापुर १७.५ ओभरमा १३८ रन बनाउँदै अलआउट भयो । सिगापुरका लागि कप्तान अरित्र दत्तले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले ।

रोहन रंगराजनले ३६ र अनिस परामले ३१ रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

मलेसियाका लागि मोहम्मद अमिरले सर्वाधिक ५ विकेट तथा पवनदिप सिंहले २ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको मलेसियाका लागि सर्विन मुनिअन्दीले सर्वाधिक ६० रनको अविजित पारी खेले । दोस्रो विकेटका लागि शार्विन मुनिअन्दी र जुबैदी जुल्किल्फेको ६८ रनको अर्धशतकीय साझेदारी निकै महत्वपूर्ण रह्यो । जुबैदी ३८ रनमा थिलाप्पनको बलमा बोल्ड भए ।

तेस्रो विकेटका लागि मुनिअन्दी र मोहमद फैजले ९२ रनको साझेदारी गरेका थिए । मुनिअन्दी ४८ बलमा ८ चौकासहित ६० रनमा नटआउट रहे ।

सिंगापुरका रमेश कलिमुथुले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । जनक प्रकाश र थिलिप थिलाप्पनले एक एक विकेट लिए ।

तीन खेलमा अघिल्ला २ खेल हारेको मलेसियाका लागि प्रतियोगिताको यो पहिलो जित हो । मलेसिया पहिलो खेलमा ओमनसँग ३२ रन र घरेलु टिम नेपालसँग ६ विकेटले पराजित भएको थियो ।

यो हारपछि सिंगापुर भने प्रतियोगिताबाट जितविहीन बन्दै घर फर्कने छ । सिंगापुर पहिलो खेलमा नेपालसँग ८ विकेट र ओमनसँग २२ रनले पराजित भएको थियो ।

यो समूहबाट ओमान समूह विजेता र घरेलु टोली नेपाल उपविजेता बनेर सेमिफाइनलमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?