+
+

टी-२० विश्वकप छनोटमा उदाएका विवेक

नमिता दाहाल नमिता दाहाल
२०८० कात्तिक २२ गते १९:३५

२२ कात्तिक, काठमाडौं । नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट हुँदा उदाएका खेलाडी हुन्– विवेक यादव ।

टी-२० विश्वकप छनोटका ३ खेलमा मात्र ४२ रन बनाएका उनले त्यसैमध्येको एक खेलमा बलिङ गरेर १ विकेट हात पारेका थिए ।

पूर्व क्रिकेटर शरद भेषावकरले उनलाई ‘फाइन्ड अफ दि टुर्नामेन्ट’ अर्थात् प्रतियोगिताबाट भेटिएका उदीयमान खेलाडी भन्ने उपनाम दिए ।

प्रशिक्षक मोन्टी देसाईले पनि नेपाली टिममा थपिएको एक आशलाग्दा खेलाडी भन्दै विवेकको तारिफ गरे ।

समूह चरणको अन्तिम खेलमा उनले ओमान विरुद्ध ३९ रन बनाएका थिए । १४६ रनको लक्ष्य पछ्याएको नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको बेलामा सुरुका ३ बलमा छक्का हानेर विवेकले नेपाललाई जित नजिक पुर्‍याएका थिए ।

त्यो ३ छक्का विवेकको करिअर लाइमलाइटमा आउने एउटा टर्निङ भयो । उनी भन्छन्, ‘त्यो बेला धेरै सोच्ने मौका र समय थिएन । मैले अभ्यास खेलमा त्यही सटहरू अभ्यास गरेको थिएँ, त्यही कुरा खेलमा गरें ।’

१२.४ ओभरमा गुल्सन झा आउट भएपछि आठौं नम्बरमा ब्याटिङमा आएका उनी २४ बलमा ५ छक्काको मद्दतमा ३९ रन बनाएर अन्तिम ओभरको चौथो बलमा क्याच आउट भएका थिए । बिलाल खानको बलमा उनी आउट हुँदा नेपाललाई जितका लागि ३ बलमा ७ रनको खाँचो थियो ।

यो खेलमा नेपाल ५ रनले पराजित भयो । तर विवेकलाई अबका दिनमा यस्तो स्थितिमा नेपाललाई जिताउने आत्मविश्वास बढेको छ । ‘३ बलमा ७ रन चाहिंदा पनि मैले जिताउन सकिनँ’ विवेक भन्छन्, ‘अर्को पटक त्यस्तो अवस्था आयो भने चाहिं मैले जिताउने छु ।’

उनको प्रदर्शन ब्याटिङमा मात्रै कायम रहेन फाइनल खेलमा ओमान विरुद्ध कप्तान जिसन मक्सुदको विकेट लिएपछि उनी अझै चर्चामा आए ।

‘फाइनलमा ब्याटिङमा चुकें तर बलिङमा मैले गरेर देखाउने मौका थियो’ उनले सुनाए, ‘११/१२ ओभरमा फिल्डिङ गरिरहँदा मोन्टी सरले मलाई किपर माथिबाट बल फाल्न सक्छौ भनेर सोध्नुभयो, मैले सक्छु भनेपछि रोहित दाइले मलाई बलिङको लागि तयार होऊ भन्नुभएको थियो ।’

उनले नभन्दै १४औं ओभरमा बलिङ गर्ने अवसर पाए । त्यो ओभरमा ६ रन मात्र दिएका उनलाई कप्तान रोहितले १६औं ओभरमा पनि बल थमाए । त्यो ओभरको दोस्रो बलमा ओमानका कप्तान जिसन मक्सुदलाई रोहित पौडेलको हातबाट विवेकले क्याच गराए ।

विवेकले त्यो कुनै पनि अन्तर्राष्ट्रिय प्लेटफर्ममा लिएको पहिलो विकेट थियो । ‘थाहा नै नपाई मैले सेलिब्रेट गरें, आफैं भित्रबाट आयो । मैले खुसी मनाउन खोजेको थिइनँ, खेलको माहोल त्यस्तै थियो’, उनले विकेट लिएपछिको क्षण सम्झे । त्यो खेलमा उनले दुई महत्वपूर्ण क्याच पनि लिएका थिए ।

ओमान विरुद्ध समूह चरणको खेलमा गरेको ब्याटिङ र फाइनलमा दुई ओभर मात्रै गरेको बलिङबाट विवेक यादवले आफू ब्याटिङ अलराउन्डर हो भन्ने प्रमाणित गरे ।

टिमलाई चाहिने रोल अनुसारको प्रदर्शन गर्नुपर्छ भन्ने बुझेको बताउने उनी भन्छन्, ‘मलाई ब्याटिङ धेरै मन पर्छ । म ब्याटिङ अलराउन्डर भन्ने लाग्छ तर टिमले मलाई जे रोल दिन्छ, म त्यो गर्न सधैं तयार हुन्छु ।’

ओमानसँगको फाइनल हारे पनि नेपाल त्यसअघि सेमिफाइनलमा यूएईलाई हराउँदै आउँदो वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकपमा पुगिसकेको थियो । २०१४ मा बंगलादेशमा भएको विश्वकप टेलिभिजनमा हेरेर हुर्किएका विवेकको लागि २०२४ को विश्वकप खेल्न पाउनु सपना साकार भएको क्षण थियो ।

‘२०१४ मा टेलिभिजनमा देखेको थिएँ । मेरो सानैदेखिको सपना थियो, म पनि कुनै दिन विश्वकप खेलौं’ उनले भने, ‘म नै सहभागी भएको प्रतियोगिताबाट नेपाल विश्वकपको लागि छनोट भयो ।’ सन् २०१४ मा पहिलोपल्ट टी–२० विश्वकप खेलेको नेपाल त्यसको १० वर्षपछि विश्वकपमा पुगेको हो ।

भारतमा गरेको प्रशिक्षणको नतिजा

टी–२० विश्वकप छनोट हुनुअघि नेपालले चीनमा भएको एसियन गेम्सको क्रिकेट पनि खेलेको थियो । एसियन गेम्सकै तयारीका लागि भनेर राष्ट्रिय टिमका ६ जना खेलाडी भारतमा प्रदिप साहुको क्रिकेट एकेडेमीमा प्रशिक्षणका लागि गएका थिए ।

जसमा विवेक पनि थिए, ‘हामीले राम्रो अभ्यास गर्‍यौं, टी–२० सोचेर नै हामी गएका थियौं । त्यहाँ राम्रो तयारी भयो ।’

त्यो प्रशिक्षणले गर्दा आत्मविश्वास बढेको विवेक बताउँछन् । ‘आईपीएल, रणजी ट्रफी खेल्ने खेलाडीहरूसँग अनुभव साट्ने मौका भयो’ उनले भने, ‘क्यानले हामीलाई भारत पठाउँदा एकदमै राम्रो भयो ।’

विवेकले चीनमा भएको एसियन गेम्सका लागि नेपाली टिममा पुनरागमन गरे । उनी बन्द प्रशिक्षणमा टिमसँगै रहे । टिममा परे पनि एसियन गेम्समा खेल्न नपाएका उनलाई टिमको आनीबानी र व्यवहारसँग घुलमिल हुन चीन भ्रमण उपयोगी भयो ।

‘एसियन गेम्समा टिमसँग बसें । त्यतिबेला मेरो कमब्याक पछिको पहिलो क्याम्प थियो’ यसअघि एकदिवसीय फर्म्याटको लागि राष्ट्रिय टोलीमा रहेका उनले सम्झे, ‘यसपालि प्रशिक्षकले पनि पहिल्यै भन्नुभएको थियो । म पनि पहिलादेखि नै तयार थिएँ ।’

प्रशिक्षक मोन्टी देसाईको आगमनपछि सुरु भएको ह्याप्पी ड्रेसिङ रुमको अवधारणा विवेकले चीनमा महसुस गर्न पाए । ‘ह्याप्पी ड्रेसिङ रुम भित्र मानसिक कार्यहरू गराइन्छ । नामै काफी छ । हामी सबै खुसी हुन्छौं । क्रिकेट बाहेकका कुरा पनि हामी त्यहाँ गर्छौं’, उनले भने ।

उनले प्रेसरमा टिमलाई कमब्याक गराउन अभ्यास गरेका छन् । ‘ओमानसँगको खेलअघि प्रशिक्षकहरूको सहयोगमा सटहरू अभ्यास गरें आफूमा आत्मविश्वास ल्याएँ । त्यस्ता सटहरू अभ्यास खेलमा नै मैले १५/२० पटक अभ्यास गरिसकेको थिएँ ।’

टी–२० विश्वकप छनोटका लागि नेपाली टिमले भारतको राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गरेको थियो । त्यो प्रशिक्षणले उनको क्षमता अझै तिखा¥यो । ‘मैले राजस्थान रोयल्सको क्याम्पदेखि नै क्वालिटी प्राक्टिस गरिरहेको थिएँ’ उनले भने, ‘यो अवस्थामा के हुन्छ ? कसरी गर्ने ? भनेर तयारी गरिरहेको थिएँ ।’

विवेक खेल्न त दुवै फर्म्याट खेल्छन् तर उनलाई विशेषतः टी–२० फर्म्याट मन पर्छ । उनलाई प्रशिक्षक देसाईले टी–२० फर्म्याटका लागि जोड गरेका छन् । ‘प्रशिक्षक सरले पनि टी–२० का लागि जुन नम्बरमा ब्याटिङ छ त्यही अनुसार तयार हुन भन्नुभएको थियो’, विवेक भन्छन् ।

इन्जुरीमाथि इन्जुरी

संयोग नै भन्नुपर्छ ओमानसँगको खेलबाट चम्केका विवेकले सन् २०२२ को फेब्रुअरी ११ मा ओमान विरुद्धको खेलबाटै टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए ।

‘२०२२ मा डेब्यू गर्दा मेरो पहिलो प्रतियोगिता थियो । नेपालका लागि त्यतिबेला खेल कम पाएँ । पाएको मौकामा मैले खेल्न सकिनँ ।’ उनीसँग अन्तर्राष्ट्रिय खेलको केही पनि अनुभव थिएन । त्यसपछिका ५/७ महिनामा उनले धेरै कुरा सिक्न पाए । ‘अन्तर्राष्ट्रिय क्रिकेट कस्तो हुन्छ भनेर सिकें, घरेलु मात्रै खेलिरहेको थिएँ ।’

अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बटुल्ने क्रममा उनी घाइते भए । गत भदौमा केन्यामा फाइनल खेलमा फिल्डिङ गर्दा उनको घुँडामा चोट लाग्यो ।

उनी सम्झन्छन्, ‘त्यसपछि लगातार इन्जुरी भइरह्यो । घुँडामा सञ्चो हुँदा एङकलमा इन्जुरी भइरह्यो ।’

राष्ट्रिय तथा घरेलु प्रतियोगिता खेल्दा उनको एङकलमा समस्या भएको थियो । ‘पछिल्लो सिजनको पीएम कप (प्रधानमन्त्री कप) मा मैले जबरजस्ती खेलें । प्रदर्शन गर्न सके राष्ट्रिय टिममा फर्कन्छु भन्ने आश थियो, तर झन् मलाई गाह्रो मात्रै भयो ।’

विवेक गत ६ महिनायता टिममा थिएनन् । घरेलु प्रतियोगिता पनि नभएको अवस्थामा टिममा फर्कन्छु कि फर्कन्न भन्ने उनलाई ठूलो चिन्ता थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट केही समय पर भए पनि उनी आफ्नो रिकभरी र पुनः क्रिकेटमा फर्किने दिनको प्रतीक्षामा थिए ।

क्यानले एकदिवसीय क्रिकेटका बेलामा पनि विवेकलाई प्रशिक्षणका लागि बोलाउँथ्यो, तर एक हप्तामा उनी टिमबाट बाहिर हुन्थे ।

‘फिट हुन खोजिरहेको थिएँ । एकपछि अर्को इन्जुरी भइरहेको थियो त्यतिबेला परिवारको बाहेक कसैको समर्थन थिएन’ उनी भन्छन्, ‘तर बाबा (वीरेन्द्र यादव)ले धेरै नै समर्थन गर्नुहुन्थ्यो, म यहाँसम्म आइपुग्नुमा बाबाको समर्थनको ठूलो हात छ ।’

विवेकको क्रिकेट यात्रा

सप्तरी, राजविराजका विवेक सानोमा रमाइलोको लागि खेत तथा गल्लीमा क्रिकेट खेल्थे । ‘स्कुलमा खेल्थें तर खासै चासो लिएर खेल्दिनथें’ क्रिकेट यात्राको स्मरण गर्दै उनले सुनाए, ‘२०७२ को भूकम्पको बेलामा स्कुल बन्द भयो । त्यसपछि धेरै खेल्न थालें ।’

खेतमा साथीहरूसँग राम्रो खेलेको देखेर उनलाई गाउँले दाजु अनिल यादवले राजदेवी राइजिङ क्रिकेट एकेडेमीमा लिएर गए । तर उनी एकेडेमीबाट भागेर पुनः खेतमा खेल्न पुग्थे ।

‘अनिल दाइले एकेडेमीमा लिएर जानुभयो तर मलाई मन परेन, एक महिनासम्म ब्याटिङ नपाउने, बलिङ पनि नपाउने, बाहिर फिल्डिङ मात्रै गराउने, म एकेडेमी जानबाट भाग्थें ।’

कक्षा ६ मा पढ्ने बेलादेखि क्रिकेट खेल्न थालेका विवेक यू–१९ टिम हुँदै सातौं राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलको सिनियर टिममा थिए ।

त्यसपछि यू–१६ को प्रशिक्षणमा बोलाए पनि वैकल्पिक खेलाडीमा परेका थिए । त्यसअघि, उनले कक्षा १० मा पढ्दा प्रदेश–२ बाट आठौं राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

आठौं राष्ट्रिय खेलेपछि भने उनले नेपालको यू–१९ राष्ट्रिय टिममा अवसर पाएका थिए ।

सन् २०२१ मा नेपालको यू–१९ टिममा परेपछि सबैको आँखामा परेका विवेकले गत वर्षको प्रधानमन्त्री कप र एभरेष्ट प्रिमियर लिग ईपीएलमा पोखरा राइनोजबाट खेल्दै आफ्नो कौशल देखाए । स्टार खेलाडीले खराब प्रदर्शन गरिरहँदा ईपीएलमा विवेक एकनासको प्रदर्शन गर्न सफल भए ।

विवेकले प्रशिक्षक पुबुदु दासानायकेको मन जित्दै राष्ट्रिय टिमको ढोका खोले ।

‘नेपाल टिममा डेब्यू गरे पनि प्रदर्शन राम्रो भएन । त्यसपछि मैले सिकें अन्तर्राष्ट्रिय क्रिकेट सहज छैन । जति मिहिनेत गर्थें, डबल–त्रिपल मिहिनेत गर्न थालें ।’ त्यही मिहिनेतको रंग आज विवेकको नामको चर्चा हो,  यो चर्चालाई न्याय गर्न अझ धेरै मिहिनेत गर्नुपर्ने उनलाई लागेको छ ।

नेपाललाई सुपर ८ मा पुर्‍याउने लक्ष्य

सन् २०२४ को विश्वकपमा आफ्नो कमजोर पक्ष सुधार्ने लक्ष्यमा छन् विवेक, ‘योभन्दा राम्रो प्रदर्शन गर्ने लक्ष्य र कोसिस रहनेछ ।’

२० टिम सहभागी विश्वकपमा ५ टिमका चार समूह छन् । समूहको शीर्ष दुईमा रहेर नेपाललाई सुपर ८ मा पुर्‍याउने टिमको लक्ष्य रहेको विवेक बताउँछन् ।

‘टी–२० विश्वकपमा सबै जनालाई नेपालले राम्रो गर्छ भन्ने विश्वास छ’ उनी भन्छन्, ‘हाम्रो योजना छ । नेपाललाई सुपर ८ मा पुर्‍याउने, पहिलो लक्ष्य नै त्यही हो ।’

तस्वीर तथा भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?