२८ बैशाख, काठमाडौं । अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन भइरहेको शहीद स्मारक बी डिभिजन लिगमा उपाधि होड र ए डिभिजनमा बढुवा हुनेभन्दा पनि रेलिगेसन ब्याटल रोमाञ्चक बनेको छ ।
कुन टिमले उपाधि जित्छ भन्दा पनि रेलिगेसनबाट कुन टिम बच्छ? कुन-कुन दुई टिम रेलिगेसनमा पर्छ भन्ने समिकरण हेर्नलायक बनेको छ ।
१४ टोली सहभागि बी डिभिजन लिगमा दशौँ चरणको खेल समाप्त हुँदै बढुवा हुने र घटुवा हुने कुनै पनि क्लबको टुङ्गो लागेको छैन । अब तीन चरणको खेल बाँकी हुँदा समिकरण रोमाञ्चक बनेको हो ।
आज देखि बी डिभिजन लिगमा ११औं चरणको खेल सुरु हुँदैछ र आज च्यासल युथ क्लब र टुसाल युथ क्लबबीच खेल हुनेछ ।
उपाधि होडमा प्लानिङ र श्री भगवती
अहिलेसम्म लिगमा दुई टोली अपराजित छन् प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब, टोखा । यी दुई टोली शीर्ष दुई स्थानमा छन् । र ए डिभिजन लिगमा बढुवा हुनेमा अगाडि छन् ।
प्लानिङ ब्वाइज ७ जित र ३ बराबरीबाट २४ अंकसहित शीर्ष स्थानमा छ । यस्तै श्री भगवती क्लब ६ जित र ४ बराबरीबाट २२ अंकसहित दोस्रो स्थानमा छ ।
प्लानिङ ब्वाइजले अब बाँकी ३ मध्ये एक खेल मात्र जितेपनि शीर्ष डिभिजनको यात्रा पक्का गर्नेछ । यस्तै प्लानिङले ३ खेलबाट १ अंक मात्रै जोडेपनि शीर्ष दुईमै रहन सक्छ । तेस्रो र चौथो स्थानको वीरगंज र ब्वाइज युनियनले बाँकी सबै खेल जितेपछि २५ अंक मात्र हुनेछ र यस्तो भएमा प्लानिङले १ अंक थप्दा २५ अंक हुनेछ । यद्यपी गोल अन्तरमा प्लानिङ नै अघि हुनेछ । यसैगरी प्लानिङ ब्वाइजले बाँकी तीन खेलमा हार व्यहोरेपनि अन्य खेलको नतिजाको आधारमा शीर्ष दुईमा रहने सम्भावना बलियो छ ।

यस्तै श्रीभगवतीले बाँकी ३ खेल मध्ये ४ अंक मात्र जोडेपनि शीर्ष दुईमा स्थान पक्का गर्नेछ । अन्य टोलीको नतिजा हेरेर एक जितले पनि श्रीभगवतीलाई ए डिभिजनमा पुर्याउन सक्छ ।
११औं चरणमा बाँसबारी क्लबलाई पराजित गरे प्लानिङ ब्वाइजले मंगलबारै ए डिभिजन क्लबमा बढुवा हुने निश्चित हुनेछ । श्री भगवतीले पनि बुधबार मध्यपुर युथ एसोसिएसनलाई हराएमा ए डिभिजन नजिक पुग्नेछ ।
प्लानिङ ब्वाइज र श्रीभगतवीभन्दा पछाडी छन् चार क्लब वीरगंज युनाइटेड, ब्वाइज युनिय क्लब, बाँसबारी क्लब र च्यासल युथ क्लब छन् । यी चार क्लब पनि शीर्ष दुईमा रहेर बढुवा हुने समिकरणमा छन् । वीरगंज र ब्वाइज युनियनको समान १६ अंक छ भने बाँसबारीको १५ र च्यासलको १४ अंक छ ।
यी चार मध्ये एक क्लब मात्र शीर्ष दुईमा पुग्न सक्ने सम्भावना छ । त्यसमा पनि अन्य टिमको नतिजाले भर पर्नेछ ।
शीर्ष ६ मा रहेपनि च्यासल, बाँसबारी जस्ता क्लबका लागि आफ्नो यही स्थान कायम राख्न पनि चुनौती छ । किनभने मिड टेबलमा रहेका टिमहरु बीच अंक दूरी खासै फरक छैन । तेस्रो स्थानको वीरगंज र अन्तिम स्थानमा रहेको नयाँबस्ती युथ क्लबबीच ८ अंकको अन्तर छ ।
रोमाञ्चक रेलिगेसन ब्याटल
बी डिभिजन लिगको टप हाफ भन्दा बटम हाफको प्रतिस्पर्धा अझ बढी रोचक छ । अंकतालिकामा बटम हाफमा रहेका ७ क्लबबीचको अंक दूरी जम्मा ४ अंक मात्र छ ।
यति सम्मकी लिगको पूछारमा रहेको नयाँ बस्ती युथ क्लब र तेस्रो स्थानको वीरगंज युनाइटेड क्लबबीच ८ अंकको फरक छ । यसले नयाँ बस्तीले अझै पनि वीरगंजलाई पछि पार्न सक्ने समिकरण छ ।
वीरंगजले बाँकी तीन खेल हार्ने र नयाँबस्तीले ३ खेल जित्ने हो भने नयाँबस्तीले वीरगंजलाई उछिन्नेछ । त्यसैले अब हुने बाँकी तीन चरणको खेल उपाधिका लागि भन्दा पनि रेलिगेसन होडबाट बच्नका लागि निर्णायक बन्न सक्छ । त्यसैले यस पटक रेलिगेसन ब्याटल गज्जबको देखिएको छ ।

पूछारमा रहेको नयाँ बस्तीको ८ अंक छ । त्यसअघि १३औं स्थानमा रहेको सरस्वती युथ क्लबको ९ र १२औं स्थानको टुसाल युथ क्लबको १० अंक छ ।
अन्नपूर्ण क्लब (आरसिटी) र मध्यपुर युथ एसोसिएसनको समान ११ अंक छ । यस्तै झापा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबको समान १२ अंक छ । सातौं स्थानमा रहेको श्रीकुमारी क्लबको १३ अंक छ ।
बटम हाफका यी ८ क्लबबीच ५ अंकको मात्र अन्तर रहेकोले कुनै पनि क्लब रेलिगेसनमा पर्न सक्छन् । यद्यपी अंक तालिकामा पूछारमा रहेका टिमलाई नै रेलिगेसनको जोखिम बढी हुन्छ ।
हाल रेलिगेसन क्षेत्रमा सरस्वती युथ क्लब र नयाँबस्ती क्लब छन् । नयाँ बस्तीले झापा फुटबल क्लब, प्लानिङ ब्वाइज र मध्यपुर युथ एसोसिएसनसँग खेल्न बाँकी छ । तीनवटै क्लब तुलनात्मक रुपमा नयाँबस्तीका लागि ठूलो चुनौती छ । यस्तै सरस्वतीले वीरगंज युनाइटेड, श्रीकुमारी र श्री भगवती क्लबसँग खेल्न बाँकी छ ।

पूछारको दुई क्लबभन्दा अघि रहेको टाल युथ क्लबले आज च्यासल युथ क्लबसँग खेल्दैछ । आजको खेलमा बराबरी वा हारले टुसालको रेलिगेसन जोखिम पनि बढ्नेछ । त्यसपछि टुसालले झापा फुटबल क्लब र प्लानिङ ब्वाइजसँग खेल्न बाँकी हुनेछ ।
प्रतिक्रिया 4