+
+

टी-२० विश्वकप पुगेका क्रिकेटरलाई जनही १३ लाख दिन राखेपको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १७:२९

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख रुपैयाँ नगद पुरस्कार दिन सरकारसमक्ष सिफारिस गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले खेलाडी र कोचिङ स्टाफलाई नगद पुरस्कार प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको सदस्य सचिव घिसिङले अनलाइनखबरलाई जानकारी दिए ।

घरेलु मैदानमा आइतबार सम्पन्न आईसीसी टी-२० विश्वकप एसिया फाइनलको शीर्ष दुईमा रहँदै नपालले एक दशकपछि टी-२० विश्वकपमा स्थान बनाएको हो ।

टी-२० विश्वकप २०२४ जुनमा अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुनेछ ।

टी-२० विश्वकपमा छनोट भएका १५ खेलाडीलाई जनही १३ लाख, मुख्य प्रशिक्षकलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई समान १ लाख ९५ हजार रुपैयाँ नगद पुरस्कार दिन सिफारिस गरिएको हो ।

१५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले पनि टी-२० विश्वकपमा छनोट भएको टोलीलाई नगद ५० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपालले त्यसपछिका तीन विश्वकपमा छनोट हुन असफल भएको थियो ।

यस पटक आईसीसीले ग्लोबल क्वालिफायर्सको सट्टा क्षेत्रीय छनोट आयोजना गरेको थियो । जसमा एसिया क्षेत्रबाट फाइनल पुग्ने दुई टिम नेपाल र ओमान टी-२० विश्वकपमा छनोट भएका हुन् ।

यूएईलाई सेमिफाइनलमा ८ विकेटले हराउदै नेपालले फाइनलमा स्थान पक्का गर्दै विश्वकपको टिकट काटेको थियो । तर फाइनलमा भने ओमानसँग सुपर ओभरमा पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?