+
+

३ महिनामै १ खर्ब नजिक शोधनान्तर बचत, चालु खाता बचत ५९ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १४:४४

२४ कात्तिक, काठमाडौं । असोजमा आयातमा भएको वृद्धिका बाबजुत रेमिट्यान्स अहिलेसममकै उच्च पुग्दा चालु खाता र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि भएको छ ।

असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स प्राप्त भएको छ । जुन कुनै एक महिनामा भित्रिएको अहिलेसम्मकै उच्च हो । आयात न्यून हुँदा राजस्वमा समेत निरन्तर दबाब पर्दा असोजमा भने बढेर १ अर्ब ४८ अर्ब पुगेको थियो । आयात बढेसँग शोधनान्तर स्थिति र चालु खाता बढ्नेमा आशंका थियो ।

तर, असोजमा अहिलेसमम्कै उच्च रेमिट्यान्स आउँदा चालु खाता बचत तीन महिनामै ५९ अर्ब ९ करोडले पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसमम्को आर्थिक तथा वित्तीय क्षेत्र सम्बन्धी प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

गत असारमा ३३ महिनापछि बचतमा गएका चालु खाता लगातार तेस्रो महिना पनि बचतमा देखिएको हो ।

भदौमा २३ अर्ब ५० करोडले बचतमा रहेको चालु खाता असोमा उल्लेख्य रुपमा वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २७९/८० को पहिलो तिन महिनामा चालु खाता ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ । रेमिट्यान्स वृद्धिको प्रभाव भुक्तानी सन्तुलनमा पनि देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा एक वर्षमा नै २ खर्ब ५५ अर्बले शोधनान्तर घाटा भएपछि राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिलो बनाउनुको साथै नेपाल सरकारले केही वस्तुको आयात नै प्रतिबन्ध लगाएको थियो ।

तर, गत आर्थिक वर्षमा नै शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचत भई बाह्य क्षेत्रमा ‘बाउन्स ब्याक’ देखिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामै शोधनान्तर बचत १ खर्ब नजिक पुगेको छ । असोज मसान्तमा शोधनान्तर बचत ९९ अर्ब ७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको असोजमा शोधनान्तर बचत १२ अर्ब ४३ करोड मात्रै थियो । अमेरिकी डलरमा गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ७४ करोड ७२ लाखले बचतमा रहेको छ ।

प्रथम त्रैमासमा पूँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड कायम भएको छराष्ट्र बैंकले जनाएको छ ।

यस्तै भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा पूँजीगत ट्रान्सफर २ अर्व ५९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?