+
+

बढ्न लाग्यो मार्जिन प्रकृतिको सेयर धितो कर्जा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १४:१४

२७ कात्तिक, काठमाडौं ।  मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढ्न लागेको छ ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब १७ करोड २६ लाख रुपैयाँले घटेको थियो । २०७९ असार मसान्तमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा आउँदा ५.२ प्रतिशतले घटेर ७६ अर्ब ३० करोड ८३ लाखमा झरेको थियो ।

तर, चालु आर्थिक वर्षको पहिलो ३ महिनामा भने यस्तो कर्जा ६.२ प्रतिशतले बढेर असोज मसान्तमा आउँदा  ८१ अर्ब १ करोड ७६ लाख पुगेको छ ।  बैंकिङ प्रणालीमा तरलता सहज भएर ब्याजदर घट्दै जाँदा कर्जा पनि बढ्दै गएको हो ।

यस्तो कर्जा आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब भन्दा माथि पुगेको थियो । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको  जोखिम भार १५० प्रतिशत पुर्‍याएको थियो ।

यस्तै गत आर्थिक वर्षको  २०७८/७९  को मौद्रिक नीतिबाट राष्ट्र बैंकले सेयर धितो कर्जामा व्यक्तिगत सीमा अधिकतम १२ करोड र एउटा बैंकबाट ४ करोड तोक्यो ।

‘बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ,’ राष्ट्र बैंकको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा भनिएको छ ।

राष्ट्र बैंकको उक्त नीतिको चर्को आलाचोन भएपछि  आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाइ एउटै बैंकबाट १२ करोडसम्म लिन सक्ने व्यवस्था गरिएको छ ।

यस्तै सेयर ब्रोकरमार्फत मार्जिन ट्रेडिङ नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाउने घोषणा गरएको छ ।

साना लगानीकर्ताको  संरक्षणका लागि भन्दै २५ लाख रुपैयाँसम्मको कर्जामा १५० प्रतिशत रहेको जोखिम भार पनि १०० प्रतिशत कायम भयो । तर, सेयर बजामा भने त्यसले नकारात्मक प्रभाव नै बढ्दै गयो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले २५ लाखलाई बढाएर ५० लाखसम्मको कर्जामा जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशतमा ल्याएको छ । यस्तै असोजमा एक परिपत्र मार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडमा सीमा पनि पुनरावलोकन गरेको छ ।

प्राकृतिक व्यक्तिलाई १२ करोडको सीमा १५ करोड बनाउँदा सेयर बजारमा लगानी गर्ने उदेश्य भएका कम्पनीको हकमा २० करोड पुर्‍याइएको छ ।

राष्ट्र बैंकले ५० लाखसममबको कर्जामा जोखिम भार घटाएसँगै उक्त सीमाभित्र पर्ने कर्जा पनि उल्लेख्य बढेको छ ।  असार मसान्तमा २५ लाखदेखि ५० लाखसम्मको कर्जा  १२ अर्ब ७८ करोड १८ लाख रहेकोमा  असोजमा  आउँदा ११ प्रतिशतले बढेर १४ अर्ब १८ करोड ७८ लाख पुगेको छ ।

२५ लाखसम्मको कर्जा  असारमा ७ अर्ब ३ करोड ५९ लाख रहेकोमा असोजमा ५.२ प्रतिशतले बढेर ७ अर्ब ४० करोड २२ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

५० लाखदेखि १ करोडसम्मको  कर्जा भने घटेको छ । असारमा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ रहेको यस्तो कर्जा असोजमा २.६ प्रतिशतले घटेर ११ अर्ब ४७ करोड २६ लाखमा झरेको छ ।

१२ करोडका सीमा बढाएसँगै १ करोड भन्दा बढीको कर्जा पनि असारमा ४४ अर्ब ७१ करोड ६१ लाख रहेकोमा असोजमा आउँदा ७.२ प्रतिशतले बढेर ४७ अर्ब ९५ करोड ५० लाख पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?