+
+

जातीय विभेद कसुरमा पोखरामा वडाध्यक्षलाई साढे ४ महिना कैद सजाय

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १८:२७

७ मंसिर, पोखरा । पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय दुर्व्यवहार तथा छुवाछुतको कसुरमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद सजाय सुनाएको छ ।

वडासदस्य मैया नेपालीले आफूलाई जातीय दुर्व्यवहार र छुवाछुत गरेको भन्दै वडाअध्यक्ष अधिकारीविरुद्ध जाहेरी दिएकी थिइन् । सोही मुद्दामा जिल्ला अदालत कास्कीकी न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार अधिकारीलाई ४ महिना कैद र पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ मा जातीय विभेद गर्नेलाई ३ महिना कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा अभियोग पुष्टि भए थप ५० प्रतिशत सजाय गर्ने व्यवस्था पनि छ ।

‘सोही व्यवस्थाअनुसार थप सजायसहित साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना र जाहेरवालालाई १० हजार रुपैयाँ क्षतिपूर्ति भर्न आदेश भएको छ’, जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले भने ।

वडा सदस्य मैया नेपालीका अनुसार दलित समुदायका लागि छुट्याइएको बजेट वडाध्यक्ष अधिकारीले अर्कै क्षेत्रमा खर्च गरेपछि उनले प्रश्न उठाएकी थिइन् । वडाध्यक्ष अधिकारीले आफूमाथि अपशब्द प्रयोग गर्दै र सिंगो दलित समुदायमाथि नै अपमान हुने अभिव्यक्ति दिएको उनको आरोप थियो ।

वडासदस्य नेपालीको जाहेरीपछि प्रहरीले गत वर्ष २६ पुसमा वडाध्यक्ष अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीले १५ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । ९ माघ २०७९ मा भएको थुनछेक बहसमा जिल्ला अदालतका न्यायाधीश ऋषिराज आचार्यको इजलासले अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

वडासदस्य मैया नेपालीले विभेदका घटनामा पीडितले आवाज उठाए न्याय मिल्ने प्रमाणित भएको बताइन् ।

‘अब कोही पनि हेपिएर, दबिएर बस्नुपर्ने अवस्था छैन । यो एउटा फैसलामात्रै होइन, हामीजस्ता सीमान्तकृतका लागि उदाहरण पनि हो जस्तो लागेको छ’, उनले भनिन्, ‘त्यो दिन बोलेर मैले न्याय पाएँ,  बोल्नु पर्नेरहेछ । अब अरुलाई पनि आफूमाथि भएको दमन, विभेद, हिंसाको विषयमा बोल्न आग्रह गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?