+
+
टिकटक प्रतिबन्ध :

सरकारको भाष्यसँग सहमत छैनन् ‘टिकटक स्टार’

विष्णु शर्मा विष्णु शर्मा
२०८० मंसिर ९ गते ७:३०

काठमाडौं । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिबन्धको निर्णय सुनाइरहँदा कञ्चनपुरका अंशुराज बर्मा टिकटक लाइभमा थिए । उनका लागि यो ‘स्तब्ध’ पार्ने खबर थियो, जुन कुरा उनले लाइभबाटै थाहा पाए । ‘टिकटक स्टार’का रुपमा उनको पछिल्लो लाइभ कात्तिक २७ गते बेलुकासम्म रह्यो । सिंहदरबारले यो छोटो भिडियो एपमा रोक लगाएपछि बर्मा त्यसयता लाइभमा छैनन् ।

दैनिक १२-१३ घण्टा लाइभ बस्ने बर्मासँग वर्षमा डेढ करोड रुपैयाँ कमाइ गरेको हिसाब छ । उनले यो आम्दानी असहाय, अनाथ, विद्यालय र भूकम्प पीडितलाई खर्चिएका छन् । त्यही पैसाले उनी यतिबेला विद्यालय बनाउन जुटेका छन् । गत वर्ष अनलाइनखबरसँग कुरा गर्दै बर्माले भनेका थिए, म पैसा कमाउन टिकटक चलाउँछु । टिकटक सधैं रहन्छ भन्ने छैन । यसको सदुपयोग गर्छु र अरुको लागि प्रेरणाको स्रोत बन्छु ।’

उनले भनेजस्तै कानुनी रुपमा टिकटक यतिबेला उपलब्ध छैन । भीपीएन र डीएनएस प्रयोगलाई सरकारले गैरकानुनी करार गरेको अवस्था छ । प्लेटफर्मबाट पैसा कमाउने बर्माको पनि यतिबेला टिकटकसँग नाता टुटेको छ । तर पनि कानुनका विद्यार्थीको नाताले बर्मालाई टिकटक बन्द समस्याको समाधान होइन भन्ने लाग्छ । अभिव्यक्ति स्वतन्त्रताको हकले पनि नागरिकसँग टिकटकजस्ता प्लेटफर्म चलाउन पाउने अधिकार छ ।’ बर्मा मंसिर १९ गतेको पर्खाइमा छन्, जुन दिनलाई अदालतले टिकटक प्रतिबन्धविरुद्धको मुद्दामा पूर्ण सुनुवाइका लागि पेशी तोकेको छ ।

अंशुराज बर्मा

बर्मा प्रतिनिधि पात्र मात्र हुन् । पोखराकी गिभिना मगर, काठमाडौंकी इभा गिरी र इस्टु कार्की पनि ती ‘टिकटक स्टार’ हुन्, जो सिंहदरबारको निर्णयमा सहमत छैनन् । टिकटक लाइभ र कन्टेन्ट उत्पादनबाट मनग्य कमाउने यी तन्नेरीको दैनिकी सातायता बदलिएको छ । घण्टौं लाइभमा बस्नेदेखि दर्शकसँग अन्तरक्रिया गर्ने काममा व्यस्त उनीहरुमध्ये कोही फेसबुक, युट्युब, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा सिफ्ट भइसकेका छन् भने कोही अन्य काममा जुटेका छन् । कोही युट्युबबाट आफ्ना विचार राखिरहेका छन् ।

टिकटकले सामाजिक सद्भाव बिगारेको सरकारको दाबी छ । केही मिडिया अन्तर्वार्तामा सरकारकी प्रवक्ता रेखा शर्माले उक्त प्लेटफर्ममा पोस्ट गरिएका केही छाडा र अमर्यादित भिडियोले नेपालको पारिवारिक संरचनालाई असर पारेको टिप्पणी गरेकी छिन् । तर अभिव्यक्ति स्वतन्त्रताका पक्षधर चाहिं सरकार र नेताको गलत कामको विरोध टिकटकबाट भइरहेकोले उसले यसमा रोक लगाएको बताइरहेका छन् । टिकटकको माउ कम्पनी बाइटडान्सले पनि सरकारलाई पत्र लेखेर आश्चर्य व्यक्त गरिसकेको छ ।

यी कुरा जेसुकै भए पनि टिकटक प्रतिबन्धको सिधा र तात्कालिक प्रहार चाहिं ‘टिकटक सेलिब्रिटी’माथि भएको छ । हुन सक्छ, यसैको प्रतिक्रियास्वरुप ‘टिकटकमा सक्रिय प्रयोगकर्ता’ले केही दिनअघि माइतीघर मण्डलामा सरकारको यस निर्णयविरुद्ध प्रदर्शन गरे । कतिपयले मिडिया अन्तर्वार्तामा सरकारी कदमको विरोध गरिरहेका छन् ।

अनलाइनखबरसँग कुरा गरिरहँदा काठमाडौंकी इभा गिरी यही सन्दर्भको मिडिया अन्तर्वार्तामा व्यस्त थिइन् । टिकटक प्रतिबन्धपछि इभालाई अन्तर्वार्तामा भ्याइनभ्याइ छ । उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा ट्रोल र मिम पनि बनिरहेका छन् । तर उनलाई लाग्छ, सरकारले नागरिकको कुरा सुन्नु जरुरी छ । इभा मात्र होइन, अंशु बर्मा, इस्टु कार्की र गिभिना पनि यो भनाइसँग सहमत छन् ।

कोहीको आम्दानी रोकियो, कोहीको सञ्जाल सम्पर्क

इभा गिरी

इभा र इस्टु टिकटकका चर्चित कन्टेन्ट क्रिएटर हुन् भने गिभिना र अंशु बर्माले लाइभमार्फत राम्रै आम्दानी गरिरहेका थिए । गिभिना र अंशुले प्लेटफर्मबाट सामाजिक कार्यलाई पनि अघि बढाइरहेका थिए । योसँगै चर्चा, सम्मान र सेलिब्रिटीहुड त हुने भइहाल्यो । सरकारको निर्णयसँगै यी सबै कुरा अहिले ठप्प छ । दैनिक १२ घण्टा लाइभमा बस्ने अंशु बर्मा यो प्लेटफर्मबाट सम्भवतः नेपालमै सर्वाधिक कमाउनेमध्येका एक हुन् । उनको यो स्रोत अहिले रोकिएको छ ।

टिकटक लाइभको चटारोमा हुने अंशु यतिबेला काठमाडौंमा छन् । पढ्न नपाएका बच्चाको लागि विद्यालय बनाउने उनको तयारी छ । उनी नोटबुकको व्यापारमा पनि सक्रिय छन् । टिकटक बन्द भएपछि उनी यी काममा व्यस्त छन् । ‘म अहिले स्कुल बनाउने तयारीमा छु,’ अनलाइनखबरसँग उनले भने, ‘मेरो एउटै भिडियोबाट सिंगो सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन भइरहेको थियो । सरकारले यी सकारात्मक पक्षतिर पनि हेर्नु जरुरी छ ।’

पोखरा हेम्जाकी गिभिना मगर अर्की ‘टिकटक सेलिब्रिटी’ हुन्, जसले प्लेटफर्मको सदुपयोगबाट लाखौं पैसा सामाजिक कार्यका लागि संकलन गरेकी थिइन् । उनले असहाय, अनाथ र शोषित मान्छेका लागि रकम संकलन गर्ने र उनीहरुलाई मद्दत गर्ने कार्य गरिन् । उनको टिकटक लाइभ हेरेर देश तथा विदेशबाट लाखौं रकम संकलन हुन्थ्यो । अहिले यो सबथोक रोकिएको छ ।

‘म एक्लैले केही गर्न नसक्ने ठाउँमा टिकटकले साथ दिएको छ । बन्द भएपछि मैले अन्याय, अत्याचारका लागि आवाज उठाउन पाएकी छैन । गेमभन्दा पनि च्यारिटी संकलनका लागि मैले रकम संकलन गर्थें, जुन रोकिएको छ,’ उनले भनिन् । पेशाले पोखराको कुमुदुनी होम्सकी शिक्षिका समेत हुन् उनी । जागिर सकिएपछिको तीन घण्टा दैनिक टिकटक लाइभमा बिताउँथिन् । ‘मैले टिकटकबाट पीडित, अनाथ र असहायका लागि आवाज उठाउँदा धेरैले नयाँ जीवन पनि पाउनुभएको छ,’ उनी भन्छिन् ।

गिभिना मगर

काठमाडौंकी इस्टु कार्की टिभी श्रृंखलाकी चर्चित कलाकार समेत हुन् । उनका कन्टेन्ट टिकटकमा पनि उत्तिकै चर्चित छन् । उनी टिकटकबाट राम्रो कमाइ गर्ने सेलिब्रिटीमध्ये पर्छिन् । ‘मेरा लागि टिकटक आम्दानी मात्र होइन, सूचना लिने स्रोत समेत बनेको थियो । विनोद चौधरीले ह्वाट्स एप बनाउने मान्छेबारेको क्लिप हेर्दा मैले प्रेरणा लिएकी थिएँ,’ इस्टु भन्छिन्, ‘आफूलाई मजाले पुग्ने पैसा कमाइरहेकी थिएँ । अहिले यो स्रोत रोकिएको छ ।’ जबदेखि टिकटक विवाद सुरु भयो, आफूले त्यसयता कन्टेन्ट नै नबनाएको उनी बताउँछिन् ।

काठमाडौंकी इभा गिरी यतिबेलाकी चर्चित टिकटकर हुन् । लाइभभन्दा पनि कन्टेन्ट सिर्जनाबाट उनी चर्चित छिन् । आम्दानीभन्दा पनि आफ्ना लागि टिकटक मनोरञ्जन र सूचनाको राम्रो प्लेटफर्म भएको उनी बताउँछिन् । ‘मैले विश्वका समाचार यसबाट पाउने गर्थें । मेरा लागि न्युजको स्रोत थियो । किनभने टिकटकमा मासको राम्रो उपस्थिति छ,’ गिरी भन्छिन्, ‘टिकटक रोकिएपछि म आफ्नै व्यापार र कलेजको पढाइमा व्यस्त छु । मलाई भन्दा पनि यसबाट आम्दानी राम्रो हुनेहरुलाई असर पुगेको छ ।’

टिकटकबाट अन्य प्लेटफर्ममा ‘सिफ्ट’

बन्द भए पनि कतिपयले भीपीएन र डीएनएसको प्रयोग गरेरै भए पनि टिकटक चलाइरहेको पाइन्छ । उनीहरु अहिले पनि लाइभमा आउँछन् र अन्तरक्रिया गर्छन् । कतिपयले कन्टेन्ट अपलोड गरिरहेका छन् र ‘ब्रान्ड इन्डोर्समेन्ट’ पनि । भीपीएन नपुग्ने र यस्ता सर्भर चलाउँदा जोखिम पनि हुने भएकाले धेरैले टिकटकलाई निरन्तरता दिएका छैनन् । जसको असर लाइभ र कन्टेन्टको भ्युअर्ससिपमा स्पष्ट देखिएको छ ।

नेपालमा प्रतिबन्ध हुँदा देशबाहिरबाट पनि टिकटक चलाउने सेलिब्रिटीलाई पनि यसको प्रत्यक्ष असर देखिन्छ । हालै पाकिस्तानी टिकटकरसँग दुबईमा इन्गेजमेन्ट गरेका नेपालका आयुषसिंह ठकुरी यतिबेला काठमाडौंमा आइपुगेका छन् । अनलाइनखबरको संक्षिप्त कुराकानीमा उनले आफ्नो भ्युअर्ससिप घटेको बताए । लाइभ बसेर राम्रो आम्दानी गर्नेमध्येका यी दुईले टिकटक प्लेटफर्मबाट कमाउने रकम समाजसेवामा खर्चिएका हुन्थे । जाजरकोट भूकम्प पीडितका लागि पनि उनले पहल लिएका थिए । तर अकस्मात् प्लेटफर्म बन्द गर्ने सरकारी निर्णयले देशभित्र र बाहिरका ‘टिकटक स्टार’को आम्दानी र दैनिकी खलबलिएको छ ।

टिकटक बन्दपछि इभा गिरी अहिले फेसबुक, इन्स्टाग्राम र युट्युबमा सक्रिय छिन् । उनी दैनिकजसो भिडियो पोस्ट गर्दै लाइभमा समेत आउँछिन् । टिकटकमा रहेका फलोअर्सलाई यी प्लेटफर्ममा आउन आग्रह गरिरहेकी छिन् । इस्टु कार्की पनि अन्य प्लेटफर्ममा सिफ्ट भएकी छन् । ‘टिकटक बन्द भएपछि फेसबुक र इन्स्टाग्राममा कन्टेन्ट बनाइरहेको छु । मलाई चिन्ने दर्शक म जहाँ भए पनि खोज्दै आउनुहुन्छ । फलोअर्स बढेको बढ्यै हुनुहुन्छ । सबैले भीपीएन बनाउनु हुँदैन । उहाँहरुले खोजेर आउनुभएको छ । म अहिले त्यही कन्टेन्टका लागि एडिटिङमा व्यस्त छु,’ इस्टु सुनाउँछिन् ।

इष्टु कार्की

कन्टेन्ट क्रिएटरका लागि टिकटकबाहेकका एप सहज हुने भए पनि नियमितजसो टिकटक लाइभमा बस्दै आएका सेलिब्रिटीलाई अन्य प्लेटफर्म उति सहज हुँदैन । पेज लाइक र साथी भएकाले मात्र लाइभ देख्ने भएपछि टिकटकमा जस्तो अन्य प्लेटफर्ममा दर्शकको पहुँच पनि खास हुँदैन । हुन सक्छ, यही कारण टिकटक बन्द भएपछि अंशुराज र गिभिनाले वैकल्पिक प्लेटफर्म प्रयोग गरेका छैनन् । उनीहरु सर्वोच्च अदालतले पूर्ण सुनुवाइ तोकेको दिन मंसिर १९ गतेको प्रतीक्षामा छन् ।

सरकारको भाष्यसँग सहमत छैनन् ‘टिकटक स्टार’

अनलाइनखबरसँग कुरा गर्ने चारैजना टिकटक सेलिब्रिटीको साझा दृष्टिकोण छ- सरकारले जे गर्‍यो, ठीक गरेन । उनीहरु सामाजिक मर्यादा उल्लंघन गर्ने सरकारको भाष्यसँग सहमत देखिएनन् । इभाले आफू प्रतिबन्धसँग सहमत नभएको बताइन् । ‘आउने दिनमा जसले नराम्रो गर्नुहुन्छ, उहाँहरुलाई एक्सन लिंदा हुन्छ,’ इभाको तर्क छ ।

इस्टुलाई लाग्छ, समाजको उत्पत्ति हुँदादेखि नै नकारात्मक कुरा र काम पनि हुन्थे । अहिले आएर मात्र यी सबथोक भएका होइनन् । उनको तर्क छ, ‘संस्कृति बिग्रियो र विकृति बढ्यो भन्ने कुरा गलत छ । समाजको उत्पत्तिदेखि नै यो प्रवृत्ति छ । राजनीतिमा पनि नकारात्मक कुरा हुँदा पार्टी नै बन्द गर्ने कुरा हुँदैन । नराम्रो पक्षलाई हटाउन प्रयास गर्नुपर्छ ।’

अंशुराज बर्मा टिकटक मात्र नभएर फेसबुक र युट्युबजस्ता प्लेटफर्ममा पनि विकृतिपूर्ण भिडियो पोस्ट भइरहेको बताउँछन् । ‘प्लेटफर्मलाई नराम्रो भन्न मिल्दैन । दुई चार जनाले नराम्रो भिडियो हालेका होलान्, उनीहरुलाई कारवाही हुनुपर्छ । म कानुनको विद्यार्थी पनि हो, अभिव्यक्ति स्वतन्त्रताको हकको कुरा गर्दा सबैले यस्ता प्लेटफर्मलाई चलाउन पाँउछन् । टिकटकसँग सरकारको रिसिइबी के छ ?,’ टिकटकलाई करको दायरामा ल्याउँदा सरकारलाई फाइदा हुने उनको तर्क छ ।

पोखराकी गिभिनाको पनि आवाज उही छ, ‘यसको राम्रो पक्ष पनि छ । बन्द नै समाधान होइन । बरु विकृति विसंगतिलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’

टिकटक बन्द गर्ने सरकार र टिकटक चलाउने प्रयोगकर्ता, दुवै पक्षको दाबी जेसुकै भए पनि यसले लोकतन्त्र संस्थागत हुने प्रक्रियामा रहेको नेपालमा राम्रै बहस सिर्जना गरेको छ ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?