+
+

जब प्रहरी कन्ट्रोलमा मोटरसाइकल हरायो भन्दै लगातार ४ जनाको फोन आयो…

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते २०:१८

१४ मंसिर, ललितपुर । बुधबार साँझ ५:४५ तिर प्रहरी कन्ट्रोल १०० मा लगातार मोटरसाइकल चोरीको खबर आउन थाल्यो । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार, एकपछि अर्को गर्दै बोद्धिग्राम, इमाडोल, हात्तिवन र हरिसिद्धीबाट मोटरसाइकल चोरी भएको खबर आएको थियो ।

चोरिएका मोटरसाइकल पनि सबै एउटै प्रकृतिका थिए । ‘त्यसपछि यसमा एउटै गिरोह संलग्न हुनसक्ने शंका भयो’, ललितपुर प्रहरी प्रमुख शाहले भने, ‘समयमै चोरिएको भन्ने सूचना आएपछि तत्काल टोली परिचालन गरेर अनुसन्धान थाल्यौं ।’

अनुसन्धान अधिकृतहरुका अनुसार, प्रहरीको क्वीक रेस्पोन्स टिम (क्यूआरटी) र सादा पोशाकको टोलीले क्लोज सर्किट (सीसी) टिभी फुटेजको विश्लेषणका आधारमा खोज्दै जाँदा खुमलटार हाइटस्थित एकान्त स्थानमा बा प्र ०२ ०३७ प ०८६२ नम्बरको एनएस मोटरसाइकल फेला पर्‍यो ।

‘एक घन्टापछि ६ः४५ मा मोटरसाइकल फेला परेपछि कोही लिनलाई आउलान् भनेर पर्खिएर बस्यौं’, शाहले भने, ‘त्यसक्रममा लुभुका पासाङ लामा समेत पक्राउ परे ।’ शाहका अनुसार, अनुसन्धानका क्रममा पूर्वानुमान अनुसार चार स्थानबाट भएको मोटरसाइकल चोरीमा एउटै गिरोह संलग्न रहेको भेटियो ।

उनका अनुसार, लामामाथि अनुसन्धान गर्ने क्रममा चार जनाले एकैस्थानबाट एकैपटक चार वटा मोटरसाइकल चोरी गरेको खुल्यो । सीसी टीभी फुटेजका आधामार प्रहरीले यसमा संलग्न चारै जनाको हुलिया पनि निकालिसकेको थियो । त्यसक्रममा मोटरसाइकल लिन आएका उनीसँग सोधपुछपछि घटनामा मकवानपुरका विजय श्रेष्ठ, अमित लामा र रौतहटका पञ्चलाल ब्लोनको संलग्नता पनि खुल्यो ।

‘समयमै सूचना आएकाले सबैलाई राति नै पक्राउ गरेर मोटरसाइकल पनि बरामद गर्न सफल भयौं’, ललितपुर प्रहरीका एसपी नवराज कार्की भन्छन्, ‘सीसी टीभी फुटेजबाट लिएको तस्वीरसँग सबैको हुलिया पनि मिलेको छ ।’

प्रहरीले अरु ३ वटा मोटरसाइकल अन्य विभिन्न स्थानबाट बरामद गरेको थियो । ‘रातभर अपरेशन चलाएर अरु मोटरसाइकलहरु पनि बरामद गर्‍यौं’, कार्कीले भने, ‘चारै जनाविरुद्ध जिल्ला अदालत ललितपुरबाट अनुसन्धानका लागि म्याद लिएर छानबिन थालेका छौं ।’

यो गिरोह मोटरसाइकल चोरीका अन्य घटनामा पनि संलग्न रहेको हुनसक्ने आशंका गरिएको छ । ‘त्यसबारे अनुसन्धान गरिरहेका छौं’, एसपी कार्कीले भने ।

ललितपुर प्रहरीका अनुसार, गएको साउन महिनादेखि १३ मंसिरसम्ममा प्रहरीमा २१८ वटा मोटरसाइकल हराएका सम्बन्धी निवेदन परेका थिए । तीमध्ये ३६ वटा फेला परेर जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?