+
+
विचार :

किन बढिरहेछ अज्ञात संक्रमण ?

संक्रमण पुष्टि गर्न गरिने परीक्षणहरू अति सीमित भई लक्षणहरूको आधारमा उपचार गर्नुपर्ने बाध्यताको कारणले स्वयं स्वास्थ्यकर्मीहरूले एकपछि अर्को एन्टिबायोटिकहरूको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

डा. शेरबहादुर पुन डा. शेरबहादुर पुन
२०८० मंसिर १८ गते ९:०९

केही दिन अगाडि एक जना ज्वरोका बिरामीको प्रयोगशाला परीक्षण गर्दा कुनै पनि संक्रमण पुष्टि हुन सकेन । केही दिनपछि उनको ज्वरोमा कमी आयो र स्वास्थ्यमा क्रमिक सुधार देखियो । यस्ता संक्रमण पुष्टि हुन नसकेका बिरामीहरू विगतदेखि नै ठूलो संख्यामा देखिंदै आइरहेको हो । र, सम्भवतः धेरै अस्पतालका चिकित्सकहरूले पनि यस्तो अवस्थाको अनुभव गरिरहेको हुनुपर्छ ।

कोभिड–१९ भन्दा अगाडिसम्म अस्पतालको पाँचवर्षे तथ्यांक हेर्ने हो सबैभन्दा बढी अस्पताल (टेकु अस्पताल) भर्ना हुने ज्वरोका बिरामी निको भई अस्पतालबाट डिस्चार्ज हुञ्जेलसम्म पनि संक्रमणको निदान हुने गरेको पाइँदैन ।

अर्थात्, अस्पताल भर्ना हुने ज्वरोका बिरामीमा अज्ञात संक्रमण अस्पताल भर्ना गराउने ठूलो र पहिलो कारक भएको देखिन्छ । फलतः लक्षणको आधारमा उपचार गर्नुपर्ने चिकित्सकको बाध्यता रहन्छ । यसले उपचार लम्बिने र औषधिको अनावश्यक प्रयोग हुने र गर्नुपर्ने सम्भावना र बाध्यता बढेर जान्छ । कम अनुभव भएका चिकित्सकको लागि त झन् यस्तो अवस्थामा थप चुनौतीपूर्ण हुने गर्दछ ।

संक्रमण पुष्टि नहुँदा एन्टिबायोटिकको प्रयोग ज्वरो वा समग्र स्वास्थ्यमा सुधार नभएसम्म परिवर्तन गरिरहनुपर्ने अवस्था समेत सिर्जना हुने गर्दछ । यसबाट एन्टिमाइक्रोबायल रेसिसटेन्ट (एएमआर)को सम्भावना बढेर जाने गर्दछ । एन्टिमाइक्रोबायल रेसिसटेन्टको समस्याले अहिले विश्वव्यापी विकराल समस्या लिंदै गइरहेको छ ।

केही समय अगाडि एन्टिमाइक्रोबायल रेसिसटेन्ट सचेतना सप्ताह (१८–२४ नोभेम्बर) पनि मनाइयो । जथाभावी र आफूखुसी एन्टिबायोटिकको प्रयोग नगर्न धेरैजसो स्वस्थ सरोकारवालाहरूको सल्लाह थियो जुन वर्षेनि भन्दै आइरहेको पनि हो । तर संक्रमण पुष्टि गर्न गरिने परीक्षणहरू अति सीमित भई लक्षणहरूको आधारमा उचार गर्नुपर्ने बाध्यताको कारणले स्वयं स्वास्थ्यकर्मीहरूले एकपछि अर्को एन्टिबायोटिकहरूको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । किनभने संक्रमणको लक्षणहरू एकअर्कासँग धेरै हदसम्म मिल्दोजुल्दो हुने गर्दछ । यसले पनि संक्रमण पुष्टि गर्न कति आवश्यक र महत्वपूर्ण रहेछ भन्ने देखाउँछ ।

संक्रमण पुष्टि गर्न असमर्थ भए नियन्त्रणमा समेत कठिनाई हुने गर्दछ । उदाहरणको लागि, टाइफाइड र स्क्रब टाईफस संक्रमणका प्रारम्भिक लक्षणहरू एकअर्कोसँग धेरै हदसम्म मिल्दोजुल्दो हुने गर्दछ भने दुवै मनसुन सिजनमा बढी सक्रिय देखिने गर्दछ तर दुवैको सर्ने तरिका भने फरक छ । टाईफाइड खानेकुरा र पानीबाट सर्ने गर्दछ भने स्क्रब टाईफस चिगर माइट (किर्ना) को टोकाइबाट सर्ने गर्दछ ।

हाल धेरैलाई ज्वरो र रुघाखोकी देखिने गरेको (फ्लु नेगेटिभ) छ । तर फ्लु भाइरस बाहेक अरू संक्रमणको नियमित परीक्षण नगरिने हुँदा यस्ता संक्रमणहरू अज्ञात हुने क्रमले निरन्तरता पाइरहेको छ ।

यसकारण जब यी रोगहरूले प्रकोपको रूप लिन्छ तब पुष्टि गर्न वा हुन सकेन भने नियन्त्रणको पाटोले समेत सही दिशा पाउन सक्दैन । फलस्वरूप नियन्त्रणमा विलम्ब आउँछ ।

सन् २०१५ मा पहिलो पटक केही बालबालिकाको मृत्यु हुनुको मुख्य कारण उनीहरूमा स्क्रब टाईफसको पहिचानमा ढिलाइ हुनु नै थियो । जबकि स्क्रब टाईफसको छिटो र सही पहिचान गर्न सके पूर्ण रूपमा निको हुन्छ । त्यस्तै कोभिड–१९ ले तीव्र भेरियन्ट परिवर्तन गर्दैगर्दा ओमिक्रोनले समुदायमा व्यापकता लिइसक्दासम्म हामीले सामान्य रुघाखोकी भनेर बसेका थियौं ।

त्यतिवेला यस्तो सोच्नु वा मान्नुको मुख्य कारण जाडो महिना हुनु, कमन कोल्डको जस्तो लक्षण देखिनु र अघिल्लो भेरियन्ट भन्दा कम घातक हुनु नै थियो । पछि सो भेरियन्ट पुष्टि भएसँगै कोभिड–१९ का नियन्त्रणका उपायहरूलाई थप प्रभावकारी रूपमा अपनाउन सुझावहरू दिइएको थियो ।

संक्रमणको पहिचान गर्न नसकेमा बिरामीलाई दिने परामर्श पनि गलत हुन जान्छ । सन् २०२२ मा डेंगुले काठमाडौंमा व्यापक प्रभाव पार्दै गर्दा कतिपय संक्रमितमा डेंगु नेगेटिभ पनि देखिने गरेको अनुभव छ । अर्थात् उनीहरू डेंगु जस्तो देखिने लक्षणहरूबाट बिरामी भएका थिए ।

यहाँ बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने डेंगु निश्चित औषधि नहुँदा लक्षणमा आधारित उपचार र बढी परामर्शको आवश्यकता रहने गर्दछ । तर सोही समयमा सोही लामखुट्टेले अरू संक्रमणहरू फैलाइरहेको भए वा डेंगु जस्तो लक्षण भएका अरू संक्रमणहरू रहेछ भने (लामखुट्टे बाहेक अरू माध्यमबाट संक्रमण फैलिरहेको भए) परामर्श पनि गलत हुन जान्छ ।

केही वर्ष अगाडि रगतमा प्लेट लेट्सको कमी हुने ज्वरोका बिरामीहरूले अस्पताल व्यापक भरिएको अनुभव छ । तर हामीसँग भएको सीमित संक्रमणको परीक्षणले गर्दा त्यो कुन संक्रमण थियो भनेर पुष्टि भने कहिल्यै भएन । यसलाई अज्ञात संक्रमणको प्रकोप भन्ने गरिएको छ ।

त्यस्तै हाल धेरैलाई ज्वरो र रुघाखोकी देखिने गरेको (फ्लु नेगेटिभ) छ । तर फ्लु भाइरस बाहेक अरू संक्रमणको नियमित परीक्षण नगरिने हुँदा यस्ता संक्रमणहरू अज्ञात हुने क्रमले निरन्तरता पाइरहेको छ ।

पछिल्लो समय छिमेकी देश चीनको बेइजिङमा हजारौं बालबालिका अज्ञात संक्रमणको कारणले निमोनिया भई अस्पताल भर्ना भइरहेको जानकारीहरू मिडिया मार्फत प्राप्त हुने क्रम जारी छ । यसबारेमा विश्व स्वास्थ्य संगठनले पनि चासो दिएको देखिन्छ । यद्यपि बालबालिकामा निमोनिया ह्वात्तै बढ्नुमा जाडो महिनामा देखिने÷देखिंदै आइरहेका फ्लु भाइरस, आरएसभी भाइरस, एडेनो भाइरस, सार्स कोभ–२ भाइरस तथा माइकोप्लाज्मा निमोनिया जस्ता संक्रमणहरूलाई जिम्मेवार मानिएको छ । र कुनै नौलो संक्रमणको पनि पुष्टि नभएको भनिएको छ । यो जवाफ दिन सक्नुमा परीक्षणको दायरा फराकिलो हुनु नै हो । यद्यपि वर्षेनि जाडो महिना देखिने माथि उल्लिखित संक्रमणहरू अहिले बालबालिकामा कडा रूपमा प्रस्तुत हुनुको सटिक कारण र जवाफ भने कसैले दिन सकेको देखिंदैन ।

द्रुत स्वरूप परिवर्तन गर्न सक्ने क्षमता भएको र नयाँ–नयाँ भेरियन्टको रूपमा देखिने कोभिड–१९ को अवस्था पत्ता लगाउन नेपालले सिक्वेन्सिङ प्रविधिको पनि स्थापना गरेको थियो । हाल यो नियमित संचालनमा भए नभएको सार्वजनिक छैन तर पनि ज्वरोका बिरामीका नमूना हाल उपलब्ध संक्रमणका परीक्षणहरू नेगेटिभ देखिए । सिक्वेन्सिङ प्रविधिको प्रयोग गरी संक्रमण पत्ता लगाउन सहज हुनेछ र पत्ता लगाउनु पनि पर्दछ । यसबाट नयाँ संक्रमण वा भएका संक्रमणको नयाँ पुस्ताको विकास भए नभएको पत्ता लगाउन सकिनेछ ।

अज्ञात संक्रमणको चाङ बढ्दै जाँदा त्यसको सही र शीघ्र पहिचान, उपचार र नियन्त्रणका उपायहरूको लागि अनुसन्धान अति जरूरी भइसकेको छ । हामीले वर्षौंदेखि अनुसन्धानमा केन्द्रित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) जस्तो संस्थाको आवश्यकताको वकालत पनि गर्दै आइरहेका छौं ।

अज्ञात वा पुष्टि नभएका संक्रमणको अवस्था पनि अज्ञात रहने तर कुनै पनि समय महामारीको रूप लिन सक्ने, उपचार सही नहुने, अनुमानको भरमा एकपछि अर्को एन्टिबायोटिकको प्रयोग गर्दै जाँदा जीवाणुमा औषधि प्रतिरोधात्मक क्षमताको विकास हुँदै जाने र प्रकोप र महामारीलाई शीघ्र नियन्त्रणमा ढिलाइ हुने जस्ता चुनौती देखिने छन् ।

स्मरणरहोस्, कोभिड–१९ को पनि पहिचान, उपचार, खोप विकास र नियन्त्रणमा ढिलाइ हुँदा विश्वव्यापी ठूलो संख्यामा मानवीय क्षति भएको थियो ।

– डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) का क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

लेखकको बारेमा
डा. शेरबहादुर पुन

लेखक सरुवा रोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?