+
+

कांग्रेसमा मर्यादाक्रम विवाद : शेखर सहभागी कार्यक्रममा गएनन् पूर्णबहादुर

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १८:०४

२२ मंसिर, काठमाडौं । पार्टीभित्रको वरियता विवादले उपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला एउटै कार्यक्रममा सँगै उपस्थित हुन छाडेका छन् ।

हाल कांग्रेसमा सभापति शेरबहादुर देउवापछिको दोस्रो वरियतामा  उपसभापति खड्का छन् । तर देशका विभिन्न ठाउँमा भएका कांग्रेसको कार्यक्रममा सभापति देउवापछिको वरियतामा नेता कोइरालालाई राख्न थालिएको छ ।

उपसभापति खड्काले यस्ता कार्यक्रममा आफ्नो मर्यादा दोस्रो नहुने भए उपस्थित नै नहुने अडान लिएका कारण खड्का र कोइराला एउटै कार्यक्रममा सँगै नदेखिएका हुन् ।

कांग्रेसको लुम्बिनी प्रदेश समितिले १६ र १७ मंसिरमा पहिलो सम्मेलन आयोजना गर्‍यो । पहिलो कार्यक्रम भएकाले प्रदेश समितिले पार्टी सभापति देउवासँगै अरु शीर्ष नेताहरुलाई पनि बोलायो ।

सभापति देउवा, नेता शेखर कोइराला, महामन्त्रीहरु गगन थापा र  विश्वप्रकाश शर्मासहितका नेताहरु उपस्थित भए ।तर उपसभापति खड्का गएनन् । अर्का उपसभापति धनराज गुरुङ भने त्यतिबेला विदेशमा थिए ।

लुम्बिनी प्रदेशका एक नेताका अनुसार पहिलो प्रदेश सम्मेलन भएकाले खड्का पनि जान इच्छुक थिए । तर, पार्टी मर्यादाक्रममा सभापति देउवापछि आफू हुनुपर्ने उनको अडान थियो ।

लुम्बिनी प्रदेशका नेताहरुका अनुसार प्रदेश सभापति अमरसिंह पुनलाई उपसभापति खड्काले दोस्रो मर्यादाक्रम नभए आउन नसक्ने बताएका थिए । शेखर कोइराला पक्षका नेता पुन खड्कालाई दोस्रो मर्यादामा राख्न तयार भएनन् ।

‘आसन ग्रहण र बोल्ने क्रममा मर्यादाक्रममा पूर्ण दाइलाई शेखर भन्दा अगाडि बोलाउने अवस्था बन्यो’, खड्का निकट एक प्रदेश नेताले भने, ‘प्रदेश सभापतिको त्यो व्यवस्थापन केन्द्रीय उपसभापतिलाई मन परेन र, आउनुभएन ।’

लुम्बिनीका कांग्रेस उपसभापति भुवन श्रेष्ठले सम्मेलनका लागि आमन्त्रणको पत्र आफूले नै खड्कालाई दिएको बताए । ‘मर्यादाक्रमको कारण नआउनु एउटा होला, आउनुभएन,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

१९ मंसिरमा ओखलढुङ्गाको पहिलो जिल्ला सम्मेलनमा सभापति देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतका नेताहरु सहभागी भएका थिए । ओखलुढुङ्गाको सम्मेलनमा पनि उपसभापति खड्कालाई लैजाने तयारी थियो । तर त्यतिबेला खड्का विदेशमा थिए ।

ओखलढुङ्गाबाट निर्वाचित सांसद रामहरि खतिवडाले भने, ‘पूर्ण दाइ नेपाल भएको भए उहाँलाई नै दोस्रो मर्यादामा राख्ने गरी लाने थियौं । पार्टी वरियता त्यही छ । अरुतिर के गरे मलाई थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?