+
+

एभीएम टेबलटेनिस लिग च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १२:२८

२४ मंसिर, काठमाडौं । एभीएम टेबलटेनिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग प्रतियोगितामा च्याम्पियन बनेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको रोमाञ्चक फाइनलमा एभीएमले नेपाल प्रहरी क्लबलाई ८–६ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो ।

एभीएम टेबलटेनिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग प्रतियोगिता विदेशी खेलाडी सहभागी गराएर नेपालमा पहिलोपटक आयोजना गरिएको टेबलटेनिस लिग हो ।

एभीएमका खेलाडीमा रुविन महर्जन, सुजन गडाल, सन्जिल शाक्य, अंकुर भट्टचार्जी (भारत), कौसनी नाथ (भारत), सिक्का सुवाल श्रेष्ठ, इभाना थापा मगर र वियंका राई थिए ।

प्रहरीको टोलीमा संयोग कपाली, विपुल महर्जन, निम जोशी, जुविन कुमार (भारत), नविता श्रेष्ठ, शुभश्री श्रेष्ठ, रविना महर्जन र सागरिका मुखर्जी (भारत) थिए ।

प्रतियोगितामा हरेक टोलीले अर्को टोली विरुद्ध समान २–२ पुरुष÷महिला सिंगल्स र १ मिक्स डबल्स खेल्नु पर्ने थियो ।

पहिलो पुरुष सिंगल्समा एभीएमका अंकुरले प्रहरीका संयोगलाई ११–५, ११–७ र ११–६ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुले ।

महिलाको पहिलो सिंगल्स दुई भारतीय खेलाडीबीच भएको थियो । प्रहरीकी सागरिकाले एभीएमकी कौसनीलाई ११–९, ११–८ र १०–११ हराउदै प्रहरीका लागि २ अंक जोडिन् । दोश्रो सिंगल्सको समाप्तिमा एभीएमले ४–२ को अग्रता बनाएको थियो । प्रत्येक सेट जितका लागि टोली १ अंक पाउथे ।

मिक्स डबल्समा एभीएमका अंकुर र सिक्काको जोडीले प्रहरीका संयोग र सागरिकाको जोडीलाई ११–८, ३–११ र ११–८ ले पाखा लगाए । मिक्स डबल्सको समाप्तिमा एभीएम ६–३ ले अघि रह्यो । समग्रमा तेश्रो र दोश्रो पुरुष सिंगल्समा प्रहरीका जुविनले एभीएमका रुविनलाई ११–९, ११–५ र ११–७ ले हराउदै महत्वपूर्ण ३ अंक जोडे र खेललाई ६–६ को बराबरीमा पुर्याए ।

निर्णायक महिला सिंगल्समा एभीएमकी इभाना थापा मगरले नौंपटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नवीतालाई ११–९ र ११–८ ले स्तब्ध पार्दै एभीएमलाई उपाधि दिलाइन् । यदि नवीताले दोश्रो सेट जितेको भए खेल ७–७ को बराबरी स्थितिमा हुने थियो र खेल तेश्रो सेटतर्फ लम्कने थियो । इभानाले एभीएमका लागि ८ अंक जोडेपछि तेश्रो सेट खेलाउनु परेन ।

विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार पाए । तेश्रो भएका आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र कान्तिपुर भ्याली पिङपोङ क्लबले समान ५०–५० हजार नगद पुरस्कारमा चित्त बुझाए ।

प्रतियोगितामा यी ४ टिमसहित नेपाल आर्मी, गोड स्पिन टेबलटेनिस एकेडेमी, नेपाल एपीएफ क्लब, ज्ञान भैरव डिल्लीबजार टेबलटेनिस क्लब र नगाउँ स्पोर्ट्स क्लब गरी ९ टिम सहभागी थिए । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजना तथा कन्सेप्ट मेकर्सको व्यवस्थापन भएको प्रतियोगितामा प्रत्येक टिमले एक/एक विदेशी पुरुष/महिला खेलाडी राख्न पाउने प्रावधान थियो । अनिवार्य भने थिएन ।

चार टिम गोड स्पिन, ज्ञान भैरव, आर्मी र नगाउँले विदेशी खेलाडी राखेनन् । बाँकी सबैले भारतीय खेलाडीलाई आ–आफ्नो टोलीमा अनुबन्ध गराएका थिए । सुरुमा सहभागी ९ टिमबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा भएको थियो । शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गरेका थिए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघ, तदर्थ समितिका संयोजक चतुरानन्दराज वैद्य र उपसंयोजक वृजेन्द्र हमाल, टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक आरआर जोशी, सह–प्रायोजक सुमन खड्गीलगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?