+
+

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग टेबलटेनिस हुने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते ९:२०

१८ मंसिर, काठमाडौं ।  ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २३’ सिजन वान टेबल टेनिस प्रतियोगिता यही मंसिर १९ देखि २३ गतेसम्म हुने भएको छ । स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता हुन लागेको हो ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत पाँच दिनसम्म प्रतियोगिता हुने जानकारी गराएको छ ।

मिक्स्ड टिम लिग प्रतियोगितामा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल) सहित एभिएम टेबल टेनिस क्लब, कान्तिपुर भ्याली पिङ पोङ क्लब, नागाउँ स्पोर्ट्स क्लब, गड स्पिन टेबल टेनिस एकेडेमी, ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरी जम्मा ९ टिमले सहभागिता जनाउने छन् ।

जसमा सहभागी ९ टिममध्ये ५ टिमले एक पुरुष र एक महिला विदेशी खेलाडीहरु समावेश गरेको छ । प्रतियोगिताको नियम अनुसार हरेक टोलीले एक महिला र एक पुरुष विदेशी खेलाडी राख्न पाउनेछन् ।

नेपाली खेलाडीको स्तर राम्रो होस् र प्रतियोगिताको स्तर पनि बढोस् भनेर विदेशी खेलाडी राख्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिता सिंगल राउण्ड रोविनमा हुनेछ । जसबाट शीर्ष चारमा रहने टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

हरेक टोलीमा दुई महिला र दुई पुरुष नेपाली खेलाडी हुनेछन् भने दुई विदेशी खेलाडी हुनेछन् ।

प्रतियोगितामा पुरुष र महिला सिंगल्सको दुई/दुई तथा डबल्सको एक खेल हुने प्रतियोगिता निर्देशक तेजेन्द्र सिंह महराले जानकारी दिए । त्यसमा तीन सेट जित्ने टिमले खेल जित्नेछ ।

यस प्रतियोगिताको विजेता नगद दुई लाख रुपैयाँ सहित रनिङ ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

यस्तै दोस्रो हुने टिमले नगद एक लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् र त्स्रो हुने (दुवै सेमी फाइनलिष्ट) टिमले नगद पचास हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

विजेताले पाउने रनिङ ट्रफी समेत सार्वजनिक गरिएको थिय‍ो । प्रतियोगिताको अनुमानित बजेट १९ लाख रुपैया रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक भारतको स्ट्याग ग्लोबल प्राली रहेको छ । जसले प्रतियोगितालाई आवश्यकता पर्ने टेबल टेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किट, आदि सम्पूर्ण सामग्रीहरु प्रदान आयोजक स्ट्याग एकेडेमीकी प्रवन्ध निर्देशक तथा राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले जानकारी दिइन् । नविता आफैँ पनि स्ट्याग ग्लोबलकी ब्राण्ड एम्सबाडर हुन् ।

सहप्रायोजकमा मेटल सेपर रहेको छ जसले प्रतियोगिताको रनिङ्ग ट्रफी र कूल अनुमानित बजेटको १५ प्रतिशत रकम (दुई लाख ८५ हजार रुपैयाँ) प्रदान गर्नेछ । आइतबारै सहप्रायोजन सम्बन्धी समझदारी पत्र मा मेटल पेपरमा तर्फबाट निरज जोशी र आयोजकको तर्फबाट नविता श्रेष्ठले हस्ताक्षर गरे ।

आगामी वर्षदेखि पनि यस प्रतियोगितालाई निरन्तरता दिने नविता श्रेष्ठले जानकारी दिइन् । उनी आफैँले पनि आयोजक टिमको तर्फबाट खेल्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?