+
+

बन्यो बबरमहलको ट्राफिक लाइट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १३:०९

२४ मंसिर, काठमाडौं । बबरमहलमा राखिएको ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यो ट्राफिक लाइट सञ्चालनमा आएको एक महिना नपुग्दै बिग्रिएको थियो ।

प्राविधिकहरुले ट्राफिक लाइट मर्मत गरेर सन्चालनमा ल्याइसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

महानगरका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार शनिबार दिउँसो ११ बजेबाट स्विच थिचेर सडक पार गर्ने प्रणाली अपग्रेड गर्ने क्रममा केहीबेर रोकिएको थियो । ‘पहिला परीक्षण मात्रै भएको थियो, हिजो शनिबार भीडभाड कम हुने समयमा दिउँसो सिस्टम अपग्रेड गर्दा २–३ घण्टा रोकिएको हो,’ खरेलले भने ।

खरेलले शनिबार दुई–तीन घण्टा मात्र रोकिएको भने पनि आइतबार बिहानसम्म पनि ट्राफिक लाइट चलेको थिएन । त्यहाँ ड्युटीमा खटिएका ट्राफिक प्रहरीले पैदलयात्रुहरुलाई ट्राफिक लाइट बिग्रिएको जानकारी गराउँदै बाटो काट्न सघाएका थिए ।

बबरमहलमा राखिएको ट्राफिक लाइट पैदलयात्रु आफैंले बटन थिचेर बत्ती बाल्ने र गाडी रोकिएपछि बाटो काट्न मिल्ने खालको छ । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत अगाडिको सडकमा जडान गरेको यो ट्राफिक लाइट यही मंसिर ११ गते सन्चालनमा ल्याएको थियो ।

सिस्टम अपग्रेड गरिएको छ : खरेल

महानगरका सडक सुरक्षा विज्ञ खरेलका अनुसार यो ट्राफिक लाइटको सिस्टम अपग्रेड गरिएको छ । उनले भने, ‘पहिला हरियो बत्ती बल्दा कति समय बाँकी छ भन्ने टाइम काउन्ट देखाउँदैन थियो । अहिले त्यो टाइम काउन्ट अपग्रेड गरिएको छ । यस्तै पहिले पैदलयात्रुले दुई मिनेट पछि स्विचमा झिमिक्क–झिमिक्क लाइट बलेपछि मात्रै थिच्ने सिस्टम थियो अब भने दुई मिनेट बाँकी हुँदा जतिबेला पनि थिच्न पाउने गरी प्रणाली सेट भएको छ ।’

काठमाडौं महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहाँ ट्राफिक लाइट राखिदिपछि बाटो वारपार गर्नेहरुलाई सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?