+
+
पोखरामा ट्राफिक लाइट :

आधा किमी दूरीमा ३ ठाउँमा लाइट, ट्राफिक प्रहरीलाई हैरानी

विकास रोकामगर विकास रोकामगर
२०८० फागुन १ गते १५:५३

१ फागुन, पोखरा । पृथ्वीराजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल पृथ्वीचोक पोखराकै सबैभन्दा व्यस्त चोकमा पर्छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त चोकमा दैनिक एक लाखभन्दा बढी संख्यामा सवारी साधन ओहोरदोहोर गर्छन् ।

उक्त चोकमा अहिले ट्राफिक लाइट राखिएको छ । लाइट राखिएसँगै लामो समयदेखि हातकै इशाराका भरमा ट्राफिक व्यवस्थापन गर्दै आएका प्रहरीलाई लागेको थियो, ‘अब धेरै दौडधुप गर्नुपर्दैन । लाइट हेरेर सवारी चालक आफैं सतर्क हुनेछन् ।’

तर, भइदियो उल्टो !

पहिले ३ जना आलोपालो खटिने ठाउँमा अहिले ट्राफिक लाइट सञ्चालनमा आइसकेपछि ५ जना ट्राफिक प्रहरी त्यही चोकमै नियमित खटिनुपर्ने बाध्यता आइलागेको छ । ट्राफिक व्यवस्थापन गर्न पहिलेभन्दा बढी मेहनत गर्नु परेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर भानु शर्मा भन्छन्, ‘ट्राफिक लाइट सञ्चान भएपछि अलि सहज होला ! मेनपावर कम लाग्ला भन्ने लागेको थियो । त्यहाँ त झनै झन्झट आइपर्‍यो ।’

पोखरामा अहिले पृथ्वीचोक, सिर्जना चोक, सभागृह चोक, जिरो र विरौटाचोकमा ट्राफिक लाइट तयारी अवस्थामा छ । त्यसमध्ये पहिलो चरणमा पृथ्वीचोकको ट्राफिक लाइटको परीक्षण प्रयोग सुरु गरिएको हो ।

‘अहिले हामी परीक्षणकै क्रममा छौं । कति समय रातो बाल्ने, कति समय हरियो बाल्ने ? पैदल यात्रुलाई कति समय दिने भनेर समय बढाउँदै, घटाउँदै परीक्षण गरिरहेका छौं’, शर्माले भने ।

लाइटसँग अभ्यस्त छैनन् चालक, सडकमा छैन मापदण्ड

ट्राफिक प्रहरीका अनुसार ट्राफिक लाइट सञ्चालन हुँदा पनि सडकअस्तव्यस्त प्रमुख कारण हो, सवारी चालक स्वयं र अपूर्ण सडक संरचना ।

सवारी चालकहरुलाई ट्राफिक लाइटसँग अभ्यस्त बनाउनै प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । ‘सडक प्रयोगकर्ताहरुलाई नै अहिले कुन रङमा के गर्ने भन्ने ज्ञानको अभाव देखियो । उहाँहरुलाई लाइटसँग अभ्यस्त बनाउन एकदम च्यालेन्ज छ’, शर्माले भने ।

सडकमा ट्राफिक लाइट प्रयोग भइसकेपछि जामको समस्या केही घट्नुपर्ने हो । तर, पोखरा पृथ्वीचोकमा भने परीक्षणकै क्रममा पनि अचाक्ली जाम बढेको गुनासो सुनिन थालेको छ । ट्राफिक लाइट सञ्चालन गर्नुअघि सडक पूर्वाधारलाई परिपक्व नबनाउँदा झनै समस्या निम्तिएको त्यहाँ खटिएका ट्राफिक प्रहरी बताउँछन् ।

ट्राफिक लाइट राखिएका ठाउँमा सडक पार गर्न जेब्राक्रस अनिवार्य रुपमा हुनुपर्दथ्यो । तर, अहिले पृथ्वीचोकमा जेब्राक्रस नै छैनन् । भएका जेब्राक्रस पनि रङ खुइलिएर नदेखिइने भइसकेका छन् ।

‘हाम्रो सडक पूर्वाधार पनि राम्रो छैन । ट्राफिक लाइट राखिसकेपछि स्टपिङ लाइन हुनुपथ्र्यो । कहाँदेखि कहाँसम्म रोक्ने भन्ने छैन’, इन्स्पेक्टर शर्मा भन्छन्, ‘अर्को मुख्य भनेको हामीसँग जेब्राक्रस नै छैन । जेब्रा क्रस नभएपछि कहाँबाट बाटो काट्ने ?’

पोखराको महेन्द्रपुलमा गत वर्ष नै ट्राफिक लाइट जडान गरिए पनि हालसम्म प्रयोगमा ल्याउन सकेको छैन । परीक्षण सुरु भएको ३ दिनमै बन्द भएको उक्त लाइट अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

महेन्द्रपुलको उक्त ट्राफिक लाइटमा एक वर्षदेखि पहेंलो बत्तीमात्रै बलिरहेको देखिन्छ ।  जिल्ला ट्राफिक कार्यालय, कास्की प्रमुख शर्माले उक्त लाइट केही प्राविधिक समस्याका कारण प्रयोगमा नआएको स्वीकार्दै पहेंलो लाइट बन्द गर्न प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।

महेन्द्रपुलबाहेक त्यसबाहेक तत्कालका लागि अन्य ५ ठाउँमा ट्राफिक लाइट राख्ने योजनासहित पृथ्वीचोक, सिर्जनाचोक, विरौटा, जिरो र सभागृह चोकमा लाइट जोडिएको हो ।

पोखरा महानगरका २६ ठाउँमा ट्राफिक लाइट जोड्ने सहमति भए पनि पहिलो चरणमा ५ ठाउँमा सडक बत्ती जोडिएको महानगर इन्जिनियर सुरेन्द्र पौडेल बताउँछन् । तर, सडक विभागले जोडेको बत्ती भने अवैज्ञानिक भएको सरोकारवालाले आरोप लगाएका छन् ।

पृथ्वीचोक, सभागृह र सिर्जनाचोक ३ वटा चोकको दूरी मुस्किलले ५ सय मिटर छ । यही ५ सय मिटर दूरीभित्र ३ वटा ट्राफिक लाइट चलाउँदा त्यसले ट्राफिक जामको समस्या निम्त्याउने उनीहरुको चिन्ता छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख शर्मा पनि ५ सय मिटरको दूरीमा ३ वटा ट्राफिक लाइट अनुपयुक्त देखिएको बताउँछन् । ‘पृथ्वीचोकदेखि सभागृह चोकबीचको दूरी १ सय ५० मिटर दूरी जति होला ! त्यति नजिकै ट्राफिक लाइट सञ्चालन गर्दा समस्या देखिने भयो’, शर्माले भने, ‘सभागृहदेखि सिर्जनाचोकको दूरी पनि त्यही २, ३ सय मिटर छ ।’

ट्राफिक लाइट सञ्चालनमा आउँदा जाम हुने अर्को कारण हो, अपूर्ण सडक भौतिक पूर्वाधार । शर्माका अनुसार ट्राफिक लाइट सञ्चालन गर्न मुख्यतः ४ लेनको बाटो हुनुपर्छ । तर, सिर्जनाचोकमा जम्मा २ लेनको सडक छ ।

‘२ लेनको सडकमा ट्राफिक लाइटको कामै छैन । सडकको बायाँ क्षेत्र कहिल्यै पनि रोकिनुहुँदैन । त्यसका लागि ४ लेन सडक नै आवश्यकता पर्छ’, शर्माले भने, ‘तर, पोखरामा २ लेनको सडक हुँदा बायाँ सडकका सवारीचालक पनि रोकिनुपर्ने भो । उनीहरुले अगाडि बढ्ने बाटो नै पाउँदैनन् ।’

पोखरामा भएको एउटामात्रै आकासेपुल सिर्जनाचोकमा छ । २ करोड ३० लाख रुपैयाँमा बनेको उक्त आकासेपुल ०७८ साउनदेखि सञ्चालनमा आएको थियो । तर, उक्त पुल पनि अहिले प्रयोगविहीनजस्तै छ ।

सबैभन्दा बढी सवारी चाप हुने ठाउँमा पुल नबनेको भन्दै सुरुआतदेखि नै विरोध हुँदै आएको थियो । पोखरा महानगरले सवारी चाप बढी हुने अन्य चोकमा आकासे पुल बनाउने योजना ल्याए पनि बनाउन सकेको छैन ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?