+
+

बेलबारीबाट इनरुवामा किन सारियो प्रहरी अस्पताल ?

हरि अधिकारी हरि अधिकारी
२०८० मंसिर २६ गते १९:२९

२६ मंसिर, विराटनगर । कोशी प्रदेशमा रहेको नेपाल प्रहरीको अस्पताल मोरङको बेलबारीबाट सुनसरीको इनरुवा सारिएको छ ।

११ फागुन २०७९ मा तत्कालिन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बेलबारीमा प्रादेशिक प्रहरी अस्पतालको शुभारम्भ गरेका थिए । तर एक वर्ष नपुग्दै उक्त अस्पपतालका सबै सामान सुनसरीको इनरुवामा सारिएको छ । अब कोशी प्रदेश अस्पतालले इनरुवाबाटै सेवा दिनेछ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बेलबारीमा ठाउँ साँघुरो भएका कारण अस्पताललाई फराकिलो ठाउँ इनरुवा सारिएको बताए । इनरुवास्थित जिल्ला समन्वय समितिको भवनमा प्रहरी अस्पताल राखिएको छ ।

बेलबारीमा इलाका प्रहरी कार्यालय नयाँ भवनमा सरेपछि पुरानो भवनमा अस्पताल सञ्चालन गरिएको थियो । तर साँघुरो भवनमा अस्पतालका लागि आवश्यक उपकरण राख्ने ठाउँ नभएपछि इनरुवा सारिएको बास्तोलाले जानकारी दिए ।

‘बेलबारीमा ठाउँ सानो भएका कारण खुला र भौतिक संरचना भएको ठाउँ इनरुवामा सारिएको हो’, उनले भने, ‘कोशी प्रदेशमै छ बाहिर गएको छैन ।’

बेलबारीका बासिन्दाले भने प्रहरी अस्पताल सारेकामा असन्तुष्टि जनाएका छन् । बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राईले प्रहरीले माग गरे अनुसार दुई बिघा जग्गा खोजिदिँदा पनि सल्लाह नगरी सारेको गुनासो गरे ।

‘नगरको अस्पताल पनि बन्दैछ, त्यहीँ समन्वय गरेर चलाउन दिने सल्लाह पनि थियो, प्रहरीले मागेको दुई बिघा जग्गा दिन दाता पनि खोजेका थियौं’, मेयर राईले भने, ‘म बुबाको काममा संखुवासभा आएको छु, आज बिहान मात्रै अस्पताल सारेको थाहा भयो ।’

किन सारियो अस्पताल ?

राजन मेहता इनरुवा नगरपालिकाको मेयर भएका बेला अघिल्लो कार्यकालमा नै प्रहरीको अस्पताल इनरुवा लैजान चाहेका थिए । तर प्रहरीको प्रादेशिक अस्पताल बेलबारीमा स्थापना भयो । मेहता अहिले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख छन् । उनले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की मार्फत प्रहरी अस्पताल बेलबारीबाट इनरुवा सार्न दबाब दिएको स्रोतको दाबी छ ।

मेहताले प्रहरीले खोजेको ठाउँ आफूहरुले उपलब्ध गराएको प्रतिक्रिया दिए । ‘पहिले (आफू मेयर हुँदा) बसपार्कमा राख्न खोजेको थिएँ भएन’, उनले भने, ‘प्रहरीले पनि ठाउँ खोजिरहेको थियो, हाम्रो संरचना खाली नै थियो ।’

इनरुवामा जिल्ला समन्वय समितिको दुई बिघा तीन कट्ठा जग्गा छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?