+
+

गेटामा अनशन बस्न डा. केसीलाई किन भयो अवरोध ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १९:२३

३० मंसिर, धनगढी । गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिले डा‍. गोविन्द केसीको माग प्रदेशवासीको भावनासँग मेल नखाएकाले अनसन बस्न अवरोध गरेको प्रष्टीकरण दिएको छ ।

शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष समितिले गेटामा ६ सय शय्याको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशबासीको माग रहे पनि केसी आफूहरुको मागको पक्षमा नरहेकाले गेटा मेडिकल कलेजमा अनसन बस्न नदिएको बताएको हो ।

संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले भने, ‘लामो समयदेखि मेडिकल विश्वविद्यालय चाहियो भनेर यहाँका जनता संघर्ष गरिरहेका छन् । अहिले आएर उहाँले प्रतिष्ठान वा अन्य कुुनै अन्य ढंगले अघि बढाउनुपर्छ भनेपछि जनभावना र हाम्रो आन्दोलनको मर्म विपरीत गएकाले त्यहाँ(गेटा) मा अनसन बस्न नदिएकै हो ।’

केसीले मेडिकल विश्वविद्यालयको मुद्दालाई विषयान्तर गर्न खोजेको आरोप लगाए ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले डा. केसीलाई ६०० शय्याको अस्पतालसहितको मेडिकल विश्वविद्यालय स्थापनाको माग समेट्न आग्रह गर्दा आफू विश्वविद्यालयको पक्षधर होइन भनेपछि अनसनमा अवरोध गरेको बताए ।

‘हामीले ६ सय शय्याको अस्पतालसहितको विश्वविद्यालयको माग पनि समेट्नुपर्‍यो भनेका थियौँ तर उहाँले म विश्वविद्यालय पक्षधर होइन, म यो माग हाल्दिन भन्नुभयो’, पाण्डेले भने, ‘उल्टै हामीलाई प्रहरी प्रशासनले लगाएका मान्छे  हौ भनेर तुच्छ व्यवहार गर्नुभयो । त्यहाँबाट हामीले लखेटेको होइन । सुदूरपश्चिमको  मुद्दामाथि धावा बोलेपछि हाम्रो क्षेत्रमा बस्न दिदैनौं भनेकै हो ।’

सुदूरपश्चिममा राष्ट्रिय गौरवका पश्चिम सेती लगायतका परियोजना पूरा नभएका बेला सरकारले मेडिकल विश्वविद्यालय स्थापना गर्न प्रक्रिया अघि बढाएर प्रदेशबासीलाई न्याय गरेको उनको भनाइ छ ।

शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न खोजेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीलाई संघर्ष समितिले अनसन बस्न अवरोध गरेको थियो । त्यसपछि उनी शुक्रबार साँझ नै  धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसेका छन् ।

डा. केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग अगाडि सारेका छन् ।

१०० शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरु विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्ड सहित कानुनी व्यवस्था गर्ने; ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग राखेका छन् ।

विगतमा भएका आफूसँग भएका सहमतिको पालना, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्नुपर्ने माग पनि उनको छ ।

यस्तै सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने उनको माग छ ।

तर सुदूरपश्चिममा सरकारले स्थापना गर्न खोजेको मेडिकल विश्वविद्यालयको विरोध गरेको भन्दै शनिबार केसीको विरोधमा धनगढीमा प्रदर्शन समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?