+
+

अर्थतन्त्रमा अघिल्लो सरकारले सिर्जना गरेका समस्या थुप्रिएका छन् : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १७:३४

३ पुस, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अघिल्लो सरकारले सिर्जना गरेका समस्या थुप्रिएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘म अर्थमन्त्री बनेका बेला अर्थतन्त्र अत्यन्त अप्ठ्यारोमा थियो, अघिल्लो सरकारले सिर्जना गरेका समस्या थुप्रिरहेका थिए ।’

अघिल्लो सरकारले ठूला–ठूला बिल्डिङ बनाउने घोषणा गरेको र त्यो अनुत्पादक भएको उनको भनाइ छ ।

उनले भने, ‘बिल्डिङ बनुन्जेल रोजगारी पाइन्छ, सिमेन्ट, छड बिक्री हुन्छ, केही आर्थिक गतिविधि पनि बढ्छ । बिल्डिङ बनिसकेपछि उत्पादन दिन छोड्छ ।’

अघिल्लो सरकारको पालामा जग्गा र सेयर बजार धेरै ऋण लगानी भएको भन्दै यसले समस्या निम्त्याएको उनले बताए ।

‘जग्गा र सेयरको भाउ बढिहाल्छ भनेर लगानी भएको थियो । तर, सधैं भाउ बढ्ने अवस्था थिएन । त्यसबेला जसले ऋण लिए उनीहरु अहिले समस्यामा छन्,’ उनले भने ।

कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको समेत उनले बताए ।

‘कतिपय साथीहरुलाई गठबन्धन किन गर्नुपर्‍यो भन्ने लागेको होला । यी कुरा पार्टीको कोणबाट हेर्दा ठिकैजस्तो लाग्छ । तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन,’ उनले भने ।

देशमा समस्या धेरै भएको, आवश्यकता धेरै भएको र सामर्थ्य कम भएको उल्लेख गर्दै उनले भने, ‘देशको आम्दानी थोरै छ, थोरै आम्दानीले धेरै समस्याको समाधान एकैपटक हुँदैन । तर, समस्या समाधानका लागि हामीले इमान्दार प्रयास गरिरहेका छौं, समर्पणका साथ काम गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?