+
+

अमेरिका उडे अर्थसचिव, खुशी छैनन् अर्थमन्त्री

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० चैत २ गते २१:५१

२ चैत, काठमाडौं । अर्थ मन्त्रालयमा वर्षमान पुन आएको एक हप्तापछि नै अर्थसचिव कृष्णहरि पुष्कर १० दिने भ्रमणका लागि बिहीबार राति अमेरिकातर्फ गएका छन् ।

स्रोतका अनुसार मन्त्रालय आएदेखि नै अर्थमन्त्री पुनले पुष्करलाई तुरुन्तै कुनै भ्रमणमा ननिस्किन भनेका थिए । तर, मन्त्रालयका महाशाखा र निकायको मन्त्रीसँग विस्तृत ब्रिफिङ र छलफलहरु नसकिंदै अर्थसचिव पुष्कर अमेरिका उडेका हुन् ।

मन्त्री पुनले चालु कार्यक्रम र अर्थतन्त्रको अवस्था, सरकारका योजना, कार्यक्रम, स्रोतको अवस्था आदिबारे जानकारी लिने काम सकेका छैनन् ।

मन्त्रालयसम्बद्ध धेरैजसो विषयबारे जानकारी लिन नपाउँदै सचिव पुष्कर अमेरिका भ्रमणमा गएपछि मन्त्री पुनले केही कर्मचारी र निकटस्थहरुसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

सचिव पुष्करको अमेरिका भ्रमण आकस्मिक भने होइन । पूर्वनिर्धारित कार्यक्रम भएको र निमन्त्रणासमेत रहेकाले मन्त्री पुन पनि यसपटक अमेरिका जान सक्ने अवस्था थियो ।

१४ फागुनको मन्त्रिपरिषद बैठकले विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको ‘आईडीए २१ औं रेप्लेनिसमेन्ट’ को दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत आयोजनासम्बन्धी बैठकमा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महत र अर्थ मन्त्रालयका सचिव पुष्करसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको थियो । त्यही निर्णयका आधारमा अर्थसचिव अमेरिका गए पनि अर्थमन्त्री पुनले इच्छा देखाएनन् ।

असोजको अन्तिम साता मोरक्कोको मेराकस पुगेर विश्व बैंकसँग बैठक गरेपछि फर्किएका तत्कालीन अर्थमन्त्री महतले माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दिन विश्व बैंक तयार भएको बताएका थिए ।

मेराकसबाट अर्थसचिव पुष्कर नेतृत्वमा तत्कालीन ऊर्जा सचिव दिनेश घिमिरेसहितको नेपाली प्रतिनिधिमण्डलले अमेरिकाको वासिङ्टनमा पुगेर आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने लगायतका प्राविधिक तथा वित्तीय विषयमा छलफल गरेको थियो ।

लगभग टुंगो लागिसकेको लगानीको विषय भएकाले यसमा फेरि अर्थसचिव नै अमेरिका जानुपर्ने अवस्था नदेखिएको अर्थमन्त्री निकटस्थहरुको दाबी छ ।

तर, अर्थ मन्त्रालयकै कतिपय अधिकारीहरु भने लगानीसम्बद्ध विषय भएकाले उच्चस्तरको उपस्थितिका लागि अर्थसचिवको भ्रमणलाई अन्यथा मान्न नहुने तर्क गरिरहेका छन् ।

आगामी जुनमा काठमाडौंमा विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को २१ औं बैठकको तयारीका लागि पनि अर्थसचिव अमेरिका गएका ती अधिकारीले बताए । आईडीए विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्ने निकाय हो ।

‘जे कामका लागि सचिवज्यू त्यता जानुभयो, त्यसमा उहाँको उपस्थिति अपेक्षित र सामान्य हो’, एक अधिकारीले भने, ‘मन्त्रीज्यूसमेत यो भ्रमणमा जानु भएको भए भविष्यमा दातालाई विश्वासमा लिन उहाँलाई नै सहज हुन्थ्यो ।’

तर, मन्त्रालयमै बसेर पनि दातृ निकायसँग मन्त्री पुनले सम्वाद गरिरहेकाले अमेरिका भ्रमण अहिले प्राथमिकतामा नपरेको मन्त्री निकट स्रोतले बतायो ।

गत सोमबार अर्थमन्त्रीले विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग अर्थ मन्त्रालयमा भेट गर्दै नेपालको अर्थतन्त्र दबाबमा रहेकाले नेपालमा गर्नुपर्ने लगानीलाई प्राथमितामा राख्न आग्रह गरेका थिए ।

अर्थतन्त्र समस्यामा परेको विशिष्ट अवस्थामा जिम्मेवारी सम्हालेको र अर्थसम्बद्ध धेरै विषयहरु टुंगोमा पुर्‍याइहाल्नुपर्ने भन्दै पुनले अमेरिका नजाने निर्णय लिएको स्रोतको दाबी छ ।

उनीहरुका अनुसार मन्त्री पुनले अर्थतन्त्रका समस्या समाधान गर्न भन्दै नियमित रुपमा निजी क्षेत्रसहित विभिन्न पक्षसँग छलफल गरिरहेका छन् ।

अर्थसचिवले रोकेका निर्णय फुक्दै

पुनले अर्थसचिव पुष्कर हिँड्नासाथ दुग्ध किसानहरुको भुक्तानीको समस्या हल गर्न कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटको केही अंश समर्पण गराएर रकमान्तर गर्ने चाँजोपाँजो मिलाएका छन् ।

अर्थमन्त्रीले शुक्रबार अर्थ मन्त्रालयकै राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल दुग्ध किसानको वक्यौता भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाटै भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलित थिए । किसानलाई भुक्तानीका लागि डीडीसीले रकम माग गर्दा अर्थले स्रोत अभावको कारण देखाएर मानेको थिएन ।

‘अर्थसचिवज्यू नै यो निर्णय गर्न नहुने पक्षमा भएकाले समस्या समाधान भएको थिएन’, एक अधिकारीले भने, ‘अब मन्त्रीज्यूले अर्थसचिवको समेत जिम्मेवारी सम्हालेका राजस्व सचिवलाई निर्देशन दिनुभएको छ ।’ राजस्व सचिव घिमिरेले यो निर्देशन क्रमशः कार्यान्वयन गर्ने बताएका छन् ।

मन्त्री पुनले देशभरका हजारौं किसान भुक्तानी नपाएर तड्पिएको अवस्थामा सरकारले किसानका पीडा हेरेर बस्न नसक्ने उल्लेख गरेका छन् । ‘विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ’, मन्त्री पुनको भनाइ उद्धृत गर्दै सचिवालयले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ । पुनले पूर्वअर्थमन्त्री प्रकाशशरण महत र अर्थसचिव पुष्करततर्फ इंगित गर्दै राज्यले बहानाबाजी गरेर किसान, निर्माण व्यवसायी लगायतको भुक्तानी रोक्न नमिल्ने बताएका छन् ।

यसैगरी अर्थ सचिव पुष्कर नभएकै बेला शुक्रबार अर्थमन्त्री पुनकै पहलमा आन्दोलनरत लघुवित्त वित्तीय संस्थाका ऋणीहरुसँग पनि ६ बुँदे सहमति भएको छ ।

‘संसदमा बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल चलिरहेको छ, मन्त्रीज्यू त्यसमा समय दिनुपरेको छ’, मन्त्री पुन निकट स्रोत भन्छ,‘यस्तो बेलामा मन्त्रीले आफू नजाने भनेपछि सचिव आफैंले अमेरिका भ्रमणलाई रोकेको भए हुन्थ्यो, वैदेशिक महाशाखाबाट कसैलाई पठाएको भए हुन्थ्यो ।’

स्पष्ट संकेत गर्दागर्दै सचिव पुष्करले अमेरिका भ्रमण ‘क्यान्सिल’ नगरेकाले पनि पुन असन्तुष्ट बनेको  स्रोतले बतायो । मन्त्रीले काम धमाधम गर्न प्रयत्न गरिरहेका बेला अन्य कर्मचारी सहभागी हुँदा पनि हुने कार्यक्रममा सचिव गएको कारणले मात्रै पुन असन्तुष्ट बनेका भने हैनन् ।

नयाँ बजेट निर्माणमा जुट्न र चालु बजेट कार्यान्वयनमा परेका बाधा फुकाउनपर्ने बेला अर्थ सचिव जिम्मेवार नदेखिएको समेत अर्थमन्त्री पुनको निष्कर्ष छ ।

दिइएको बजेट विकासे सिलिङमा असन्तुष्ट मन्त्रालयहरु अर्थ मन्त्रालयसँग छलफल गर्न चाहिरहेको छन् । ‘यो अर्थसचिव विदेश घुम्ने समय हैन, धेरै भन्दा धेरै पक्षसँग छलफल गरेर मन्त्रीलाई सघाउने र सुझाव दिने हो’ मन्त्री पुन निकट स्रोतले भन्यो, ‘यस्तो कार्यशैलीले आगामी बजेटबाट जस्तो परिवर्तनको आशा जगाउने नेतृत्वको इच्छा छ, त्यसमा बाधा मात्रै पार्छ ।’

‘फेरिन सक्छन् अर्थसचिव’

स्रोतका अनुसार पछिल्लोपटक नयाँ सत्ता गठबन्धन बन्नुअघि प्रधानमन्त्री कार्यालयमा रहेर प्रधानमन्त्रीको ‘अघोषित राजनीतिक सल्लाहकार’को रुपमा काम गर्दादेखि नै पुन अर्थसचिव पुष्करको कार्यशैलीसँग खुशी थिएनन् ।

पदभार ग्रहणपछि नै अर्थमन्त्री पुनले घुमाउरो रुपमा सचिव पुष्करको कार्यशैलीको स्मरण गर्दै ब्यंग्य गरेका थिए । ‘१२ वर्षअघि म अर्थमन्त्री हुँदा उहाँ जोशिलो कर्मचारीका रुपमा मकवानपुरमा प्रजिअ हुनुहुन्थ्यो,’ पुनले स्मरण गर्दै भनेका थिए,’उहाँले भन्सारबाट जाँचपास भएरै आएका गाडी आफैंले रोक्नु भएछ, व्यापारीहरु अर्थ मन्त्रालयमा गुनासो लिएर आए, मैले फोन गरेर विधिवत गर्नुस् भनेपछि उहाँले गाडी छोडिदिनुभयो ।’

अर्थसचिव पुष्करलाई नरुचाएका मन्त्री पुनले मन्त्रालयको प्रशासनिक नेतृत्व अब राजस्व सचिव घिमिरे वा अन्य कसैलाई नै दिनुपर्ने अवस्था आउन सक्ने संकेत  गरिसकेका छन् ।

मन्त्रीहरुले आफू अनुकलको सचिव फेर्ने परम्परालाई पुनले पनि निरन्तरता दिने संकेत गरिसकेका छन् । यसअघिका अर्थमन्त्री महतले २ पटक सचिव हेरफेर गरेका थिए ।

स्रोतका अनुसार पुष्करले आफूलाई अर्थसचिव कायम राख्न मन्त्री पुनलाई विश्वासमा लिन प्रयत्न भने गरिरहेका छन् । तर, पुन भने अर्थसचिव पुष्करको विकल्प खोज्न लागिसकेको स्रोतको दाबी छ ।

२४ असार २०७८ मा मात्रै सचिवमा बढुवा भएका पुष्कर डेढ महिनामै राजस्व सचिवका रुपमा अर्थ मन्त्रालय प्रवेश गरेका थिए ।

आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अनधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गरेको आरोप लाग्दा कृष्णहरि पुष्कर राजस्व सचिव थिए ।

विवाद उत्कर्षमा पुगेपछि तत्कालीन अर्थसचिव मधु मरासिनी बिदा बसे भने मन्त्री शर्माले राजीनामा दिए । तर, पुष्कर त्यतिबेला पनि राजस्व सचिवमा रहेर काम गरिरहे ।

अर्थसचिव बन्ने पुष्करको चाहना संसदीय छानबिनपछि अर्थ मन्त्रालय फर्किएका तत्कालीन अर्थमन्त्री शर्माले नै पूरा गरिदिएका थिए ।

१९ साउन २०७९ को मन्त्रिपरिषद् बैठकले उनलाई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी पनि थपिदिएको थियो । त्यसको एक सातापछि २६ साउन २०७९ मा उनी पहिलोपटक अर्थसचिव नियुक्त भएका उनी २१ पुस २०७९ सम्म पनि अर्थसचिव थिए ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले तोयम रायालाई अर्थ सचिव बनाएपछि पुष्कर सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका थिए । ७ भदौ २०८० तत्कालीन सामान्य प्रशासनमन्त्री अनिता देवीले विनोदप्रकाश सिंहलाई सचिव बनाएपछि पुष्करले झन् आकर्षक अर्थसचिवको जिम्मेवारी पाएका थिए । ३१ भदौ २०८० मा पुष्करलाई अर्थमा ल्याउन तत्कालीन अर्थ सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा निकट सम्बन्ध बनाएका पुष्करले कांग्रेसबाट अर्थमन्त्री भएका प्रकाशरण महतसँग पनि राम्रो सम्बन्ध बताए । त्यसैले यसपटक अर्थमन्त्री वर्षमान पुनको पनि विश्वास जित्न सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘अर्थसचिवज्यूको विशेषता भनेकै जस्तोसुकै जोडबल लगाएर भएपनि शक्तिमा जो छ उसकै प्रिय बन्ने हो,’ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘उहाँलाई नयाँ अर्थमन्त्रीले फेर्ने चर्चामाथि कम्तीमा हामीलाई चाहिँ विश्वास छैन ।’

तर, गत भदौमा अमेरिका भ्रमणमा नै रहेका बेला अर्थसचिव नियुक्त भएका पुष्करको यसपटकको अमेरिका भ्रमण सकेर फर्किनासाथ अर्थसचिव पद खोसिए अचम्म मान्नु नपर्ने मन्त्रालय स्रोतको दाबी छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?