
२ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले २१ फागुनमा गरिने संघीय संसद्को चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख नताक्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले चालु बजेटमार्फत आयोजना बैंकमा प्रविष्ट नगरेका १ हजार ३ सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनामा विनियोजित करिब १ खर्ब १० अर्ब रुपैयाँ भेटिएको जानकारी गराए ।
चालु बजेटमा राखिएका गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकको करिब १२ अर्ब रुपैयाँ निकाल्न सकिने उनले जानकारी दिए ।
काम सुरु नभएका आयोजना पहिचान गरेर बजेट निकालिने उनले बताए । ‘विशेषगरी त्यस्ता योजनाको बजेट निकालिँदै छ, जुन योजनामा बजेट राखेपछि खर्च हुँदैनथ्यो,’ उनले भने ।
अर्थमन्त्रीका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनर्निर्माणमा लगाउने तयारी छ ।
सरकारको प्रमुख लक्ष्य नै निर्वाचन भएको र यसअघि तीन तहको चुनाव गराउन २५ अर्ब रुपैयाँ खर्च भएको हुनाले यसपटक त्योभन्दा कम बजेट खर्च हुन सक्ने आकलन छ ।
तर, सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने र कतिपय पालिकाका भवन जलेका कारण बजेट बढ्न सक्ने खनालको भनाइ छ ।
मन्त्रिपरिषद्ले अहिले नै निर्वाचन आयोगलाई परेको अप्ठ्यारो फुकाउन सबै काम गरिरहेको अर्थमन्त्रीले जानकारी दिए ।
‘आयोगले आवश्यक तयारी टुङ्ग्याउने बित्तिकै अर्थ मन्त्रालयले बजेटको व्यवस्था गर्ने गरी तयारी गर्नेछ,’ उनले भने, ‘सरकारले त्यसका लागि बाहिर कसैको मुख हेर्नुपर्ने वा छिमेकी राष्ट्र कसैसँग कुरा गर्नुपर्ने अवस्था देख्दैन ।’
अर्थ मन्त्रालयले तयार गरेको ‘बिजनेस रिकभरी प्लान’ मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।
पुनरुत्थान योजना (रिकभरी प्लान) मा सरकारको मात्र नभएर सबैको संलग्नतामा तयार भएको उनको भनाइ छ ।
अर्थमन्त्री खनालले तत्काल सरकारको प्राथमिकता आम नागरिकमा आत्मविश्वास जगाउने र घाइते परिवारलाई उपचार अनि ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता अथवा क्षतिपूर्ति उपलब्ध गराउने काम भइरहेको बताए ।
आन्दोलनबाट भएको भौतिक क्षतिको आंकडा संकलन गर्नका लागि सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जेएनका प्रतिनिधि र अन्य निकायबीच टोली बनाएर काम थालिएको खनालले बताए ।
खनालका अनुसार सार्वजनिक निकाय र संरचना पुनर्निर्माण गर्नका लागि बजेटबाटै रकम निकाल्नुपर्ने छ । पुगेन भने क्राउड फन्डिङमार्फत जम्मा गरेर निर्माण गरिने छ । त्यसका लागि तयारी पूरा भइसकेको जानकारी मन्त्री खनालले दिए ।
प्रतिक्रिया 4