+
+

अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते ८:३९

१३ चैत, काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ ।

नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । त्यसक्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधि मण्डलको नेतृत्व गरेका एआईआईबी निर्देशक आरएमपी रथनायकेसहितले टोलीका सदस्यहरुले नेपाल बैंकको उच्च प्राथमिकतामा रहेको बताए ।

रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गरे । उनले नेपाललाई एआईआईबीले प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइएको जानकारी गराए ।

५० प्रतिशत पुँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआईआईबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न मन्त्री पुनले आग्रह गरेका थिए ।

मन्त्री पुनको उक्त आग्रहका लागि धन्यवाद दिँदै रथनायेकेले बहुवर्षीय आयोजनाहरुको छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने औंल्याए ।

मन्त्री पुनले आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता दिए । रथनायेकेले सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने जानकारी दिए ।

मन्त्री पुनले नेपालसहित मध्यम आर्थिक अवस्था भएका विकासोन्मुख मुलुकका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न टोलीसँग आग्रह गरेका छन् ।

एआईआईबीको ब्याजदर तुलनात्मक रुपमा महंगो भएकाले नेपालले अपेक्षित रुपमा ऋण लिन नसकेको उनको भनाइ थियो ।

मन्त्री पुनले नेपाल एआईआईबीको संस्थापक सदस्य भए पनि महंगो ब्याजदरका कारण सोचेजति लाभ लिन नसकेको स्पष्ट गरे ।

नेपालमा पूर्वाधार विकासमा धेरै काम गर्न काँकी रहेकाले सहुलियतपूर्ण ऋण जरुरी हुने मन्त्री पुनले बताए ।

सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै आन्तरिक श्रोतको सीमितताका कारण बाह्य श्रोत जुटाउन आवश्यक रहेको उनले स्पष्ट गरे ।

पुनले पूर्वाधार विकाससहित जलविद्युत, पर्यटन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न टोलीलाई आग्रह गरे ।

जलविद्युतका लागि क्षेत्रीय बजारको सुनिश्चितता भएकाले सो क्षेत्र लगानीका लागि आकर्षक रहेको पुनले औंल्याए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतसँग १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको जानकारी दिंदै उनले बजारको समस्या नरहेको स्पष्ट गरे ।

यस्तै बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता भएको र ४० मेगावाट बिजुली छिट्टै बंगलादेश निर्यात गर्न लागिएको बताए ।

आगामी सन् २०२६ मा नेपालले सहश्राब्दी विकास लक्ष्य हासिल गर्नैपर्ने भन्दै उनले उक्त लक्ष्य छुन नेपालमा लगानी विविधिकरण गर्न उनको आग्रह थियो ।

यस्तै नेपालले विकास आयोजनामा जलवायु वित्तको परिचालन गर्ने सोच बनाइएकाले त्यसका लागि समेत सहयोग गर्न मन्त्री पुनले भने ।

देशभित्र र बाहिरको समेत निजी क्षेत्रलाई लगानीका लागि थप विश्वासको वातावरण निर्माण गर्न विद्यमान कानूनमा सुधार गर्र्दै लैजाने प्रतिबद्धता मन्त्री पुनको थियो ।

एआईआईबीको दक्षिण कोरियाली कम्पनी प्रमुख लगानीकर्ता रहेको २ सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा ४० मिलियन अमेरिकी डलर बराबरको लगानी छ ।

यस्तै लुम्बिनी र कर्णाली प्रदेशमा निर्माणाधीन केही विद्युत प्रसारण लाइनमा पनि एआईआईबीले लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?