+
+

जो बेवारिसे गाईवस्तुलाई खाना, छाना, उपचार र माया दिइरहेका छन्

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० चैत ३० गते ९:०४

काठमाडौं । गाईलाई पूजा गर्ने यो समाजले सबैभन्दा बढी दोहन गरेको प्राणी पनि त्यही गाई नै हो । जन्मिएर तंग्रिन नपाउँदै दाम्लोले बाँधेको गाईवस्तुलाई जीवनभर मान्छेले एउटै थलामा राख्छ । त्यसबाट दूध र मल लिन्छ । जब गाईवस्तु बूढो र रोगी हुन्छ, गोठबाट लखेट्छ ।

त्यति मात्र होइन, दूधकै लागि गाईलाई वर्षैपिच्छे गर्भिणी बनाइन्छ । बाच्छो जन्मिएमा गोठमा बस्न दिइँदैन । आमाबाट छुटाएर लखेटिन्छ ।

यसरी थुप्रै गाईवस्तु सडकमा आइपुग्छन्, आहारको खोजीमा । यस क्रममा कति खाना नपाएर दुब्ला हुन्छन्, कति गाडीको ठक्करबाट अंगभंग हुन्छन्, कति अन्य जन्तुको टोकाइबाट रेबिज संक्रमित हुन्छन्, कति भोकको कारण प्लास्टिक खाएर रोगी हुन्छन् ।

बिजोग अवस्थामा रहेका यस्तै गाईवस्तुको स्याहारसुसारमा जुटेका छन्, उत्तम पुडासैनी । बितेको पाँच वर्षयता उनले दिनहुँ घाइते र रोगी गाईवस्तुको उद्धार गर्दै आएका छन् । यसका लागि उनीसँग एउटा स्वयंसेवक टोली छ, जसले निःशुल्क र निशर्त सहयोग गरिरहेका छन् । उनीहरुसँग एउटा पशु एम्बुलेन्स छ । कागेश्वरी नजिकको चरन क्षेत्रमा गोठ बनाएका छन् ।

‘उद्धार गरेर ल्याएका गाईवस्तुलाई हामी चारवटा कुरा दिन्छौं’ पुडासैनी भन्छन्, ‘खाना, छाना, उपचार र माया ।’

अहिले उनको दैनिकी यस्तै गाईवस्तु ल्याउने, घाँस र कुँडो खुवाउने, औषधि उपचार गरिदिने उपक्रममा बित्दो छ । उनी भन्छन्, ‘यो मैले एकदमै प्रेमको भावले गरेको काम हो । यी अवोध पशुहरुलाई खान, बस्न र स्याहार गर्दा मलाई सन्तुष्टि भन्दा अरु केही मिल्दैन । तर त्यही सन्तुष्टि नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो ।’

लगभग एक दशक अमेरिका बसेर फर्किएका पुडासैनीलाई आखिर के कुराले यस्तो सत्कर्ममा डोर्‍यायो त ?

काठमाडौंको खोलानालामा गाईवस्तुको लासैलास देखेपछि

अमेरिकाबाट फर्किएपछि पुडासैनी बागमती सरसफाइमा जुटेका थिए । बागमतीमा सहरका फोहोरमैलासँगै मरेका पशुहरु सराबरी हुन्थे । ‘दिनमा तीन-चारवटा गाईबाछा मरेको भेटिन्थ्यो’ उनी सुनाउँछन्, ‘त्यसलाई नदी छेउ गाडिदिन्थें ।’

यसरी खोलामा दिनदिनै मृत गाईवस्तु भेटिंदा उनमा अनेक प्रश्न जाग्थ्यो, खिन्नता पनि । आखिर यत्तिका गाईवस्तु कसरी मरिरहेका छन् ? कहाँबाट यहाँ मिल्काइन्छ ? किनभने एकै दिनमा १४ वटासम्म मरेका गाईबाच्छा भेटेको उनी सुनाउँछन् ।

गाईबाच्छा मरेको भेटेपछि उनलाई त्यसको उद्धार गर्नुपर्छ भन्ने लाग्यो । बिजोग अवस्थामा रहेका गाईबाच्छा कहाँ लगेर स्याहारसुसार हुन्छ, कसले उपचार गर्छ भनी सोधीखोजी गरे । कतैबाट सकारात्मक जवाफ पाएनन् । अन्ततः उनी आफैं यी अवोध प्राणीको स्याहारसुसारमा जुटे ।

बाच्छी गोठमा, बाच्छो मासु पसलमा

काठमाडौं उपत्यकामा भेटिने बेवारिसे गाईवस्तु उद्धार गरिरहँदा उनले के पाए भने मान्छेले बाच्छीलाई राख्ने र बाच्छोलाई लखेट्ने गरेका पाए । दूध खान नदिई आमाबाट छुटाएर उनीहरुलाई टाढा–टाढा पुर्‍याउने र छाडिदिने प्रवृत्ति व्यपाक रहेछ । यसैगरी रोगी भइसकेको, बूढो भइसकेका गाईवस्तुलाई पनि मान्छेले गोठबाट लखेट्ने रहेछन् ।

यसरी लखेटिएका गाईवस्तु भोकभोकै भौतारिने गर्छन् । भोककै कारण उनीहरु प्लास्टिक खान्छन् । प्लास्टिकले गर्दा पेटमा गम्भीर रोग लागेर थलिने रहेछ ।

पछिल्लो समय भने यसरी बेवारिसे भएका बाच्छाबाच्छीको तस्कर हुने क्रम पनि बढेको उनले पाएका छन् । ‘अघिल्लो दिन भेटिएको गाईबाच्छा तुरुन्तै उद्धार गरिएन भने अर्को दिन गायब भइसक्छ’ उनी सुनाउँछन्, ‘मलाई लाग्छ त्यस्ता गाईबाच्छा मासु पसलमा लगिन्छन् ।’

संघर्ष’को मर्मस्पर्शी कथा

केही वर्षअघि ।

कसैले फोनमा भन्यो, ‘रानीबारीमा एउटा बाच्छोलाई गाडीले हिर्काएको छ ।’ उत्तम पुडासैनीको टोली तुरुन्तै त्यहाँ पुग्यो । बाच्छोको दुवै खुट्टा भाँचिएको थियो । उनीहरुले त्यसलाई गाडीमा हालेर ल्याउँदै गर्दा बालाजु नयाँ बसपार्कको पुलमुनि कुकुरहरु एकोहोरो भुकिरहेको सुने ।

उनीहरु गाडीबाट ओर्लिएर त्यहाँ हेर्न जाँदा देखे, एउटा सानाे बाच्छी मरेतुल्य अवस्थामा छट्पटाइरहेकाे छ । उसको शरीरभरि घाउ छ । उनीहरुले अर्को बाच्छोसँग त्यस बाच्छीलाई पनि गाडीमा हालेर ल्याए । औषधि लगाइदिए । खुब स्याहार गरे । दुई वर्ष बित्यो । अहिले त्यो बाच्छी माउ (आमा) बनिसकेकाे छ । मृत्युसरह जीवन झेल्दै आमा बनेकाे उक्त गाईको नाम राखिदिएका छन्, संघर्ष ।

मर्मस्पर्शी कुरा त के भने संघर्षले आफ्नो मात्र होइन, अरु अलपत्र परेर ल्याइएका पाँचवटा बाच्छालाई पनि दूध चुसाएर हुर्काए ।

यस्तै अर्को गाईको नाम उनीहरुले ‘बिजुली’ राखिदिएका छन् । बिजुलीको कथा पनि मार्मिक छ । ‘उक्त गाईलाई बधशालामा लगिएको रहेछ काट्नका लागि’ पुडासैनी सुनाउँछन्, ‘त्यहाँबाट दाम्लो चुँडालेर त्यो भागेछ । यसरी भाग्दा उसको जीउको मासु नै लुछिएको थियो ।’

यसरी भागेको गाईबारे कसैले पुडासैनीको टोलीलाई खबर गर्‍यो । उनीहरु पुग्दा सो गाई अत्यधिक रक्तश्रावको कारण इन्तु न चिन्तुको अवस्थामा थियो । उनीहरुले पशु एम्बुलेन्समा राखेर सो गाईलाई गोठमा ल्याए । उपचार गरे । लामो समयपछि गाई तंग्रियो । ‘अहिले हाम्रो गोठमा भएका सबै गाईबाच्छाको अभिभावक उही हो,’ पुडासैनी सुनाउँछन् ।

यद्यपि बिजुलीको डर अझै भागेको छैन । बाहिरको मान्छे नजिक आउँदा डराएर भाग्ने गरेको उनी बताउँछन् । यस्ता थुप्रै गाईबाच्छा छन्, जो सडक वा खोला किनारमा बिजोग अवस्थामा भेटिन्छन् । त्यस्ता गाईबाच्छा ल्याएर पुडासैनीको टोलीले उपचार गर्ने, दानापानी दिने, घाँस दिने गरिरहेका छन् ।

काठमाडौंमा यसरी बिजोग भएका अधिकांश बाच्छा छन् । बाच्छा जन्मिएपछि किसानले गोठबाट कतै टाढा लगेर छाडिदिने गरेको पाइन्छ ।

यसरी छाडिएका गाईबाच्छा अत्यन्तै बिजोग अवस्थामा पुग्ने गरेका छन् । खान त पाउँदैनन् नै आरामले बस्न र मर्न पनि पाउँदैनन् । कसैको पूरै खुट्टा भाँचिएको हुन्छ । कसैको शरीरभरि घाउ हुन्छ । यसरी भेटिएका गाईबाच्छा उपचारपछि पनि बचाउन गाह्रो हुन्छ । जति बाँच्छन् त्यसलाई भने माया ममता दिएर हुर्काउने गरेको पुडासैनी बताउँछन् ।

करिब दुई सय गाईबाच्छाको धाईआमा

पुडासैनी आफैं घाँस काट्छन्, थला सोहोर्छन्, खोले पकाउँछन् । परिआए पशु एम्बुलेन्स कुदाउँछन् । घाइते, बेवारिसे गाईबाच्छा गोठमा ल्याउँछन् । खुब स्याहारसुसार गर्छन् । यसरी उनी गाईबाच्छाका उनी धाईआमा बनेका छन् ।

उनका अनुसार दिनहुँ एक–दुईवटा गाईबाच्छा उद्धार गरेर ल्याउने गरेका छन् । त्यसमध्ये अहिले १७८ वटा गाईबस्तु गोठमा छन् ।

‘अहिले कृषि अनुदान पाइने लोभमा पहुँचमा भएकाहरु गाईवस्तु पाल्ने गर्छन् । उनीहरुले केवल पैसा पाउनका लागि गाईवस्तु पाल्ने भएकाले त्यससँग भावनात्मक सम्बन्ध जोडिएको हुँदैन,’ पुडासैनी भन्छन्, ‘त्यस्ता मान्छेहरुले गाईबाट आम्दानी पाउन छाडेपछि सडकमा ल्याएर छाडिदिन्छन् ।’

यसरी छाडिएका गाईवस्तुलाई मान्छेले ‘छाडा चौपाया’ भनी अरु तिरस्कार गर्छन् । छि:छि: दूरदूर गर्छन् । उनीहरु खान नपाएर, पानी नपाएर भोकभोकै तड्पिएर बाँचिरहेका हुन्छन् । त्यसमाथि धेरैजसो गाईबाच्छालाई गाडी, मोटरसाइकलले हिर्काएर अंगभंग बनाइदिन्छन् ।

‘बिचरा उनीहरु बोल्न सक्दैनन्, आफ्नो पीरमर्का सुनाउन सक्दैनन्,’ पुडासैनी भन्छन्, ‘त्यसैले यस्ता पशुहरुमाथि मान्छेले जथाभावी ज्यादती गर्छन् ।’

जन्मदिनमा पुण्य गरौं

पुडासैनीका अनुसार यो काम उनको नितान्त स्वेच्छाले रोजेको हो । यसमा न लोभ छ, न करकाप । न कतैबाट दबाब, न देखावटी । त्यसैले यसमा उनले आफ्नै खर्च जुटाउने गरेका छन् । धेरैजसोले स्वयंसेवा गरिरहेका छन् ।

गाईबाच्छाको स्याहारसुसार गर्ने उनीहरुको टोलीले विना कुनै प्रलोभन स्वस्फूर्त सहयोग गरिरहेका छन् । ‘हामी कसैलाई पैसा माग्न जाँदैनौं,’ पुडासैनी भन्छन्, ‘यद्यपि कतिपयले आफ्नो जन्मदिनमा, बालबच्चाको जन्मदिनमा यी गाईवस्तुलाई खुवाउन भनी पैसा दिन्छन् । यसलाई चाहिं हामी सहर्ष स्वीकार गर्छौं ।’

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?