News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा करिब दुई तिहाइ सिट सहित सरकार बनाउने अवस्था बनेसँगै वाचापत्र कार्यान्वयनका लागि बाटो खुलेको बताएको छ।
- रास्वपाले सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत क्षेत्रमा समयसीमा तोकेर कार्य गर्ने वाचा गरेको छ।
- रास्वपाले पाँच वर्षभित्र १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने, ३० हजार किमि राष्ट्रिय राजमार्ग निर्माण गर्ने र १५ हजार मेगावाट विद्युत् क्षमता हासिल गर्ने लक्ष्य राखेको छ।
२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा करिब दुई तिहाइ सिट सहित बलियो सरकार बनाउने अवस्था बनेसँगै उक्त दलले सार्वजनिक गरेको वाचापत्र कार्यान्वयनका लागि बाटो खुलेको छ ।
जनतामाझ मत माग्दा रास्वपाले बहुमत सहितको मतका लागि नागरिकसँग अपील गरेको थियो । रास्वपाले सरकार बनाउँदा पाँचभित्र गर्ने कार्यहरु उल्लेख गर्दै कार्यान्वयनको वाचा मतदाता सामू गरेको थियो ।
सुशासन, शिक्षा, स्वास्थ्य, रोजागारी लगायतका क्षेत्रमा समयसीमा तोकेर गरिने कार्यहरु वाचापत्रमा उल्लेख गरिएको छ ।
‘मुलुकमा थिति बसाउनका लागि’ आफ्नो सरकार कार्य गर्ने वाचा रास्वपाले गरेको छ । सरकार निर्माण गरेपछि सय दिनमा गरिने कार्य सहित सन् २०३५ सम्म गर्ने गरिने योजनाहरूमा लक्ष्य बनाएको छ ।
सुशासनको क्षेत्रमा राज्य संरचनाको दलीय दोहन हटाउने रास्वपाले वाचा गरेको छ । प्रक्रिया केन्द्रित भ्रष्टाचार, लाइसेन्स राज, सामान्य सेवा लिन समेत बिचौलियाको शरण पर्ने बाध्यता हटाउने रास्वपाको प्रतिबद्धता छ ।
आफ्नो नेतृत्वमा सरकार हुँदा ‘भ्रष्टाचार विरोधी महाअभियान’ सञ्चालन गर्ने वाचा गरेको रास्वपाले सरकारी उच्च ओहोदामा रहेकाहरुको २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्चायोग गठन गर्ने प्रतिबद्दता गरेको छ । अवैध रुपमा आर्जित सम्पत्ति जफत र राष्ट्रियकरण गर्न कार्यविधि तयार गरी कार्यान्वयन गर्ने वाचा गरिएको छ ।
नेपाललाई ‘सम्मानजनक मध्यम आय भएको मुलुक’ बनाउन औसत आर्थिक वृद्धि दर वार्षिक ७ प्रतिशत (स्थिर मूल्यमा) कायम गर्ने वाचा रास्वपाले गरेको छ । पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा ३ हजार डलर पुर्याउने वाचा गरेको रास्वपाले अर्थतन्त्रको आकार १०० अर्ब डलर बनाउने लक्ष्य बनाएको छ ।
भारतीय रुपयाँसँग स्थिर विनिमय दरलाई अध्ययनका आधारमा पुनरावलोकन गर्ने रास्वपाको वाचा छ । पाँच वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने वाचा गरेको रास्वपाले रोजगारी सिर्जना आइटी, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग, सेवा व्यापार लगायतबाट हुने जनाएको छ । औद्योगिक पूर्वाधारमा लगानी मार्फत बाध्यकारी वैदेशिक रोजगारीलाई २० प्रतिशतले न्यूनीकरण गर्ने वाचा गरिएको छ ।

सूचना प्रविधिका सेवा निर्यातलाई वार्षिक ५० अर्ब माथि पुर्याउँदै ‘डिटिजल नोम्याड’का लागि उच्च गतिको इन्टरनेट र ‘को वर्किङ स्पेस सहितको पूर्वाधार निर्माण गरी नेपाललाई दक्षिण एसियाकै उत्कृष्ट प्रविधि केन्द्र बनाउने रास्वपाले वाचा गरेको छ ।
आगामी पाँच वर्षमा आइटी सेवा निर्यातबाट ३० अर्ब डलर पुर्याउने लक्ष्य राखिएको छ । नेपाललाई ग्लोबल टेक हब बनाउन सात प्रदेशमा अत्याधुनिक डिजिटल पार्क निर्माण गर्ने वाचा गरिएको छ ।
सरकार गठन भएको सयदिन भित्रमा सहकारीका साना वचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्ने वाचा रास्वपाले गरेको छ ।
बचतकर्ताको रकम सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत वचत सुरक्षा कोष’ स्थापना गर्ने प्रतिवद्दता गरिएको छ । कुनै सहकारी सञ्चालकले बचतकर्ताको रकम फिर्ता गर्न तयार हुने र फिर्ताको योजना सहित स्रोत सुनिश्चित गरेको अवस्थामा ‘मिलापत्र’को कानुनी बाटो रास्वपाले खुला गरेको छ ।
सहकारी सञ्चालक थुना बाहिर रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर प्रदान गर्ने वाचा गरिएको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठन हुने सरकारले उत्पादनमुखी अर्थतन्त्र ध्यान दिने वाचा गरेको छ ।
आगामी पाँच वर्षभित्र नेपाललाई ‘रेमिट्यान्सको मात्र भर पर्ने’ परनिर्भरताबाट मुक्त गरी ‘उत्पादन र निर्यात’ उन्मुख अर्थतन्त्र बनाउने वाचा गरिएको छ ।
आन्तरिक विद्युत् खपतलाई ८ हजार मेगावाट पुर्याउँदै घरायसी र औद्योगिक क्षेत्रमा एलपी ग्याँसको आयातलाई ५० प्रतिशतले घटाउने प्रतिबद्धता गरिएको छ ।
३० हजार किमि राष्ट्रिय राजमार्ग निर्माण गर्ने वाचा गरेको रास्वपाले राष्ट्रिय गौरवका आयोजनाहरुलाई आगामी २ वर्षभित्र अनिवार्य सम्पन्न गर्ने भएको छ ।

रास्वपाले गौरवका आयोजनाहरुलाई नतिजामुखी समयवद्ध कार्ययोजना लागु गर्ने भएको छ । आगामी पाँच वर्षमा १० वटा राष्ट्रिय महत्वका ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने लक्ष्य बनाइएको छ ।
१५ हजार मेगावाट विद्युत् जडित क्षमता र ‘स्मार्ट राष्ट्रिय ग्रीड’ मार्फत नेपाललाई उर्जा निर्यातको केन्द्र बनाउने रास्वपाको वाचा छ । उर्जा व्यापारमा नीजि क्षेत्रको संलग्नता खुला गर्ने कानुनी व्यवस्था गरिने भएको छ ।
ऊर्जा व्यापारमा विद्यमान ३५ वर्षे उत्पादन अनुमतिको व्यवस्थामा एकरुपता कायम गरी ५० वर्ष पुर्याउने वाचा गरिएको छ । उर्जा खपतलाई सन् २०३५ मा प्रति व्यक्ति १५ सय किलोवाट आवर पुर्याउने संकल्प रास्वपाले गरेको छ । आगामी दशकमा ३० हजार मेगावाट विद्युत क्षमता हासिल गर्ने लक्ष्य बनाइएको छ ।
२०८७ सालसम्ममा परम्परागत ‘धारा वितरण’ को तरिकालाई पूर्णत विस्थापित गरिने भएको छ । रास्वपाले आधुनिक प्रविधिमा आधारित वितरण प्रणाली मार्फत २४ घण्टा नै आउने स्वच्छ पानीको व्यवस्था गर्ने वाचा गरेको छ । प्रमुख सहरको वायू प्रदुषणको ५० प्रतिशतले घटाउने लक्ष्य राखिएको छ ।
सार्वजनिक संस्थानहरुलाई वर्गीकरण गरी गाभ्ने, नीजि–सार्वजनिक मोडलमा लाने, रणनीतिक साझेदार भित्र्याउने, विकेन्द्रित गर्ने गरी फरक फरक प्रकृतिबाट छुट्याउने वाचा गरेको छ ।
‘कृषि गरेर धनी हुन सकिन्छ’ भन्ने विश्वास बढाउँदै कृषिमा उत्पादकत्व वृद्धि गर्न नीति तथा कार्यक्रम बनाउनुको साथै पर्याप्त स्रोत विनियोजन गरिने वाचापत्रमा उल्लेख छ ।

कृषि उपजको प्रशोधन तथा मूल्य अभिवृद्धि हुने उद्योगलाई कर छुट, भन्सार सहुलियत तथा लगान प्रोत्साहनका प्रभावकारी उपाय लागु गर्ने वाचा गरिएको छ ।
नागरिकलाई शत प्रतिशत बीमा गरिएको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्दता गरेको रास्वपाले सार्वजनिक शिक्षाको आमूल सुधार गर्ने वाचापत्रमा लेखेको छ ।
जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित ’एकीकृत सामाजिक सुरक्षा’ को ग्यारेन्टी गरिने रास्वपाको प्रतिवद्दता छ ।
नेपाल घुम्न आउने पर्यटकको संख्या र उनीहरु खर्चलाई दोब्बर गराउने गरी आवश्यक नीतिहरु बनाउने वाचापत्रका उल्लेख छ ।
नागरिक उड्ययन प्राधिकरणलाई नियामकीय र सेवा प्रवाह गरी अलग–अलग बनाउने वाचा गरिएको छ । वायु सेवा निगमको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रतिस्पर्धाबाट छनोट भएको व्यवसायीक टोलीलाई प्रदान गर्ने रास्वपाको प्रतिबद्धता छ ।
नेपाल एयरलाइन्सको सुधारका लागि वित्तीय अवस्था सुधार्न ५१ प्रतिशत सरकारको स्वामित्व हुने गरी नीजि क्षेत्रको सहभागिता भित्र्याउने वाचापत्रमा उल्लेख छ ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउन विमानहरुलाई शुल्क छुट गर्ने संकल्प रास्वपाले गरेको छ ।
यी दुई विमानस्थल प्रभावकारी बनाउने भारतसँग प्रवेश र निगर्मनमा कूटनीतिक पहल गरिने वाचापत्रमा लेखिएको छ ।
प्रतिक्रिया 4