२९ फागुन, काठमाडौं । भारतका लागि इरानी राजदूत मोहम्मद फतालीले मध्यपूर्व तनावका बिच स्टे«ेट अफ हर्मुजमा भारतलाई सुरक्षित बाटो दिने बताएका छन् । इजरायल–अमेरिकासँगको युद्धमा इरानले स्टे«ेट अफ हर्मुज बन्द गरेको छ । जसले विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको संकट पैदा भएको छ ।
सोही प्रसंगमा भारतस्थित इरानी राजदूत फतालीसँग पत्रकारले इरानले भारतलाई सुरक्षित बाटो दिने वा नदिने भन्ने प्रश्न सोधेका थिए ।
जसको जवाफमा फतालीले भने, ‘दिन्छौँ । किनभने भारत हाम्रो मित्र हो ।’ भारत र इरानबिच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध छ । सोही कारण भारतले इरानबाट ठुलो मात्रामा इन्धन आयात गर्दै आएको छ ।
‘हाम्रो मान्यता छ कि इरान र भारत मित्र हुन र हाम्रा हितका मुद्दा समान छन्,’ पत्रकारको प्रश्नमा राजदूत फतालीले भने, ‘भारतमा इरानको राजदूत हुनुको नाताले भारत सरकार यस स्थितिमा युद्धपछि अलग–अलग क्षेत्रमा इरानको मद्दत गर्नेछ भन्ने अपेक्षा छ ।’
शुक्रबार भारतको पेट्रोलियम र ग्यास मन्त्रालयले स्टे«ट अफ हर्मुजमा भइरहेको नाकाबन्दीलाई लिएर चिन्ता प्रकट गरेको थियो । मन्त्रालयकी सचिव सुजाता शर्माले भनेकी थिइन्, ‘स्ट्रेट अफ हर्मुज भएर हाम्रो ठुलो तेल आयात हुन्छ ।’ यद्यपि नाकाबन्दीका बाबजुत पनि हालसम्म स्टक नरित्तिएको उनले दाबी गरेकी थिइन् ।
नेपालमा पनि भारतबाटै पेट्रोलियम पदार्थ आयात हुन्छ । भारतमा नै त्यसको संकट भएको अवस्थामा नेपालमा झन् कठिनाइ हुने चिन्ता बढिरहेको छ ।
प्रतिक्रिया 4