जीवनले भोक पस्केपछि,
भोकबाट आफूलाई जोगाउन यहाँ थाल भर्नु छ।
जीवनले रोग दिएपछि बिकल्प दुई
जीवन चलाउनु वा मर्नुछ ।
बरू कपडा चहिँदैन जीवनले नङ्ग्याए पछि
यहाँ ‘श’बाट शिक्षा बिक्दैन,
यहाँ ‘स’बाट सिप बिक्दैन
यहाँ ‘श’ बाट शरीर बिक्दैछ
खरिद गर्न आउनेलाई सुवर्ण अवसर!
कसले भन्यो अङ्ग साट्दैमा इज्जत लुटिन्छ ?
खानाका लागि माग्दै हिँड्दा गएको इज्जत, इज्जत होइन ?
पेटीमा सुत्दा सिरानी बनेका यी हात , के इज्जत ढाक्न जान्दछन ?
छाक टार्न नसके पछि ?
हो बेच्दैछु आफ्नो शरीर
मेरो शरीर बिक्रीमा छ ।
मेरो हो, मेरै हो
छिनभरलाई अरू कसैलाई भाडामा दिने गरेको छु।
सोही भाडा उठाएर जीवन धान्ने गरेको छु।
कसैको जाङमा मेरो आङ दिँदा मेरो इज्जत घट्छ भने
महोदय , भो चाहिँदैन यो इज्जत ,
जो बस समाजका लागि
एउटा चिसो बर्को सरी भएर बसेको छ।
के बेच्नु मैले सिकाइदेऊ मलाई ?
कसरी बाँच्नु सिकाइदेऊ मलाई ?
खाना नपाई मेरो परिवार रोएको देख्दा मेरो इज्जत बढ्छ ?
छानो नभए मेरो परिवार रोएको बेला, के मेरो इज्जत बढ्छ ?
यौवन छाउन्जेल विक्री गरी मेरो शरीरलाई ,
यो समाजमा मेरो पनि अस्तित्व बनाउनु छ।
पैसालाई सम्पन्नता मान्ने यो समाजलाई
शरीर बेचेरै भएपनि सम्पन्न भै देखाउनु छ ।
जहाँ चुलो बाल्न म जल्नुपर्छ ,
छानो टाल्न म फाटिनुपर्छ ।
चार भित्ताभित्र म नाङ्गिँदा , मेरो समाज जङ्गिन्छ भने
मलाई सिकाइदेऊ, म के बेचेर मेरो परिवार धानौँ ?
अनि सिकाइदेऊ, यो शरीरलाई मात्रै कसरी इज्जत मानौँ ?
त्यसैले मौका नछुटाउनुस!
सुवर्ण अवसर ! सुवर्ण अवसर ! सुवर्ण अवसर !
जीवनले भोक पस्किएपछि भोकबाट आफूलाई जोगाउन
‘श’बाट शरीर बिक्दैछ खरिद गर्न आउनेलाई
सुवर्ण अवसर !
प्रतिक्रिया 4