+
+

दक्षिण कोरियामा स्वचालित रात्रीबसको परीक्षण सफल

सन् २०२७ मा सार्वजनिक यातायात स्वचालित बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते २०:३३

९ वैशाख, काठमाडौं । दक्षिण कोरियाले राजधानी सोलमा चालकरहित रात्री बस सञ्चालन गर्ने भएको छ । त्यसका लागि प्राविधिक परीक्षणसमेत सफल भएको बीबीसीले उल्लेख गरेको छ ।

मध्यराति सोलमा सवार हुने ए ट्वान्टी वान बसमा यसको परीक्षण गरिएको थियो । ड्राइभिङ सिटमा बसेका चालकले ड्यासबोर्डमा रहेको रातो बटन दबाउनेबित्तिकै बस स्वचालित प्रणाली अनुसार गुड्न थाल्यो । ड्राइभरले स्टेरिङबाट हात र एक्सिलेटर तथा ब्रेकबाट आफ्नो गोडा हटाए ।

ट्राफिक लाइटको संकेत अनुसार रोकिनुपर्ने ठाउँमा रोकिँदै अघि बढ्नुपर्ने ठाउँमा अघि बढ्दै बस गुडिरह्यो । बस स्वचालित प्रणालीमा चलेको संकेत यात्रुले भने पाएका थिएनन् । ड्राइभर सिटमा रहेका पार्क काङ युले भने, ‘एक दिन सोलमा चल्ने सबै बस चालकरहित हुनेछन् ।’

स्मार्ट योर मोबिलिटी कम्पनीले चार वर्षदेखि सहरमा चालकरहित रात्री बस सञ्चालनका निम्ति परीक्षण गरिरहेको थियो । चालकरहित यात्रुबस सञ्चालनमा आए यो विश्वकै पहिलो हुने कम्पनीको दाबी छ । यस्ता सवारी साधनलाई स्वचालित सवारीसाधन भनिन्छ ।

निकै कम जनशक्तिले रातिको समयमा बस चलाउन खोज्ने भएकाले विकल्पका रूपमा स्वचालित प्रणालीमा आधारित बस सञ्चालन गर्न लागिएको पार्कले बताए । ‘धेरै कम मानिसले मात्रै रात्रीकालीन बस चलाउन मन गर्छन् । यो प्रणाली लागू भएमा जनशक्तिको रिक्तता पूर्तिका लागि सहज हुनेथियो’, उनले बीबीसीसँग भनेका छन् ।

रातको समयमा सडक पनि व्यस्त नहुने भएकाले स्वचालित प्रविधिमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु निकै उपयुक्त हुने कम्पनीको भनाइ छ ।

स्वचालित प्रणालीमा बस चलाउँदा सुरक्षाका उपाय अनिवार्य छ । यात्रुहरु सिटमा बसेकै हुनुपर्ने र सिट बेल्ट बाँध्नैपर्ने नियम छ । परीक्षणका क्रममा ए २१ ले स्वचालित प्रणालीमा २० टिप गरेको थियो । त्यसक्रममा निकै सहजतापूर्वक यात्रा सम्पन्न भएको स्मार्ट योर मोबिलिटीले जनाएको छ ।

सुरुमा स्टेरिङ स्वचालित रुपमा घुम्दा यात्रुहरु डराएका थिए । तर विस्तारै उनीहरुमा त्रास हट्दै गएको थियो । स्वचालित बसमा यात्रा गर्न पाउँदा कतिपय यात्रु उत्साहीसमेत थिए ।

स्वचालित भनिए पनि कहीँ कहीँ भने ड्राइभरले नै स्टेरिङ र ब्रेकमा तालमेल मिलाउनुपरेको थियो । यसको अर्थ मानवरहित तरिकाले पूर्णरुपमा सञ्चालनका लागि बस अझै तयार भइसकेको छैन ।

स्वचालित बसमा सवार एक विद्यार्थीले भने, ‘यसमा यात्रा गर्दा म निकै उत्साही भएँ । रात्रीकालीन समयमा स्वचालित बस चलाउने हो भने ड्राइभरहरुलाई पनि निकै सहज हुने थियो’, उनले भने ।

यस्तै एक महिलाले भनिन्, ‘यो बस चाकलविनै चल्नसक्छ भन्ने कुरा मलाइ थाहा थिएन । नयाँ अनुभव भयो ।’

नेदरल्याण्डसबाट आएका एक पर्यटकले भने आफू केही डराएको उल्लेख गरे । ‘म केही डराएको थिएँ तर ड्राइभरले मलाइ धेरै डाढस दिए’, उनले भने ।

अमेरिकामा रहेको सोसाइटी अफ अटोमोटिभ इन्जिनियर्सले स्वचालित सवारीसाधनलाई एकबाट सुरु गरेर तहतहमा वर्गीकृत गर्छ । तह पाँचको सवारीसाधनमा कुनै खतरा नहुने उनीहरुको दाबी छ । तह पाँचको सवारीसाधन भने हालसम्म कहीँ छैन ।

सोलमा परीक्षण गरिएको रात्रीबस तह ३ मा वर्गीकृत गरिएको छ । अर्थात यसलाई केही मानवीय सहायता आवश्यक हुनसक्छ । स्वचालित प्रणालीका अत्याधुनिक सवारीसाधन हुनेमा चीन र अमेरिका छन् । उनीहरुका सवारीसाधान तह ४ मा पर्छन् । उनीहरुका लागि छुट्टै रूटको व्यवस्था गरिएको छ।

स्वचालित ड्राइभिङ प्रविधि कति अघिसम्म बढ्नसक्छ भन्ने बहसकै विषय रहेको छ । सडक संरचना र पूर्वाधारमा सुधार विना यस प्रविधिमा आधारित सवारीसाधन सञ्चालन गरिएकामा धेरै विज्ञहरुले आशंका गरेका छन्।

मोनास विश्वविद्यालय मेलवर्नका प्राध्यापक ग्राहम क्युरी भन्छन्, ‘स्वचालित सवारीसाधन अबको भविष्य हो भन्नु ‘साइन्स फिक्सन’ हो । यो कुरा बकवास हो । सडकमा कुकुर घुम्छन् । बालबच्चा पुग्लान, कतिपय अवस्थामा मौसमको कुरा आउँछ भने अन्य सवारीसाधनले खडा गर्ने चुनौती पनि छन् । सबै कुरालाई प्रविधिले कसरी समेट्ला त यो निकै चुनौतीपूर्ण छ ।’

सार्वजनिक सवारीसाधन चलाउने चालकको तलब बढ्दै गएपछि सरकारले यस्ता स्वचालित प्रणालीको कुरा गर्न थालेको क्युरी बताउँछन् ।

सोलमा १८ हजार बस ड्राइभर संगठित युनियनका अनुसार सरकारले उनीहरुसँग सम्झौता गर्दा भविष्यमा स्वचालित बस कुद्न सक्नेबारे कुनै उल्लेख छैन । सोल नगर बस युनियनका अध्यक्ष यो झोऊले भनेका छन्, ‘स्वचालित प्रणालीले मानव संशाधनलाई असर पुर्‍याउनु हुँदैन ।

अहिले तत्कालका लागि पूर्णरुपमा स्वचालित बस सञ्चालन सम्भव पनि छैन र यो निकै जोखिमपूर्ण पनि छ । यदि स्वचालित प्रणालीबाट बस सञ्चालन गर्ने हो भने पनि चालक र मिस्त्रीहरुको उचित व्यवस्थापन गरेर मात्रै अघि बढ्नुपर्छ ।’

सन् २०२७ भित्र स्वाचालित सार्वजनिक यातायात सञ्चालनका निम्ति दक्षिण कोरियाली सरकारले १ अर्ब डलर लगानी घोषणा गरिसकेको छ । उक्त रकम प्रविधि र पूर्वाधारमा खर्च गरिनेछ । यता चीनले पनि स्वचालित सार्वजनिक यातायातको संख्या बढाउन काम गरिरहेको छ ।

गत सातामात्रै राइड सेयरिङ कम्पनी डीडीले जीएसी आयोजनासँग तह चार मापदण्डको ट्याक्सी ठूलै संख्यामा बनाउनका लागि सम्झौता गरेको छ ।

ए ट्वान्टी वानका ६० वर्षीय ड्राइभरलाई यस प्रणालीरे जिज्ञासा राख्दा उनले रात्रीकालीन समयका लागि दक्षिण कोरियामा यो प्रविधि निकै उपयोगी रहेको बताए ।

‘मलाई त यो प्रविधि सहयोगी नै लाग्यो । रात्री बस चलाउन निकै कम मानिस इच्छुक छन् । स्वचालित रात्री बस सञ्चालनमा कसैले आपत्ति जनाउला जस्तो लाग्दैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?