
News Summary
Generated by OK AI. Editorially reviewed.- उदयपुरका कमल चौधरी दक्षिण कोरियामा कोमामा छन् र उपचार खर्च १६ लाख रुपैयाँभन्दा बढी भइसकेको छ।
- दक्षिण कोरियास्थित नेपाली राजदूतावासले कमलको उपचारमा आर्थिक सहयोग जुटाउने काम गरिरहेको छ।
- कोरियामा रहेका नेपालीहरूले \'कमल चौधरी बचाउ अभियान\' सुरु गरी आर्थिक सहयोगको अपील गरेका छन्।
३० साउन, काठमाडौं । उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरी सुन्दर भविष्यको सपना बोकेर दक्षिण कोरिया पुगेको एक वर्ष मात्रै भएको थियो ।
तर, उनी विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित एक अस्पतालमा कोमामा छन् । एकाएक ढलेपछि अस्पताल पुर्याइएका उनको होस् अझै खुलेको छैन ।
यता, उपचारमा लागेको खर्च १६ लाख नेपाली रुपैयाँ नाघिसकेको छ, तर त्यो रकम तिर्न सक्ने अवस्था चौधरीको परिवारसँग छैन ।
कमलकी श्रीमती मनिषा कुमारी चौधरी भावुक हुँदै भन्छिन्, ‘कोरियाको अस्पतालले १६ लाख रुपैयाँ बराबरको बिल पठाएको छ । तर हामीसँग तिर्नसक्ने त्यति पैसा छैन, न त हामीसँग जमिन छ न त गरगहना। यति धेरै रकम कहाँबाट ल्याएर तिर्ने ?’
कसरी भयो घटना ? परिवार नै अनभिज्ञ
कमल चौधरी कसरी र के कारणले अचेत भए भन्नेबारे उनको परिवार अझै अनभिज्ञ छ । घटना भएको तीन दिनपछि मात्रै खबर पाएका परिवारका सदस्यलाई उनलाई के भएको हो भन्ने यकिन जानकारी छैन ।
कमलकी श्रीमती मनिषा कुमारी चौधरी भन्छिन्, ‘उहाँ लडेको भनेर भन्दै हुनुहुन्थ्यो, तर कसरी लड्नुभयो भन्ने थाहा छैन । काम गर्ने क्रममा हो कि, कोठामा लड्नुभएको हो कि, अथवा कसैसँग झगडा भयो कि, हामीलाई केही थाहा छैन ।’
घटना हुनुभन्दा करिब एक महिनाअघि कमलले कम्पनीको काम छोडिसकेका थिए । उनी अर्को कामको खोजीमा छँदा कुनै सेल्टरमा बसिरहेको बेला यो घटना भएको हो ।
‘कम्पनी छोडेको पनि हामीलाई पछि मात्रै थाहा भयो,’ मनिषाले भनिन्, ‘उहाँको अवस्थाबारे सोध्दा हातखुट्टा अलिअलि चलाउनुहुन्छ, आँखा झिमझिम गर्नुहुन्छ भन्नेबाहेक अरू जानकारी हामीसम्म आइपुग्दैन ।’
बढ्दो उपचार खर्च र परिवारको बिचल्ली
अस्पतालले उपचार खर्चबापत १६ लाख रुपैयाँभन्दा बढीको बिल पठाइसकेको छ र रकम तिर्न निरन्तर ताकेता गरिरहेको छ । तर, आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले चौधरी परिवारसँग त्यो रकम तिर्ने उपाय छैन ।
‘हामीसँग पैसा छैन, कहाँबाट ल्याएर तिर्ने त्यति पैसा ?’, मनिषा भन्छिन्, ‘घरमा जग्गाजमिन केही छैन, एउटा घर मात्रै हो । उता अस्पतालले बिल पठाईपठाई टर्चर दिएको छ ।’
दूतावासको पहल र हालको अवस्था
दक्षिण कोरियास्थित नेपाली राजदूतावासले घटनाबारे जानकारी पाउनासाथ कमलको परिवारसँग सम्पर्क गरेको थियो । दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रम काउन्सिलर मैया कँडेलले उपचार जारी रहेको बताइन् ।
अहिलेसम्म अचेत अवस्थामै रहेको र घर परिवार तथा विभिन्न संघ संस्थाबाट आर्थिक सहयोग जुटाउने काम भइरहेको बताइन् ।
कमलले कम्पनी छोडेर सेल्टरमा बसिरहेको बेला अत्यधिक रक्सी सेवनका कारण ढलेको हुनसक्ने प्रारम्भिक जानकारी आएको थियो । उनलाई प्रहरी र एम्बुलेन्सले अस्पताल पुर्याएका थिए ।
‘उनको टाउकोमा रगत जमेको थियो । हामीले जानकारी पाउनेबित्तिकै परिवार र आफन्तको खोजी गर्यौं,’ कँडेलले भनिन्, ‘तत्काल उनको उपचार आवश्यक थियो ।’
कम्पनीमा नभएका कारण स्वास्थ्य बीमा नभएकाले उपचार खर्च महँगो भएको हो । तर, पछि दूतावास र कोरियामा रहेका आफन्तको पहलमा कमलको स्वास्थ्य बीमा गरिएको छ ।
अब उनको उपचार खर्चको ७० प्रतिशत बीमाले व्यहोर्नेछ भने बाँकी ३० प्रतिशत परिवारले तिर्नुपर्नेछ । तर, कोरियाको महँगो उपचारअनुसार ३० प्रतिशत रकम पनि दैनिक लाखौं हुने उनको भनाइ छ ।
उनको टाउकोको ‘मेजर अप्रेसन’ गर्नुपर्ने छ, तर त्यसका लागि पनि ठूलो रकम आवश्यक छ । स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई तत्काल नेपाल ल्याउन पनि सम्भव छैन । ‘नेपाल पठाउन बिरामी ‘फिट टु फ्लाई’ हुनुपर्छ, तर उहाँको अवस्था त्यस्तो छैन,’ कँडेलले भनिन् ।
‘कमल चौधरी बचाउ अभियान’ सुरु, सहयोग जुटाउन परिवार अपील
कमलको जीवन रक्षाका लागि कोरियामा रहेका नेपालीहरूले ‘कमल चौधरी बचाउ अभियान’ सुरु गरेका छन् । थारू कल्याणकारिणी सभा र उदयपुर सेवा समाज, दक्षिण कोरियाले संयुक्त रूपमा आर्थिक सङ्कलन अभियान चलाएका छन् ।
अभियानले एक सूचना जारी गर्दै भनेको छ, ‘कृषि भिसामा दक्षिण कोरियामा कार्यरत कमल चौधरीको पक्षघात भई सिकिस्त अवस्थामा उपचाररत रहेको र पारिवारिक अवस्था पनि नाजुक रहेकाले उपचार खर्चमा कठिनाइ आइपरेको छ । उहाँको जीवन रक्षाका लागि सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपील गर्दछौं ।’
एक युवाको जीवन र एउटा परिवारको भविष्य अहिले सहयोगको पर्खाइमा छ । सपनाको देशमा जिन्दगीसँग लडिरहेका कमललाई बचाउन सबैको सानो सहयोगले ठूलो अर्थ राख्नेछ ।
यस्तै कमलको परिवारले पनि उपचारमा सहयोग जुटाउन अपील गरेको छ। कमलको श्रीमती मनिषाको एनआईसी एसिया बैंकमा रहेको खाता नम्बर ००६६८५८८६९२३०१ सहयोग गर्न अपील गरिएको छ ।
प्रतिक्रिया 4