+
+
फिल्म निर्देशक रामबाबु गुरुङसँग संवाद :

‘समाजमा माइला प्रवृत्ति धेरै छ, जेठा र कान्छा भएर बस्न सकेका छैनन्’

एउटा फिल्मले देशमा कायापलट गरिन्छ, मुहार चेन्ज गरिदिन्छ भन्ने चाहिं लाग्दैन । स्थिति यो छ, हामी कुन बाटोमा छौं ? हामी के गरेका छौं भन्ने कुरामा सर्वसाधारणमाझ सचेतना फैलाउने त हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १४:५५

काठमाडौं । रामबाबु गुरुङलाई यतिबेला भाग्य र इतिहास दुवैले साथ दिएजस्तो देखिन्छ । एकपछि अर्को ‘ब्लकबस्टर’ फिल्म पस्किएका गुरुङमाथि कीर्तिमानका धेरै मानक झुण्डिएका छन् । ‘कबड्डी ४’ अहिलेसम्मकै धेरै कमाउने घरेलु फिल्म हो । ‘जारी’ यस वर्षकै सर्वाधिक ग्रसर फिल्म । समुदायको कथालाई मेनस्ट्रिममा ल्याउने प्रयत्न होस् या नेपाली समाजका चरित्रमा प्राण भर्ने काम, यसमा उनको योगदान उल्लेखनीय छ ।

निर्देशन मात्र होइन, देश तथा विदेशमा फिल्म निर्माण, वितरण र बजार विस्तारको ‘इको–सिस्टम’ सिर्जना गर्न समेत उनको योगदान महत्वपूर्ण छ । बाँसुरी फिल्मलाई घरेलु फिल्मको सिनेम्याटिक ब्राण्ड बनाएका गुरुङ सोसल–कमेडी ड्रामा ‘डिग्री माइला : एमए थर्ड क्लास’ लिएर शुक्रबार दर्शकमाझ आउँदैछन् । यिनै आयाममा केन्द्रित रहेर निर्देशक गुरुङसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

कबड्डी’को २४ करोड, ‘जारी’को १७ करोड, अब ‘डिग्री माइला’को कति ?

गणितमा म कमजोर मान्छे हुँ । ‘जारी’ र ‘कबड्डी ४’ को बिजनेस रेकर्ड हेर्दा राम्रै हो । दर्शकको साथले हामीले यो उपलब्धि पाउन सक्यौं । ‘डिग्री माइला’मा पनि त्यो अपेक्षा छ । फिल्मलाई कसरी मनोरञ्जनक तुल्याउने, फरक परिवेश र पात्रमार्फत के कथा भन्ने ? दर्शकले किन रुचाउँछन् भन्ने आशाका साथ सिनेमा निर्माण भएको छ । यो व्यावसायिक फिल्म हो, व्यवसायको अपेक्षा निश्चित रुपमा हुन्छ ।

मलाई यसले जारी, कबड्डी, छक्कापञ्जाले जस्तै व्यवसाय गर्नुपर्छ भन्दा पनि यसको आफ्नै अस्तित्व छ । ठाउँ पनि बनाउला । मुख्यतः दर्शकको प्रतिक्रिया हो । ‘डिग्री माइला’मा दर्शकले के नयाँ हेर्न पाए ? के राम्रो हेर्न पाए ? हाम्रो टिमले गरेको काममा कस्तो सुधार आयो भन्ने कुरा महत्वपूर्ण छ, व्यवसाय भन्दा । दर्शकले सकारात्मक प्रतिक्रिया र इन्जोय गरेको खण्डमा निश्चित रुपमा त्यो तहको व्यापार गर्छ जस्तो लाग्छ मलाई ।

एकपछि अर्को हिट फिल्म दिइरहँदा पैसा कमाउनुपर्छ भन्ने दबाब कत्तिको महसुस हुने रहेछ ?

पैसा चीजै त्यस्तो हो । यसको लोभ हराउँदैन । जति राम्रो भयो, जति धेरै व्यवसाय भयो, उति धेरै कमाउँ भन्ने लाग्छ । एउटा सर्जकका लागि उसको आम्दानी उसले गरेको कर्म हो । किनभने मैले गरेको कामलाई जहिलेसम्म दर्शकले रुचाइरहन्छन्, मन पराउँछन्, त्यो मेरो मुख्य आम्दानी, कमाइ हो ।

डिग्री माइला’बाट व्यवसायिक र समीक्षात्मक कोणमा तपाईंको अपेक्षा कस्तो छ ?

हामीले यसको कथा, पात्र संरचना, प्रोडक्सन डिजाइनदेखि लिएर सारा कुरामा संलग्न भएर जसरी पोस्ट–प्रोडक्सनमा काम गरिरहेका छौं, यसलाई हेर्दा म आशावादी छु । समीक्षा र व्यावसायिक हिसाबबाट यो फिल्मले पहिलेको तुलनामा व्यवसाय गर्छ । सन्तोषजनक काम भएको छ । रिलिज भएपछि दर्शकको प्रतिक्रिया नै मुख्य भएको कारणले व्यावसायिक रुपमा अहिले नै भन्न सकिंदैन । तर समीक्षात्मक रुपमा मैले अघिल्ला फिल्ममा गरेको काममा ठीकै लाग्या छ ।

तपाईंलाई बक्स अफिस अंक वा कलात्मक पक्ष, कुन बढी महत्वपूर्ण लाग्छ ?

जनरा, आफूले उठाएको कथा, पात्र र परिवेश बढी ल्याउन खोज्या छौं । कुन मासलाई बढी लक्षित गरेको छ भन्ने कुरामा निर्भर हुने कुरा भयो । एकदमै कलात्मक पक्षबाट सोचेर नयाँ प्रयोग गर्छु, नयाँ चीज देखाउँछु, नयाँ ढंगमा कथा भन्छु भन्नेमा भन्दा पनि कथालाई सरल र मनोरञ्जनात्मक तरिकाले कसरी भन्न सकिन्छ र दर्शकलाई इन्गेज गराउन सकिन्छ भन्ने शैलीमा काम गरेका छौं । यसमा धेरै चर्चा र सकारात्मक समीक्षाको त्यति ठूलो आशा पनि छैन । मुख्य कुरा व्यवसाय लक्षित भएको कारणले व्यवसाय कस्तो गर्छ भन्ने कुरामै केन्द्रित भएर यो फिल्म अघि जान्छ ।

चलेको नाटकलाई फिल्ममा रुपान्तरण गर्नु पछाडि कुनै कारण थियो ?

नाटक र फिल्मका दर्शक फरक हुन्छन् । प्राविधिक, कथा भन्ने शैली, प्लाटफर्मका पक्ष भिन्न हुन्छन् । पात्र परिवेश चाहिं नाटक र फिल्मको एउटै हो । उठाउन खोजेको मुद्दा र भन्न खोजेको विषय पनि उस्तै हो । फिल्म र नाटकमा पटकथा लेखन पनि भिन्न हुन्छ । एउटाको चीज अर्कोमा गर्न सकिंदैन । कथा भन्ने शैलीको विधि भिन्न हुन्छ । एउटा विषयमा नाटक पनि बनिसकेको र त्यसले नाट्य दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको, दर्शकको रुचि यसअघि भइसकेको कारणले गर्दा पनि हामी यसमा धेरै उत्साहित भएको हो । हिजो नाटकको जे खालको चर्चा भयो, फिल्ममा पनि दर्शकलाई त्यो खालको रुचि जगाउन सक्छ भन्ने लाग्छ ।

डिग्री माइला’ तपाईंका अघिल्ला फिल्मभन्दा कति मच्योर्ड र भिन्न लाग्छ ?

आफूले विगतमा जे काम गर्न सक्या छैन, के काम गर्दा के समस्या हुने रहेछ भनेर अनुभव बटुल्दै र सिक्दै आयो, त्यो चीजमा आगामी काममा कसरी सिक्ने र सच्चिने कुरा सर्जकको रहन्छ । यसरी नै हेर्दा विगतको भन्दा डिग्री माइलामा उत्कृष्ट काम गर्ने भएको, गर्न खोज्या छु, भिन्न गर्‍या छु, नयाँ चीज भन्या छु, प्राविधिक पक्ष, पात्र र दृश्य संरचना हेर्दा फरक र राम्रो गर्‍या छु भन्ने लागेको छ । यसका लागि पनि मुख्यतयाः दर्शकीय प्रतिक्रिया कुर्नुपर्‍यो ।

हलमा दर्शकसँग फिल्म हेर्दा त्यतिखेर मैले के चीज गर्‍या थिएँ, के चीज भएन छ ? अर्थात् कुन चीजमा मलाई हिजो सेटमा चित्त बुझ्या थिएन, त्यो चीज अझै राम्रो भएर आएको पनि हुनसक्छ । म आशावादी छु ।

यो फिल्ममार्फत तपाईंले अहिलेको समय र समाजमा भन्न खोजेको कुरा के हो ?

मुख्य कुरा अहिले हाम्रो समाजमा राजनीतिक अस्थिरताका कारण एउटा खालको फ्रस्टेसन छ । जस्तो बेरोजगारी र विकास निर्माणका कुराहरु । पढेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर लाग्नेहरु पनि निराश भएर विदेशिनुपर्ने, सहरमा केही गर्छु भन्नेहरु गाउँमा गएर खेतीकिसानीमा लाग्नुपर्ने, गरेको व्यवसाय नफस्टाउने । आमजनतामा जुन खालको मनोदशा सिर्जना भएको छ, यसमा हामीले छानेको डिग्री माइला प्रतिनिधिमूलक पात्र हो ।

जुन पात्र यो ठाउँमा म योग्य छु तर मेरो योग्यता र क्षमताअनुसार रोजगारीको अवसर खोइ त ? मलाई सरकारले सम्झिनुपर्‍यो, देशले सम्झिनुपर्‍यो । जसले देश चलाइराख्या छन्, उनीहरुले सम्झिनुपर्‍यो । हामीजस्ता क्षमतावान् युवालाई सही ढंगले परिचालन गर्नुपर्‍यो भन्ने खालको आवाज नै हो । तर त्यो भएको छैन । त्यो नभएको कारण समाजमा यस्ता पात्र छन् जसले आफ्नो योग्यता र क्षमताअनुसार काम पाएका छैनन् । अर्थात् उनीहरु माइला छन् । जेठा र कान्छा भएर बस्न सक्या छैनन् । बीचमा ‘पेन्डुलम’ अर्थात् न उताको, न यताको भएर बसेको छ । त्यो अर्थमा हामीले डिग्री गरेर बसेको एक पात्र माइला बनेर बस्या छ भन्ने खालको अर्थमा राखेका हौं । हामीले प्रवृत्तिलाई व्यंग्यात्मक रुपमा शीर्षक सिर्जना गरेका हौं ।

बाँसुरी फिल्म्सले बनाउने फिल्ममा समाज, प्रवृत्ति र पात्रलाई हल्का व्यंग्य गरेको देख्न सक्छौं । नेपाली फिल्मले राजनीति र समाजलाई कति व्यंग्य गर्न सकेजस्तो लाग्छ ?

सिनेमा, साहित्य, संगीत र नाटकबाट भन्नुस्, कलाकारको काम चाहिं सिर्जनात्मक हिसाबले प्रश्न तेर्स्याउने नै हो । एउटा फिल्मले देशमा कायापलट गरिन्छ, मुहार चेन्ज गरिदिन्छ भन्ने चाहिं लाग्दैन । स्थिति यो छ, हामी कुन बाटोमा छौं ? हामी के गरेका छौं भन्ने कुरामा सर्वसाधारणमाझ सचेतना फैलाउने त हो । हामीले सही वा गलत भन्ने भन्दा पनि केवल त्यो बारेमा चर्चा र छलफल गर्ने वातावरण बनाइदिने हो । त्यो चीज चाहिं गर्छ । बढीभन्दा बढी दर्शकमा जान र दर्शकको उपस्थिति गराउनलाई कमेडी शैली प्रभावकारी हुन्छ भन्ने हो ।

दर्शक एक खालको अवसादमा छन्, फेरि उनीहरुलाई नयाँ कलाको नाममा ‘टर्चर’ किन गर्नु भनेर अलि हास्य-व्यंग्यको शैलीमा सरल र सबैले बुझ्ने ढंगले कथा भनिनुपर्छ भन्ने लाग्छ । त्यही कारण म कमेडी जनरामा केन्द्रित भएर काम गरिराख्या छु ।

हामीले अहिले कस्ता कथामा काम गर्नु जरुरी छ ?

मैले अहिले जुन काम गरिराख्या छु, म आफैंले देखेका र भोगेका देशभित्रकै पात्र र घटनासँग जोडिएर काम गरेको छु । यो सिर्जनात्मक बाटो हो । भन्नका लागि त धेरै कथा छन् । जस्तो कथा, जस्तो विषय जसरी पनि भन्न सकिन्छ । जरुरी कुरा चाहिं सर्जकको आफ्नो विचारमा उसले त्यहाँभित्र पनि कस्तो पहिचान खोज्दैछ भन्ने कुरामा निर्भर हुन्छ । यो सर्जकको आफ्नो निर्णयको कुरा हो ।

डिग्री माइला’लाई नेपालसहित अन्तर्राष्ट्रिय रिलिज कसरी गर्ने भन्ने तयारी छ ?

व्यावसायिक शैलीबाटै हामीले फिल्म निर्माण गरेका छौं । लेखक, निर्देशक, निर्माता, लगानीकर्ता आफैं भएर काम गर्दा एउटा व्यावसायिक दबाब रहन्छ । तर हाम्रो पहिलो प्राथमिकता लगानी कसरी सुरक्षित गर्ने भन्ने हो । कमाउने आशा त जति पनि हुन्छ नि । यसअघि पनि हामीले यो फिल्ममा यति लगानी गर्दा योसम्मको दर्शक पाएका थियौं ।

अबको यो फिल्मले यो भन्दा बढी दर्शक बढाउन र सफल बनाउन के गर्नुपर्छ भन्ने व्यावसायिक दबाब छ । नियमित फिल्म निर्माण गरेको कारणले हिजो सेटअप भएको नेटवर्क हुन्छ । त्यही बजार र वितरक पाइराख्या हुन्छौं । तर दर्शक बढाउने कि घटाउने भन्ने कुरा हामीले गर्ने कर्ममा निर्भर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?