+
+

‘हिनामिना गर्ने उम्किए, म जेलमा छु’

‘मैले २० लाख रुपैयाँ ऋण लिएको हुँ । बैंकभित्रको बदमासीले २ करोड रुपैयाँ हिनामिना गरेको फन्दामा परेको छु । बिगो र जरिवाना गरेर ३ करोड तिर्न सक्ने अवस्थामा म छैन । अझै ८ वर्ष जेल बस्नुपर्ने भयो ।’

मनोज केसी, दाङ मनोज केसी, दाङ
२०८० पुष ४ गते २०:२९

करिब ६/७ वर्षअघिको कुरा हो, म जापान जाने भनेर भिसा लगाइसकेको थिएँ । हैन उता जानुभन्दा यतै प्रयास गरौं न भनेर घरपरिवारबाट जोडबल भयो । हामी कृषि पेशामा संलग्न हुन थाल्यौं । जापानको भिसा माया मारेर कुखुरा फार्म थाल्यौं ।

बुबाले विदेशबाट ल्याएको पैसा, गाउँका सहकारीहरूबाट ऋण लिएर मैले फार्म चलाउन थालें । करिब एक हजार कुखुरा भएको फार्म थियो, मलाई ऋणले पनि धेरै च्याप्न थाल्यो । यताको ऋण लिएर उता मिलाउनुपर्ने अवस्था आएपछि मैले मासिक ३ प्रतिशतका दरले समेत ऋण लिएर चलाएको छु ।

यसरी सकिने रहेनछ भन्ने भएपछि मैले कृषि विकास बैंकमा गएर कृषि ऋणका लागि प्रयास थालें । मलाई कृषि विकास बैंक, दाङ -नारायणपुर शाखा) ले कृषि लोन दिन अस्वीकार गर्‍यो । ३५ कट्ठा जग्गा राख्दा जम्मा ७ लाख रुपैयाँ ऋण पाइने भयो । मलाई जसरी पनि १५ लाख रुपैयाँ जुटाउनुपर्ने थियो ।

त्यसपछि म ऋणका लागि निजी बैंकहरू धाउन थालें । त्यसक्रममा वेस्टर्न डेभलपमेन्ट बैंकमा गएँ । वेस्टर्न डेभलपमेन्ट बैंकबाट २० लाख रुपैयाँ पाउने कुरा भयो, तत्काल स्वीकृत पनि गरिदिनुभयो । त्यतिबेलासम्म उक्त बैंकको शाखा प्रबन्धक -म्यानेजर) सँग चिनजान पनि थिएन । जुन दिन लोन स्वीकृत भएर मेरो खातामा पैसा आयो, त्यही दिन मैले १५ लाख रुपैयाँ खाताबाट निकालें ।

उहाँले मलाई बोलाउनुभयो । ‘मलाई ५ लाख रुपैयाँ चाहिएको छ, अहिलेलाई दिनु । २/४ दिनमा फिर्ता गर्छु’ भन्नुभयो । घरमा छलफल पनि गरें । बैंकको हाकिम जस्तो मान्छे, सहजै पत्याएर ऋण दिएको छ, के नै फरक पर्ला र ? भनेर मैले ५ लाख रुपैयाँ निकालेर दिएँ ।

करिब एक सातापछि उहाँले मेरो खातामा ५ लाख रुपैयाँ हालिदिनुभयो । ४/५ दिनपछि फेरि पैसा माग्नुभयो, मैले निकालेर दिएँ । अनि उहाँले पनि खातामा हालिदिनुभयो । आफू सबैतिर भौंतारिंदा र बढी ब्याज तिर्छु भन्दा पनि ऋण नपाएको अवस्थामा उहाँले ऋण मिलाइदिनुभएको थियो । कसरी पो विश्वास नगर्नु र ? त्यसपछि उहाँले पटक-पटक सापट माग्ने, मैले दिने, अनि केही दिन वा सातामा खातामा राखिदिने सिलसिला चलिरहृयो ।

त्यसपछि उहाँ र मेरो आउजाउ बढ्न थाल्यो । मलाई भाइ भन्नुहुन्थ्यो, मैले दाइ भन्थें । विश्वास बढ्दै गएको थियो । बैंकको म्यानेजर जत्तिको मानिसले विश्वास गरेको छ, आफूलाई माया गरेको छ भनेर मलाई पनि खुसी लाग्थ्यो ।

उहाँको मनमा खोट रहेछ । उहाँले बदमासी गरेर मेरो खातामा पैसा हालिदिने गर्नुहुँदोरहेछ । मलाई फसाउनका लागि उहाँले यो खेल थाल्नुभएको रहेछ भन्ने थाहै भएन । साँच्चै, मलाई त्यतिबेला थाहै थिएन । सोझो मात्रै सोचियो ।

करिब एक/डेढ वर्षपछि हामीले कुखुरा फार्म विस्तार गर्ने योजना बनायौं । त्यसका लागि करिब २० लाख रुपैयाँ लोन थप्नुपर्ला भन्ने भयो । उहाँले सहजै थप २० लाख रुपैयाँ ऋण दिनुभयो । ५ हजार कुखुरा थपेर फार्म विस्तार गरेको थिएँ । विस्तारै गाई फार्म पनि चलाउने योजना बनाउँदै थिएँ, दाना पिस्ने मिल पनि राख्ने कुरा हुँदैथियो ।

उहाँले ‘कारोबार गर्न थालेको छु, तिम्रो खातामा पैसा हालिदिन्छु, निकालेर ल्याइदेऊ है’ भन्न थाल्नुभयो । मैले तुरुन्तै निकालेर उहाँलाई दिन्थें । भित्र बैंकको पैसा हो, प्रक्रिया नमिलाई मलाई दिएका छन् भन्ने थाहै थिएन । हाम्रो सम्बन्ध यथावत् नै थियो ।

त्यही बीचमा उहाँले रकम हिनामिना गरेको कुरा बैंकभित्र गाईंगुईं चलेछ । माथिल्लो तहमा थाहा भएपछि छानबिन हुन थाल्यो । उहाँ मलाई भेट्न आउनुभयो । ‘मलाई बैंकभित्र पैसा हिनामिनाको काण्ड लाग्यो । तर मसँग पैसा भएकाले तिर्न समस्या छैन । मलाई फसाउने बैंकका सीईओ खिमबहादुर डिसी र बैंकका सञ्चालक सदस्य खड्ग बुढाथोकी हुन् भन्नुभयो । उनीहरूले पैसा तिरिहाल्छन्, म जेल परेपनि छुटिहाल्छु’ भन्नुभयो ।

त्यतिबेला मैले ऋण लिएको बैंक वेस्टर्न डेभलपमेन्ट बैंक मात्रै थियो, देव विकास बैंकसँग मर्ज भइसकेको थिएन । एकाएक राष्ट्र बैंकका मानिसहरू आए । उनीहरूले मलाई पनि बोलाए । ‘तपाईंको खातामा २ करोड ९ लाख रुपैयाँ आएको देखिएको छ, कुरा के हो ?’ भनेर केरकार गर्न थाले । मैले यथार्थ बताइदिएँ ।

पछि के के भयो, थाहा भएन । प्रहरीले बोलाएन र सोधेन पनि । अदालतले ३५ दिनभित्र उपस्थित हुनु भनेर म्याद काटेपछि बल्ल हामीले आफूहरूमाथि समेत मुद्दा चलेको थाहा पायौं । अदालतमा मुद्दा चलेपछि बल्ल मेरो पनि खाता प्रयोग भएको रहेछ भन्ने थाहा पाएँ । समयमा अदालत नगए जग्गा लिलामी गर्छ भन्ने हल्ला भयो ।

म कुनै पनि हालतमा बैंकको पैसा दुरुपयोग गर्ने, हिनामिना गर्ने काममा जोडिएको थिइनँ । त्यस्तो अपराधमा लागेको थिएँ भने १० तिरबाट अनेक प्रयास गरेर मिडियाको सम्पर्कमा आउने हिम्मत गर्थें होला र ? अपराध गरेको भए यसरी भक्कानिन मन लाग्छ होला र ?

अदालतमा गएपछि थाहा भयो, त्यो घटनामा मलाई पनि २ करोड ९ लाख रुपैयाँ हिनामिना गरेको कुरा उठाएको रहेछ । उच्च अदालत तुलसीपुरले २ करोड ९ लाख बिगो र थप १ करोड ४ लाख जरिवाना तिर्नुपर्छ भन्यो, अनि २ वर्ष कैद सजाय सुनायो ।

७ पुस, २०७६ मा मलाई अदालतले थुनामा पठाएको हो । मेरो कैद पूरा भइसकेको छ । तर १ करोड ४ लाख रुपैयाँ जरिवाना तिर्न नसक्दा म थुनामा नै छु । मसँग एक रुपैयाँ पनि छैन, त्यत्रो पैसा कहाँबाट तिर्नु ? जग्गा बेचेर जरिवाना तिरेर निस्कन्छु भन्ने त सोचेको हुँ, तर रोक्का भएको जग्गा बेच्न नमिल्दो रहेछ । साढे २ लाखको बाइक त किन्न नसकेर फाइनान्स गरेर किनेको मान्छेले त्यत्रो पैसा कसरी जुटाउनु ?

यो घटनामा बैंकका सञ्चालक समितिका पदाधिकारीहरू पनि मुछिएका छन् । त्यसमध्ये खड्ग बुढाथोकी उहाँको काका हो । बैंकको सञ्चालक समिति अध्यक्ष रहेका ओमभक्त बुढाथोकी उहाँको आफ्नै ठूलोबुबा हो । सीईओ बाहेक अरू त उच्च अदालत तुलसीपुरबाट निर्दोष ठहरिनुभयो ।

जेलमा मेरो कैदीपुर्जी आएको छ । पहिलेको कानुन अनुसार जति जरिवाना भए पनि ४ वर्ष बसे पुग्ने थियो रे ! अहिले जरिवाना बापत मात्रै १० वर्ष जेल बस्नुपर्छ रे Û त्यसबाहेक कैदबापतको २ वर्ष त छँदैछ । अझै ८ वर्ष कैद बाँकी छ । देशमै बसेर केही गरौंला भनेर जापान नगएको म अहिले ३० वर्षको उमेरमा जेलमा दुःख पाइरहेको छु ।

बुबाआमा, श्रीमती र ७ वर्षको छोरी सहितको सानो परिवार हो मेरो । दाइ छुट्टै भिन्न भएर आफ्नो व्यवहार गरिरहनुभएको छ । ३ वर्षको छोरी छाडेर जेलमा आएको हुँ । जान्ने-बुझ्ने भएपछि छोरीले ‘बाबालाई किन जेलमा राखेको ?’ भनेर रुन थालेकी छ । त्यो सम्झँदा भक्कानिएर रुन मन लाग्छ । आँसु झार्नु बाहेक मसँग के उपाय छ र ? म जेलमा परेपछि कुखुरा फार्म पनि बन्द भयो, घरगृहस्थी चलाउन पनि कठिन भएको छ ।

घरगृहस्थीका लागि गाह्रो भएपछि मेरो श्रीमती छोरी छाडेर विदेश जाने तयारी गरेकी छन् । क्रोएसियाका लागि भिसा लगाउने प्रयास भइरहेको छ । करिब ७/८ लाख रुपैयाँ खर्च गरेमा महिनाको ५०/६० हजार कमाइ हुन्छ भनेका छन् । चिनेको एक जना भाइले मेरो दुःख देखेर ५/६ लाखमा मिलाइदिन्छु भनेका छन् । मामु विदेश जाने सुइँको पाएपछि छोरीले ‘म तपाईंसँग आएर बस्छु’ भन्छे । के जवाफ दिनु ?

मलाई अनाहकमा फसाउने बैंकको म्यानेजर समीर बुढाथोकी पनि मसँगै यही तुलसीपुर कारागारमा छन् । जेल परेका सुरु-सुरुका दिनमा मलाई उसले बाहिरै प्रयास गरेर ‘तिमीलाई जेलबाट निकाल्न सहयोग गर्छु’ भन्थ्यो । आजभोलि बोलचाल पनि हुँदैन ।

यो घटनामा बैंकको म्यानेजरले मात्रै करिब १८ महिनाको अवधिमा १८ करोड रुपैयाँ घोटाला गरेका रहेछन् । बैंकबाट महिनाको एक करोड रुपैयाँका दरले हिनामिना भएको रहेछ । त्यतिबेला घोराहीमा बैंकको केन्द्रीय कार्यालय थियो, नारायणपुरमा शाखा कार्यालय थियो । केन्द्रीय कार्यालय र शाखा कार्यालय बीच ६ किलोमिटर दूरी छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतले प्रत्येक दिन आएर शाखाको म्यानेजरलाई बोलाउने, भेट्ने आदित्यादि काम गर्थे । समीर बुढाथोकीकै नातेदारहरू सञ्चालक समितिमा छन् । यही अवस्थामा उनीहरू यो घटनामा मुछिएका हुन् ।

म कुनै पनि हालतमा बैंकको पैसा दुरुपयोग गर्ने, हिनामिना गर्ने काममा जोडिएको थिइनँ । त्यस्तो अपराधमा लागेको थिएँ भने १० तिरबाट अनेक प्रयास गरेर मिडियाको सम्पर्कमा आउने हिम्मत गर्थें होला र ? अपराध गरेको भए यसरी भक्कानिन मन लाग्छ होला र ?

(तुलसीपुर कारागारमा रहेका केसीसँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?